ताजा अपडेट »

साइबर आक्रमण गरी उत्तर कोरियाले २ अर्ब डलर चोरेको राष्ट्रसङ्घको आरोप

बुधबार, २२ साउन २०७६, ११ : ०५
24 Shares
बुधबार, २२ साउन २०७६
24 Shares

साउन २२,
काठमाण्डौं । एउटा गोप्य राष्ट्रसङ्घीय प्रतिवेदनले उत्तर कोरियाले उच्चस्तरका साइबर आक्रमणहरू गर्दै आफ्ना हातहतियार परियोजनाका लागि झन्डै दुई अर्ब डलर अवैध रूपमा जुटाएको आरोप लगाएको सूत्रहरूले पुष्टि गरेका बीबीसीले जनाएको छ । ।

विज्ञहरूको एउटा समूहले वित्तीय संस्था तथा क्रिप्टोकरेन्सी भनिने डिजिटल मुद्रा सटही गर्नेहरूसँग कम्तीमा ३५ वटा साइबर आक्रमणबारे अनुसन्धान गरिरहेका छन्। ती विज्ञहरूका अनुसार वार्ता सुरु गर्नेका लागि कूटनैतिक प्रयासहरू जारी रहँदारहँदै पनि प्योङ्याङले आफ्नो परमाणु र क्षेप्यास्त्र कार्यक्रमहरू अघि बढाइरहेको छ। उनीहरू भन्छन् उसले अवैध रूपमा पानीजहाजबाट पानीजहाजमा गरिने स्थानान्तरण र नरसंहारका हतियार खरिद गर्दै राष्ट्रसङ्घीय प्रतिबन्धहरूको उल्लङ्घन गरेको छ। यस्तो विवरण सार्वजनिक भइरहेको बेला उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षणको क्रम जारी छ। कोरियाली प्राय:द्वीपमा तनाव जारी छ।

उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले जनाएअनुसार संयुक्त राज्य अमेरिका र दक्षिण कोरियालाई चेनावनी दिने उद्देश्यले नेता किम जङ-अनले पछिल्ला क्षेप्यास्त्र परीक्षणहरू गराएका हुन्। समाचारहरूमा जनाइएअनुसार नेता किमले मङ्गलवार रणनैतिक महत्त्वका क्षेप्यास्त्र परीक्षणको अवलोकन गरेका थिए। त्यो दुई हप्ताको अवधिमा गरिएको चौथो परीक्षण हो। सोलस्थित बीबीसी संवादवाता लरा बिकरका अनुसार उत्तर कोरियाको प्रमुख समाचारपत्रको दुई पेज फैलिएको क्षेप्यास्त्र परीक्षणबारेको आलेखमा किमको मुस्कुराइरहेको तस्बिर छापिएको छ। त्यसमा किमले क्षेप्यास्त्र परीक्षणमार्फत् संयुक्त सैन्य अभ्यासमा जुटेका अमेरिका र दक्षिण कोरियालाई पर्याप्त चेतावनी गएको बताएका छन्।

प्योङ्याङले संयुक्त सैन्य अभ्यासले शान्ति स्थापना प्रयासलाई प्रभावित तुल्याउने बताएको छ। अमेरिकाले उत्तर कोरियालाई लामो दुरीका क्षेप्यास्त्र परीक्षण गर्न क्रम बन्द गर्न आग्रह गरेको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।