ताजा अपडेट »

बाढीपहिरो र डुबानबाट प्रदेश २ मा तीन अर्ब ५९ करोडको क्षति

आइतबार, १९ साउन २०७६, १७ : ५२
14 Shares
आइतबार, १९ साउन २०७६
14 Shares

साउन १९,

काठमाण्डौं । अत्यधिक वर्षाका कारण गत महिना आएको बाढीपहिरो र डुबानमा परी सबैभन्दा बढी प्रदेश नं. २ मा करीब  तीन अर्ब ५९ करोडको क्षति भएको कृषि तथा पशुपक्षी मन्त्रालयले जनाएको छ ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आज बसेको बैठकमा कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणी खनालले सो विवरण प्रस्तुत गरेका हुन् । उनले प्रदेश २ का ८ जिल्लामा कृषितर्फ रु १ अर्ब ९७ करोड तथा पशुपक्षीतर्फ  १ अर्ब ६२ करोडको क्षति भएको जानकारी दिए ।

असार २६ गते र त्यसपछिको लगातार वर्षाका कारण मुलुकका कृषि तथा पशुपक्षीका क्षति विवरणको सत्य तथ्य विवरण समिति समक्ष पेश गर्न मन्त्रालयलाई निर्देशन भएपछि मन्त्री खनालले त्यसपछिको बढी क्षति प्रदेश नं १ मा भएको जानकारी दिए । उनले प्रदेश नं. १ का जिल्लामा  ८१ करोड ५४ लाख ७२ हजार मूल्यका कुखुरा तथा चौपाया र बाली नष्ट भएको जानकारी दिए ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयको साउन १३ गतेसम्म सङ्कलन भएको तथ्याङ्क विवरणमा प्रदेश नं. १ मा दुई हजार ४४६ घरधुरी प्रभावित भएका छन् । मन्त्री खनालले बैठकमा प्रदेश नं. ३, गण्डकी प्रदेश, प्रदेश नं. ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबाट भने वर्षाका कारण पुगेको क्षतिका विवरण हालसम्म आइनसकेको जानकारी गराए । -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।