ताजा अपडेट »

निस्कासनमा परेपछि २ सय मज्दुर अलपत्र, उपदान दिनुपर्ने माग

सोमबार, १३ साउन २०७६, १५ : ४९
8 Shares

साउन १३,
वीरगन्ज । वीरगन्ज २४ रामगढवामा रहेको एसियन डिष्टिलरी उद्योगले कर्मचारी र मजदुरको संख्यामा कटौती गरेपछि करिब २ सय मजदुर र कर्मचारी दुई सातादेखि अलपत्र परेका छन्। 

मदिराको बिक्री कम भएर उद्योग घाटामा गएकाले मजदुरको आर्थिक भार थेग्न नसक्ने अवस्था सृजना भएको भन्दै उद्योग व्यवस्थापनले २ सय ४७ मध्ये ६ जना कर्मचारी र एक सय ९७ जना मजदुर गरी २ सय ३ जनालाई उद्योगबाट हटाएको हो। उद्योग व्यवस्थापनले कर्मचारी कटौतीको सूचना सार्वजनिक गरेको भोलि पल्ट असार ३१ गते देखि नै निस्कासनमा परेका मजदुर र कर्मचारी पुर्नवहाली नभए उपदानको माग गर्दै उद्योगको मुल गेटमै धर्नामा बसेका छन्।

मजदुर कर्मचारी उद्योगको धर्नामा बसेकै दिनदेखि उद्योग पनि बन्द रहेको छ। मजदुर र कर्मचारी धर्नामा बस्नु भन्दा पहिले नै उद्योग व्यवस्थापन आफैले मुल गेटमा ताल्चा लगाएर उत्पादन बन्द गरेको आन्दोलनरत मजदुर मध्येका रामबाबु सिंहले बताए। 'दुई हप्तादेखि निरन्तर गेटमा आएर धर्ना दिइरहेका छौं, असार महिनाको तलब पनि पाएका छैनौं, धर्नामा बसेका मजदुर जीउत राउतले भने, 'घरमा रासनपानी पनि सकिएको छ, बालबच्चा अब भोकै पर्ने अवस्था आइसकेको छ। निस्कानमा परेका अर्का मजदुर नन्दलाल बैठाले भने, 'सात वर्ष यहि काम गरियो, अहिले अचानक उद्योगले हटाइ दियो, अब भनेकै बेला अन्त काम पनि पाइदैन, बालबच्चा कसरी पाल्ने चिन्ताले सताइरहेको छ।'

आन्दोलनरत कर्मचारी र मजदुरले उद्योगबाट हटाइएकालाई जति वर्ष काम गरेका छन् त्यति नै समय बराबरको तलब भत्ता जोडेर उपदान दिनुपर्ने माग गरेका छन्। तर उद्योग व्यवस्थापनले भने उद्योगले श्रमऐन अनुसारको उचित क्षतिपूर्ति र उपदान मात्र दिने अडान राख्दै आएको छ। आन्दोलनको अगुवाइ गरिरहेका मजदुर रामबाबु सिंहले उद्योग घाटामा गएको बाहनामा उद्योग व्यवस्थापनले दुई सय मजदुर र कर्मचारीलाई उद्योगबाट निकालेर अलपत्र पारेको गुनासो गरे। 'वर्षौदेखि काम गर्दै आएका हामीलाई कामबाट निकालियो, अब हामी कहाँ जाने के गर्ने भन्ने बाटो नै देखेका छैनौं, उनले भने, 'हाम्रो पहिलो माग भनेको हामीलाई पुर्नवहाली गर्नुपर्छ, यदि अवकाश नै दिने हो भने उचित उपदान दिएर मात्र विदाइ गर्नुपर्छ।'

उद्योगका महाप्रबन्धक उदयराज विष्टले उद्योगबाट उत्पादित मदिरा बिक्री नभएको र आर्थिक व्ययभार बढ्दै गएपछि उद्योगमा कार्यरत कर्मचारी तथा मजदुरलाई उचित क्षतिपूर्ति दिएर विदा गर्ने निर्णय गरेको बताए। अघिल्लो आर्थिक वर्ष २०७४/०७५  मा जम्मा २ सय  दिन मात्र उद्योग चलेको र गत आर्थिक वर्ष २०७५/०७६  मा दिनमा चार घण्टाको दरले १ सय २८ दिन मात्रै उद्योग संचालन भएकोले वर्षेनी आर्थिक भार बढ्दै जाँदा कर्मचारी र मजदुरको संख्या कटौती गर्नुपरेको उनले बताए।  'मजदुरले श्रम ऐनले तोकेकोभन्दा कयौं गुणा बढी सेवा सुविधा मागेका छन्, जुन उद्योगले दिन सक्ने अवस्था नै छैन ',महाप्रबन्धक विष्टले भने।  साउन ९ गते जिल्ला प्रशासन कार्यालय पर्सामा उद्योग व्यवस्थापन र आन्दोलनरत मजदुरहरु बिच वार्ता भएपनि निष्कर्ष ननिस्किएको मजदुर सिंहले बताए। 

अब फेरि १५ गते जिल्ला प्रशासन कार्यालयमै वार्ताका लागि बोलाइएको छ, उनले भने, ' यदि त्यो दिनको वार्तामा पनि हाम्रो माग पुरा गरिएन भने हामी अझ सशक्त आन्दोलनमा जान्छौं किन कि यो हाम्रो रोजीरोटीको सवाल हो।'-क्रान्ति शाह /अन्नपूर्ण

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।