ताजा अपडेट »

तामाकोशी तेस्रोमा चिनियाँ कम्पनी, लगानी ५० करोड डलर

शुक्रबार, १० साउन २०७६, १७ : २७
6 Shares

साउन १०,
काठमाण्डौं । दुई चिनियाँ कम्पनीले नेपाली कम्पनीसँग मिलेर संयुक्तरूपमा तामाकोशी तेस्रो जलविद्युत् परियोजना निर्माण गर्ने भएका छन्। परियोजनामा करिब ५० करोड अमेरिकी डलर लगानी हुनेछ।

यससम्बन्धी संयुक्त विकास फ्रेमवर्कसम्बन्धी सम्झौतापत्रमा बिहीबार उर्जामन्त्रालयमा उर्जामन्त्री वर्षमान पुन र युनान प्रान्तका भाइस गभर्नर झांग गुहुवाको उपस्थितिमा हस्ताक्षर भएको छ। चीनको वाईईआईजी इन्टरनेशनल, सांघाई इन्भेष्टिगेसन, डिजाइन एण्ड रिसर्च इन्ष्टिच्युट कम्पनी लिमिटेड र नेपालको टीबीआई होल्डिंग्सबीच उक्त सम्झौता आदानप्रदान भएको हो। कार्यक्रममा दक्षिण पश्चिम चीनको युनान प्रान्तीय भाइस गभर्नर, अन्य सरकारी अधिकारी र स्टेकहोल्डर पनि उपस्थित रहेका थिए।

कार्यक्रममा बोल्दै उर्जामन्त्री पुनले संयुक्त उपक्रमलाई सफलताको शुभकामना दिए। मन्त्री पुनले नेपाली परियोजनामा चिनियाँ कम्पनी आउँदा युनान प्रान्तले अहिलेसम्म जलविद्युत् क्षेत्रमा बटुलेको अनुभव पनि आउने बताउँदै यसले दुई देशबीचको ऊर्जा क्षेत्रमा सहकार्यको प्रतीकका रुपमा परियोजनालाई लिएको बताए। कार्यक्रममा भाइस गभर्नर झांगले पनि नेपालसँगको सहकार्यले परिणाममुखी नतिजा दिने बताए। युनान प्रान्तलाई हरित ऊर्जाको मुख्य आधार मानिन्छ भने जलविद्युत्को पनि मुख्य क्षेत्र (हब) मानिन्छ।

उक्त परियोजना २ सय मेगावाटको रहनेछ भने २०२० को सुरुतिरै निर्माण सुरु हुनेछ। यो परियोजना आगामी साढे ३ वर्षभित्र पूरा हुनेछ। कार्यक्रममा टीबीआई ग्रुपका भवन भट्ट पनि सहभागी थिए। उनले परियोजना चीन र नेपाल सम्बन्धको कोशेढुंगा साबित हुने बताए। परियोजना दोलखा र रामेछाप भएर बग्ने तामाकोशी नदीमा बन्नेछ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।