ताजा अपडेट »

आइकाओ सम्मेलन भदौ २ देखि काठमाडौँमा हुँदै

शुक्रबार, १० साउन २०७६, १५ : ३२
8 Shares

साउन १०,
काठमाण्डौं । अर्न्तराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को हवाई महानिर्देशकहरुको सम्मेलन काठमाडौँमा हुने भएको छ । आगामी भदौँ २ देखि ६ गते (१९–२३ अगस्त) मा काठमाडौँमा सम्मेलन गरिने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक राजन पोखरेलले जानकारी दिए ।

सम्मेलनमा एसिया प्रसान्त क्षेत्रका सम्बन्धित देशका हवाई महानिर्देशकहरुले सहभागिता जनाउनेछन् । आइकाओका अध्यक्ष, सुरक्षा अधिकारीलगायतको पनि सम्मेलनमा सहभागिता रहनेछ । यस्तो सम्मेलन हरेक देशले पालैपालो गर्ने गर्छन् । आइकाओमा नेपालसहित १ सय ९३ सदस्य राष्ट्र छन् । एसिया प्रसान्त क्षेत्रका अमेरिका, बेलायत, फ्रान्स, युरोपेली सङ्घ, बोईङ, एयरबस, इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएशन (आयोटा) लगायत अन्तर्रा्ष्ट्रिय सङ्घसंस्थाहरुको सहभागिता रहने महानिर्देशक पोखरेलले जानकारी दिए ।


आइकाओ स्थापनाको ७५औँ हीरक वर्षका अवसरमा नेपालमा तेस्रो पटक सम्मेलन हुन लागेको हो । यसअघि सन् १९७६ मा पहिलो र सन् १९९८ मा दोस्रो पटक सम्मेलन भएको थियो । यसै वर्षको वसन्त ऋतुमा आइकाओको हीरक झण्डा सगरमाथामा फहराइएको थियो । महानिर्देशक पोखरेलका अनुसार सम्मेलनमा एसिया प्रशान्त क्षेत्रको उड्डयनको ‘सेफ्टी’, ‘सेक्युरिटी’, प्राविधिक क्षमता अभिवृद्धि, पूर्वाधार विकासलगायत विषयमा छलफल हुनेछ । आगामी अक्टोबर महिनामा आइकाओ मुख्यालय मन्ट्रियलमा हुने आइकाओ ४०औँ महासभामा अहिलेको सम्मेलनको निष्कर्षलाई प्रस्तुत गरिनेछ । महासभा हरेक तीन वर्षमा हुन्छ । महानिर्देशकको सम्मेलनमा विभिन्न मुलुकले कार्यपत्र प्रस्तुत गर्नेछन् । यो सम्मेलन अघिल्लो वर्ष फिजीमा भएको थियो भने नेपालपछि बङ्गलादेशमा आयोजना हुनेछ । -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।