ताजा अपडेट »

दक्षिण कोरियाको दाबी, उत्तर कोरियाले मिसाइल प्रक्षेपण गर्यो

विहीबार, ०९ साउन २०७६, १२ : २०
10 Shares


साउन ९,
काठमाण्डौं । उत्तर कोरियाले दुई छोटो दूरीका मिसाइलहरु प्रक्षेपण गरेको दक्षिण कोरियाली रक्षा मन्त्रालयले दाबी गरेको छ।

उत्तर कोरियाको पूर्वी क्षेत्रमा रहेको वनसनबाट प्रक्षेपण गरिएको मिसाइलले करिब ४३० किलोमिटर पार गरेको च्यानल न्यूज एसियाले उल्लेख गरेको छ। उक्त मिसाइल इस्ट सीमा गएर खसेको बताइएको छ। उक्त मिसाइलले जापान प्रवेश नगरेको जापानी सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

जुनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच कोरियाली प्रायद्वीपलाई निःशस्त्रीकरण गर्ने बारे रोकिएको वार्ता फेरि सुचारु गर्ने सहमति भएपछि यो पहिलो मिसाइल परीक्षण हो। उक्त प्रक्षेपणका बारेमा अमेरिकाले भने कुनै प्रतिक्रिया जनाइसकेको छैन। फेब्रुअरीमा हनोई वार्ताका क्रममा किमले उत्तर कोरियामाथि लागेका प्रतिबन्धहरु फुकुवा गर्न राखेको प्रस्ताव अमेरिकी राष्ट्रपति ट्रम्पले अस्वीकार गरेका थिए। प्रतिबन्ध हटाउने विषयमा सहमति नभएपछि बिना कुनै सहमति वार्ता टुंगिएको थियो।

गत वर्षको जुन महिनामा सिंगापुरमा भएको पहिलो शिखर वार्ताका क्रममा दुई नेताबीच कोरियाली प्रायद्वीपलाई पूर्ण रुपमा आणविक निःशस्त्रीकरण गर्ने सहमति भएको थियो। यस्तै उत्तर कोरियामाथि लगाइएका प्रतिबन्धहरु फुकुवा गर्नेसमेत सहमति भएको थियो। तर, पछि दुवै राष्ट्रले एकअर्कासँग गरेको सहमति पालना नगरेको आरोप लगाउँदै आएका छन्।-एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।