ताजा अपडेट »

चीनले रोक्यो राइड सेयरिङ एप दिदी

सोमबार, २१ असार २०७८, ११ : ५६
6 Shares

काठमाडौँ । चीनले लोकप्रिय राइड सेयरिङ एप दिदीको नयाँ डाउनलोड रोकेको छ। आइतबार साइबरस्पेस एडमिनिस्ट्रेसन अफ चाइनाले गैरकानुनी तरिकाले प्रयोगकर्ताहरूको डाटा संकलन गरेको भन्दै स्मार्टफोनमा दिदी एप डाउनलोड गर्न रोक्ने निर्णय गरेको हो।

केही दिनअघि मात्रै इनिसियल पब्लिक अफरिङ (आइपिओ) बाट ४.४ अर्ब डलर उठाएर न्युयोर्क स्टक एक्सचेन्जमा सूचीकृत भएको दिदीले अब चिनियाँ डाटा संरक्षण कानुनअनुसार आफ्नो एपमा परिवर्तन गर्नु पर्ने भएको छ। साइबरस्पेस एडमिनिस्ट्रेसन अफ चाइनाले दिदीले प्रयोगकर्ताबाट डाटा कसरी गैरकानुनी तरिकाले संकलन गर्‍यो भन्नेबारे विस्तृतमा खुलाएको छैन।

नियामक निकायको यस्तो निर्णयपछि दिदीले नयाँ प्रयोगकर्ताका लागि रजिष्ट्रेसन रोकिएको र एप स्टोर्सबाट एप हटाइएको जनाएको छ। सन् २०१२ मा चिनियाँ नागरिक विल चेङले बनाएको दिदी एपले पछिल्लो समय दैनिक औसतमा २ करोड मानिसलाई सेवा दिने गरेको थियो। चीनबाहिर अरू १५ मुलुकमा पनि उसको सेवा विस्तार भएको थियो।

यसअघि एप डाउनलोड गरिसकेका चिनियाँहरूले भने अहिले पनि दिदीको सेवा प्रयोग गर्न पाइरहेका छन्। साइबरस्पेस एडमिनिस्ट्रेसन अफ चाइनाले शुक्रबार राष्ट्रिय सुरक्षा र सार्वजनिक हितको रक्षा गर्नका लागि दिदीमाथि अनुसन्धान थालिएको जनाएको थियो। यसअघि चिनियाँ नियामक निकायले अलिबाबाको फाइनटेक कम्पनी आन्टको आइपिओ रोकिदिएको थियो।

एजेन्सी
लेखकको बारेमा
एजेन्सी