ताजा अपडेट »

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

सोमबार, ०६ बैशाख २०७८, १३ : ०८
6 Shares

काठमाण्डौं । सरकारले आज र भोलि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि नि:शुल्क खुवाउनका लागि ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गरेको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तगर्तको पोषण शाखाका प्रमुख केदार पराजुलीले भिटामिन ‘ए’ छ महिनादेखि पाँच वर्ष मुनिका बालबालिका र जुकाको औषधि ‘अल्वेण्डाजोल’ एक वर्षदेखि पाँच वर्ष मुनिका बालबालिकालाई खुवाउन थालिएको जानकारी दिए । उक्त कार्यक्रमअन्तर्गत देशभरिका ५२ हजार केन्द्रबाट पाँच वर्ष मुनिका २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ६० हजार बढी बालबालिकालाई जुकाको औषधि खुवाइँदै छ । ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रममा ५२ हजार स्वास्थ्य स्वयंसेविकामार्फत बालबालिकालाई खुवाउने गरिएको छ । उनले आज खुवाउन बाँकी भएका बालबालिकालाई भोलि खुवाइने जानकारी दिए । उनका अनुसार भिटामिन ‘ए’ छ महिनादेखि एक वर्ष उमेरसमूहका बालबालिकलाई आधा क्याप्सुल (एक लाख युनिट) र एक वर्षदेखि पाँच वर्ष मुनिकालाई एक क्याप्सुल (दुई लाख युनिट) तथा जुकाको औषधि एक वर्षदेखि दुई वर्ष उमेर समूहका लागि आधा ट्याबलेट (२०० मिलिग्राम) र दुई वर्षदेखि पाँच वर्ष मुनिकालाई एक ट्यावलेट (४०० मिलीग्राम) खुवाउने गरिन्छ ।

भिटामिन ‘ए’ खुवाउँदा बाल मृत्युदर ३० प्रतिशतले घटेको अध्ययनले देखाएको उनले जानकारी दिए । भिटामिन ‘ए’ कुषोषण, रतन्धोबाट बचाउनका लागि खुवाउने गरिन्छ । सरकारले २०५३ सालबाट भिटामिट ‘ए’ र २०५८ सालदेखि जुकाको औषधि खुवाइँदै आएको छ । वर्षमा दुई पटक सरकारले भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरेको छ । यस्तै भिटामिन ‘ए’ र जुकाको औषधिसँगै आज बालभिटा वितरणसमेत गर्न थालिएको छ । बालभिटा छ महिनादेखि दुई वर्षमुनिका बालबालिकालाई खुवाइने गरिन्छ । वि.सं २०७२ देखि शुरु गरिएको बालभिटा आठ लाख बालबालिकालाई खुवाउन थालिएको छ । बालभिटा ४६ जिल्लाका बालबालिकालाई दिइने गरिन्छ ।

रासस
लेखकको बारेमा
रासस