ताजा अपडेट »

म्यानमारको निर्वाचन आयोगद्वारा प्रमुख राजनीतिक दलसँग छलफल

आइतबार, १६ फागुन २०७७, १३ : १०
4 Shares

याङ्गुन। म्यानमारको नवगठित संघीय निर्वाचन आयोग (यूईसी) ले यहाँका राजनीतिक दलका प्रतिनिधिहरूलाई शुक्रबार राजधानी न्या पि तमा भेटी पछिल्लो निर्वाचन प्रक्रियाका बारेमा छलफल गरेको यहाँको राज्य सञ्चालित सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

आयोगले यही फेब्रुअरी ५ तारिखदेखि गत वर्षको निर्वाचन परिणामबारे उठाइएका विषयहरूलाई समीक्षा गरिरहेको बताएको छ । आयोगले निर्वाचनबारे उठेका अनियमितताका मुद्दालाई सम्पन्न गरी मतदाताको नयाँ सूची तयार गर्ने र संविधानिक व्यवस्था बमोजिम स्वच्छ तथा स्वतन्त्र नयाँ निर्वाचन गर्ने बताएको छ ।

म्यानमारमा फेब्रुअरी १ मा राष्ट्रपति यू विन मिन्ट र नेतृ आङ साङ सुकीलगायतका नेशनल लिग फर डिमोक्र्यासी (एनएलडी) का दर्जनौँ अन्य अधिकारीलाई सुरक्षा नियन्त्रणमा लिई सेनाले सत्ता हातमा लिएको थियो । सेनाको निकट मानिने जुन्ता पार्टीले अनपेक्षित पराजयपछि निर्वाचनमा एनएलडीले धाँधली गरेको आरोप लगाइएको थियो ।

सन् २०२० को नोभेम्बर ८ मा सम्पन्न निर्वाचनमा सुकीको एनएलडी पार्टीलाई स्पष्ट दुई तिहाई बहुमत आएको र निर्वाचन कानून अनुसार यही फेब्रुअरी २ देखि नयाँ संसद बोलाइएका थियो । नयाँ संसद चालु हुनुभन्दा एक दिन पहिल्यै सेनाले सरकारको नेतृत्व आफ्नो हातमा लिई एनएलडीका नेता कार्यकर्तालाई सुरक्षा नियन्त्रणमा लिई एक वर्षे सङ्कटकालको घोषणा गरेको छ ।

सैनिक सरकारको यो कदमलाई अलोकतान्त्रिक भन्दै विश्व समुदायबाट म्यानमारको सैनिक नेतृत्वको आलोचना हुँदै आएको छ । एनएलडीलगायतका प्रजातन्त्र पक्षधर दलहरूले सरकारको कदमविरूद्ध निरन्तर सडक प्रदर्शन गर्दै आएका छन् ।

रासस
लेखकको बारेमा
रासस