April 20, 2021, Tuesday
७ बैशाख २०७८, मंगलवार

मगर जातिमा विद्यमान समानता, सरलता, प्रजातान्त्रिक मूल्य र संस्कार

966

परिचय
शारीरिक रुपमा झट्ट हेर्दा गहूँ गोरो, लोप्रे आँखा र थेप्चो नाक भएका मंगोल मूलका एक जाति हो मगर । बानी ब्यवहार प्राय झवाट्टै उत्तर दिन नचाहाने, कसैको विषयमा अनावश्यक चासो नराख्ने आफनै प्रवृतिमा रम्न चाहाने स्वभावको हुन्छ मगर । नारदमणि थुलुङका अनुसार दाह्री जुँगा नभएको चिल्लो अनुहार का कारण नारी वा पुरुष छुट्टयाउन नसक्दा आर्यनहरुले संस्कृत भाषामा ‘किनर’(कसरी पुरुष?) भन्न थाले । यसरी, अनुहार चिल्लो गाला सुन्दर मगरको शारीरिक परिचय हो ।

‘मगर’ शब्दको नामाकरण

जनगणना वि.सं २०६८ अनुसार नेपालमा तेस्रो ठूलो जनसंख्या भएको र जनजातीमा सबैभन्दा बढी जनसंख्या भएको जाति हो मगर । मगर जातिको नामाकरण कसरी रहन पुग्यो भन्ने विषयमा विभिन्न विद्धानहरुले छुट्टाछुट्टै तर्क पेश गरेका छन् । इतिहासकार शिखरनाथ शर्माको अनुसार ठकुरी, राणालाई ‘राना’ बनाई तनहूँ र गोरखाका दशैं घरमा पूजा गर्न ‘अधिकारी’ बनाई पठाइयो । त्यति बेला “आज देखि मैले गर्ने काम गर” भनी राजाबाट हुकुम भएको र त्यसैबाट अपभ्रशं हुँदै ‘मगर’ हुन पुग्यो भन्ने भनाई छ । (गोत्र प्रवलावलि, पृ ६२) अर्का मगर जातिका विषयका जानकार शोधकर्ता डा.श्री केशर जङग बरालको शोध पत्र २०३८ अनुसार आज भन्दा २३०० इ.पूर्वमा फिरन्तेको रुपमा एक जाति मग्यार (agyars) भन्ने ठाउँबाट नेपालमा बसोबास गर्न आइपुग्यो ।

पछि गएर ती जातिलाइ ‘मगर’ भन्न थालियो । अर्कोतिर महाभारत कालमा ‘जरासिन्धु’ नामको एउटा राजा उल्लेख भएको पाइन्छ जसलाई मगधपति वा ‘मगरको राजा’ पनि भनिन्थ्यो । उनैका सन्तान मगर जाति हुन् भन्ने गरिन्छ । इतिहासकार डा. हर्ष ब. बुढाका अनुसार ९ औं शताब्दीमा ग्चबकि(युराल) बाटःबनथबचक हंगेरी आए र त्यहाँबाट नेपाल आई बसोबास गर्न थाले । त्यही ‘मग्यार’ पछि अपभ्रंश भइ मगर हुन गयो (किराँत वशं र मगर पृ.४८) । यसैगरि भारतको वंगालमा रहेको नागवंशीयहरु आफूलाई नागपूजाबाट लुकाउन ‘मगर’ शव्द प्रयोग गरे सोही जाती आज मगर हुन पुग्यो (भारत खण्ड और नेपाल पृ.३ ) ।

बालकृष्ण पोखरेलले मगरको नराम्रो बानी व्यवहार ‘मर्कटा’ शब्द प्रयोग गरी सोही अपभ्रशं भई ‘मगर’ भएको बताउछन् । मर्कटा शब्द कम बोल्ने वा बोल्न नचाहने भन्ने जनाउछ । मगर जातिको उत्पति बारे अर्को प्रचलित कथन पाइन्छ । चण्डी पूजा गर्न जादा धेरै भाइहरु मध्ये कान्छोले ‘म गर्छु’ भनेको र त्यहीबाट मगर हुन गयो भन्ने कहावत भेटिन्छ । यसरी आज एक जाति बन्न पुगेको मगरको नामाकरणमा कुनै ठोस प्रमाणिता नभए तापनि बसाई सराईको प्रकृया वा कामको पदबाट ‘मगर’ रहन गयो भन्न सकिन्छ ।

नेपालमा मगर बस्तीको अवस्था
वि.सं २०५३ बैशाखको तत्कालिन श्री ५ को सरकारद्वारा गठित ‘जनजाति उत्थान प्रतिस्थान कार्यदल ’ को प्रतिवेदनमा नेपालको जनजातिमा सबैभन्दा ठूलो जनसंख्या भएको जाति मगर हो भनेर उल्लेख गरिएको छ । (नेपालका जनजातिहरु पृ. ३:२०५९) मगर जाति अन्य जाति जस्तो एकै ठाउँमा धना बस्तीमा बसोबास गरेको पाइदैन । नेपाल बाहेक पनि भारतको देहरादुन, कुमायु गढवाल, पूर्वमा सिक्किम, दार्जिलिङ, भूटान, वर्मामा मगरहरुको धना बस्तीहरु रहेको पाइन्छ । नेपालको जनगणना २०५८ र पछिल्लो जनगणना २०६८ ले नेपालको ७५ जिल्लामै मगर बस्ती रहेको देखाउछ । यसबाट सहजै भन्न सकिन्छ कि नेपालमा मगरहरु आदिम काल देखिनै बसोबास गर्दै आएकाछन् । नत्र यति ठूलो क्षेत्रमा बसोबास गर्न सम्भव छैन ।

मगर नाति भित्र विद्यमान बिभिन्न किसिमका समानता प्रजातान्त्रिक मूल्य र मान्यताहरुको प्रमाण मगरहरु आफू मगर हुनुमा गर्व गर्दछन्, यी जाति सरल सहनशील र बिभिन्न संस्कृतिमा रमाउने जाति हो । मगर जातिमा कुनै मौषमी र कुनै बाह्रमासे गीत संगीतहरु, नृत्य कला प्रस्तुत गर्दै दुःख वेदना भन्ने गर्दछन् । (मगरहरुको संस्कृति २०६८ दोस्रो संस्करण पृ. ८४/८५ ) विभिन्न लेख, रचना, पत्रपत्रिका र पुस्तकहरु अध्ययन गर्दा मगर जाति अर्ध मातृसतात्मक र एक प्रजातान्त्रिक जाति हुन् ।

यी जातिमा लैंङ्गिक समानता, आर्थिक समानता र सांस्कृतिक समानता स्पस्ट भेटिन्छन् । रीतिरिवाज परम्पराको अर्थ हुन्छ, सयौ, हजारौ आदिऔ काल देखि चल्दै आएका थिती । यसैबाट एउटा जाति, सभ्यता कस्तो थियो भनि पत्ता लगाउन सक्दछौ । त्यही आधारमा मगर जाति समानता सहिष्णुता र प्रजातान्त्रिक मान्यतालाई कति आत्मसात गर्दछन् भन्ने निम्न प्रमाणहरु भेटिन्छन् ।

१. बिलो (भाग) लगाउने चलन
मगर जातिहरु कुनै शुभकार्य, अन्नपात भित्र्याउदा, भोज भतेर, मासु शिकार गरेका चिजहरु सबै मिलेर गर्ने गर्दछन् र घरधूरीलाई समान बिलो (भाग) लगाउने गर्दछन् । धनि गरिव सबैलाई समान सहभागिता (सगोल) मा विलो लगाइन्छ र आफनो आफनो भाग स्याहार्ने गरिन्छ । यदि कोहि खरिद गर्न सक्दैन भने मात्र सक्नेले बिलो खप्ट्याउने (थप्ने) काम हुन्छ । त्यति मात्र हुँदैन किन्न नसक्ने घरधुरीलाई सक्नेले बोलाएर खुवाउने वा पकाएर दिने र सबै खुशी हुने चलन छ । यसबाट मगर जाति पूर्ण समानुपातिक र सहिष्णुता धेरै ख्याल राख्दछ भन्ने बुझिन्छ ।

२. नृत्यमा भेषभूषामार्फत लिंग परिवर्तन गर्ने चलन
मगरहरुले आफनो सांस्कृतिक नाचहरुमा खासगरी कृष्ण जन्माअष्टमी वा साउने सकराती (सक्रान्ती) मा केटालाइ मारुनी-केटालाइ केटी बनाउने प्रथा) बनाएर सोही केटीको भागभँगी, हाउभाउ (अहिलेको भाषामा lipsing)गर्ने चलन छ । यसरी पुरुष महिला बनेर नाचिसकेपछि माघ श्रीपँचमीको दिन सम्म उ केटी नै भएको मानिन्छ । अझ विहे सम्म नगर्ने चलन छ । किनकी उ केटीको रुप धारण गरेको हुन्छ र उसको मनमा सरस्वतीको बास हन्छ भन्ने विश्वास गरिन्छ ।

यसरी एउटा पुरुषले महिलाको रुप धारण गर्दा के दुःख, अनुभव र कष्ट हुन्छ भन्ने बुझेको हुन्छ यसबाट सो व्यक्तिलाई लैंगिक समानताको गहिरो अनुभूति हुन्छ । अर्कोतर्फ मगरजातिमा माई पूजा गर्ने चलन छ । नेपालको प्राय प्रसिद्ध देवीहरुमा मगर नै पुजारी हुने गर्दछ । माई (देवी) मगरहरुमा विशेष किसिमको हुन्छ पंच माई सात बहिनी ९ बहिनी माई । यी माईहरुलाई आफ्नै चेली बहिनी समान पुजे मानेको हुन्छ र (हरेक १५ दिनका ) पाक्षिक रुपमा पूजा हुने गर्दछ ।

३. मगर भित्रका थर उपथर सबै समान हुन्छन् ।

नेपालमा बसोबास सबै जातजाति भित्र उँच निचको तह भेदभाव स्पस्ट हाम्रो अगाडी छन् । यहाँसम्म कि एउटै जातमा कसैमा जात कसैमा भात बराबर छैन । कसैमा बिहेवारी चल्दैन, कसैमा पानी समेत चल्दैन । किटाननै गरेर भन्ने हो भने गुरुङको ४ जात र १६ जात ,बाह्रमणमा जैसी र उपाध्याय, नेवारका त झन कुरै छाडौँ, राईमा त झन भाषा पनि थर अनुसार भाषा नै फरक हन्छ । लिम्बुमा हाङ् (राजा) खलक र जन (साधारण) खलक ,क्षेत्रीमा ४ थर र अरु साना थर, ठकुरीमा ‘रण’ लडाईको बिजय र पराजयको आधारमा थर थर बीच भेदभाव स्पष्ट देखिन्छ ।

यति मात्र कहाँ हो र आफूलाई थिचोमिचो भयो ‘दलित’ भइयो भनेर आवाज उठाउने जातिभित्र समेत उनीहरुको थर अनुसार उचँ निच भेदभाव प्रष्ट पाइन्छ तर ती सबै कुराहरुबाट मगर समुदाय फरक छ । नेपालमा रहेका ९८१ उपथरहरुको दावी गरिएतापनि ६०० थर उपथर भन्दा बढी थरहरु प्रमाणित सुचिकृत भैसकेको र ती सबै विच सोली डोली, जातभात ,पूजाआजा सबै एउटै चल्दछ, सबै थरहरु समान छन् । (डा. हर्ष ब.बुढा मगर पृ ४६३ देखि ४८० पृष्ठ सम्म) यदि कसैले गलत अर्थ लगाएर हामी ठूलो उ सानो भनेमा त्यसको कुनै धार्मिक, साँस्कतिक वा राजनैतिक आधारहरु भेटिदैन । यसका अलावा अर्को जातसंग विवाह गरेता पनि दाजुभाई बिच केहि मनमुटाब , रिसराग भएतापनि जात घटुवा हुर्दैन यो नै समानताको एउटा बलियो उदाहरण हो ।

४. प्रकृति पूजक
धर्म एउटा विश्वास हो तर कर्म वास्तविकता । मगरको वास्तविकता कर्ममा हन्छ मगरको धर्म के हो यस बारे बुझनु बाँकी नै छ । हिन्दुहरुको धर्म लेख हो, जसले जे लेखे त्यही बिश्वास हो । बुद्ध धर्म एक सच्चा मानव कर्म (मार्ग) हो । मगरहरुको धर्म बारे कसले के के लेखे या जलाइए, नष्ट गरिए वा लेखिएन स्पष्ट छैन र सत्य यहि हो कि जुनसुकै धर्म मान्न सबैलाई छुट भएपनि मगरहरु प्रकृतिलाई पूजागर्ने जाति हो मात्र बुद्ध धर्मभन्दा पनि बौद्धमार्गी हुनुको मगरका धेरै रितिरिवाज परम्परा बुद्ध ब्यवस्थासंग मेल खान्छ तर त्यहि धर्म भने होइन मगरहरुले बुद्धले जस्तै संघम् शरणनम् गच्छामी वा समुहमा काम गर्ने जाति हो ।

अर्को तर्फ सृष्टि भन्दा पुरानो केहि चिज छैन र मगरहरु सृष्टीका पूजक हो । हावा, पानी, जमिन, रुखको पूजा गर्ने गर्दछन् । हिन्दु पंचतत्व बाट बनेको शरीर स्वीकार्दछन् । त्यहि प्रकृति अनुसार मगरहरुको लुगा, कपडा, खाना, कुडुले घर, गीत संगित हुन्छ । देवीदेवताको पूजा आजा पनि प्रकृतिसंगै रहेर गर्दछन् । यी सबै समानताको उदाहरण हन ।

विभिन्न धर्ममा हुने थिचोमिचो मगर समुदायमा पाइदैन । हिन्दुमा हुने जस्तो दलित वा बाह्रमण वा बैष्णव ठूलो भन्ने हुदैन, मुश्लिम धर्ममा जस्तो सुन्नी समुदाय र शिया विचको मारकाट हुदैन । क्रिश्चियन धर्ममा जस्तो क्याथोलिक र प्रोटेसटेन्ट विचको लडाई हुदैन मगरमा । मगरहरु त एउटै मानव धर्म प्रकृति पूजक हून् । हावा पानी, सुर्य, जमिन रुख सबै समान छन् यो नै मगरको पहिचान हो । संसार बचाउने उसैको पूजा गर्ने शिष्य हो । उसले वायुपूजा भूम्या पूजा,जलदेवता पूजा, भूंयार पूजा गर्दछन ।

५. नारी पुरुष बीच समानता

मगरजातिमा महिलाहरुलाई उच्च सम्मान गरिन्छ, एक त मगरहरु देबी, माइ,सरस्वती (स्त्री) को पूजा गर्दछन् भने घरको काम वा जिम्मेवारीमा पनि प्राय बराबर बाँडेर गरेको पाईन्छ । घरको रेखदेख, मेलापात, लेनदेन सबैमा महिलाहरुको समान सहभागिता रहेको पाइन्छ । ती सबैको प्रमाण कौरा नाच, झयाउरे नाच सोरठी, ठूलो नाचमा पुरुष महिलाबारे गीत र सामूहिक नाचमा समानरुपमा नाचगान खानपिन गरेको पाइन्छ ।

६. मामा छोरी मागी विवाह
मगर जातिमा आफनै मामाकी छोरीसंग विवाह गर्ने चलन अझै छ । अन्य जातिलाई सुन्दा अचम्म र अबैज्ञानिक लागेतापनि बास्तविकता यही हो । अरुकै छोरी ल्याएपनि सासु ससुरालाई माइजु मामा नै भनेर बोलाइन्छ । राणा र शाह खानदानमा त यो जगं बहादुर देखि नै चलाएको छ । क्षेत्री शाही राज खानदान भनेर मानिने नेपालका त्तकालिन राजा खलक र जँग बहादर राणा र उनका खलक देखि नै छोरी चेली सबै साटासाट भइरहेकै छ ।

मगरहरुमा पनि सदियौँदेखि यो चल्दै आएको छ । मामा माइजुलाई भगवान बराबर मान्ने गर्दछन् । मगरमा ठूलो नाचको कारण कृष्ण चरित्रमा पनि मामा भान्जा उल्लेख छ । मगरहरु आफ्ना भान्जाहरुले दुख नपाउन, फुपूहरुलाई सजिलो होस् भनेर भदैनी सुम्पेको पाइन्छ । यसमा नेपालको कानुनले हाडनाताको अर्थ लाग्दैन । यो विभिन्न जात जातिमा फरक फरक छ । गुरुङ समदायको पनि फप चेला र मामा चेलीविच मागी विवाह चल्दछ भने मुस्लिमहरुको झन् फरक रहेको पाइन्छ ।

भारतको केही ठाउँमा त झन् एउटै भाषा बोल्नेहरु वीच विवाह हुदैन एउटै हाडनाता मानिन्छ । अरु धेरै जातिमा पनि यस्ता कैयौ चलनहरु छन । तर,मगरहरुलाइ मात्र खिसी टिउरी गरिएको पाइन्छ । तर मगरहरु भने यसलाई सरलता र समानताको एउटा पाटो सम्झन्छ । गर्वको महसुस हन्छ । बुध्दले पनि मामाकी छोरीसंग विवाह गरेका थिए।

यसरी मगर जातिमा रहेको विभिन्न रितिरिवाज परम्परा ,चलन, भाषा, संस्कृति, गीत नृत्यबाट यो बुझिन्छ कि मगर जाति एक सहिष्णुता भएको र समानताको विश्वास राख्ने जाति हो । यस जातिले परापूर्वकालदेखि नै प्रजातान्त्रिक मूल्य र मान्यतामा विश्वास राख्ने जाति हो । अन्य जात जातिहरुले अनेक नकारात्मक अर्थ लगाएर मगरहरुलाइ होच्याउने खिस्सा हाली ‘हाम्रा गाउँमा एउटा मगर थियो । यो खान्थ्यो, यसरी खान्थ्यो यो गथ्र्यो बोल्न जान्दैन थियो आदि आदि’भनेतापनि यो जाति एक समानता,सरलतामा विश्वास राख्ने जाति हो । अपवाद र विशेष व्यक्ति वाहेक प्राय मगरहरु समानता, सामाजिकता, सहनशिलता र हार्दिकता हुन्छ । मनमा हरी राखेको हुन्छ । त्यसैले त आफूलाई मगर भन्दा गर्व महसुस हन्छ ।

पछिल्लो अपडेट