ताजा अपडेट »

कमिसन बढाए पनि ग्यास व्यवसायी असन्तुष्ट

सोमबार, ०९ बैशाख २०७६, १७ : २५
6 Shares

वैशाख १३,

काठमाडौ । नेपाल आयल निगमले ग्यास उद्योगी, ढुवानी कम्पनी तथा बिक्रेताको कमिसन वृद्धि गरेपनि व्यवसायीले भने अझै असन्तुष्टि जनाएका छन् ।बास्तविक बजार भाउको बेवास्ता गरी एकतर्फी रूपमा अवैज्ञानिक तरिकाले झिनो वृद्धि गरिएको र यसबाट समस्याको समाधान हुन नसक्ने नेपाल एलपी ग्यास उद्योग सङ्घले जनाएको छ । सङ्घले विरोधका लागि आगामी हप्ता व्यवसायीको राष्ट्रिय भेला आयोजना गर्न लागेको छ ।

सङ्घका अध्यक्ष गोकुल भण्डारी भन्छन्, बाह्य ढुवानी खर्च बढाएको छैन, यो छ वर्ष अघि सिफारिस गरिएको मूल्य हो, अहिले बल्ल वृद्धि गर्नुको कुनै सान्दर्भिकता छैन, यसले समस्याको समाधान पनि हुँदैन, झारा टार्ने काम भयो हामीलाई मान्य छैन । अब कसरी अघि बढ्ने भन्ने योजनाका लागि व्यवसायीहरूको राष्ट्रिय भेला आयोजना गरिएको उनको भनाइ छ ।

अध्ययन समितिले दिएको सुझावसहितको प्रतिवेदनका आधारमा निगमले कमिसन वृद्धि गरेको थियो । चैत्र अन्तिम साता निगमको सञ्चालन समितिको बैठकले प्रतिसिलिण्डर २७ रुपियाँ ८९ पैसा वृद्धि गरेको थियो । जसमा आन्तरिक ढुवानी प्रतिसिलिण्डर छ रुपियाँ ५१ पैसा, ग्यास उद्योग सञ्चालन खर्च १४ रुपियाँ ४६ पैसा, डिलर कमिसन पाँच रुपियाँ ४७ पैसा र व्यवसायीको नाफा एक रुपियाँ ४५ पैसा वृद्धि गरेको थियो ।

यसअघि उद्योग सञ्चालन खर्च प्रतिसिलिण्डर ५२ रुपियाँ ५४ पैसा थियो । भारतको रिफाइनरीबाट उद्योगसम्मको ढुवानी खर्च ८७, उद्योगबाट बिक्रेतासम्मको ढुवानी खर्च २९, उद्योगीको मुनाफा ३०.५५ पैसा, बिक्रेताको नाफा ३२, उद्योग सञ्चालन खर्च ५२.५४ पैसा र विभिन्न प्राविधिक खर्च एक रुपियाँ ३९ पैसा प्रतिसिलिण्डिर अनुदान दिएको थियो ।

वृद्धि भएको नयाँ मूल्य अनुसार नेपाल आयल निगमलाई प्रतिसिलिण्डर दुई सय रुपियाँ घाटा छ । यसअघि प्रतिसिलिण्डर १७२ रुपियाँ घाटा थियो । जुन घाटा निगमले अन्य पेट्रोलियम पदार्थको नाफा र निगमको कोषबाट पूर्ति गरिरहेको छ । -गोरखापत्रबाट

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।