ताजा अपडेट »

सालको पात टपरी गाँसेर ...

शनिबार, ०८ कार्तिक २०७७, १९ : ३१
34 Shares

बटौलीको पाणिनि उद्यान पुगेर फर्केपछि ...


हामीहरु बुटवल –१३ को झोलुङ्गे पुल नजिकै,लुम्बिनी प्रवेशद्वारमा पुग्दा विहानको १० बज्नै आँटेको थियो । दिन शनिवार । तिथि दसंैको महाअष्टमी । उल्लासमय वातावरण । महेन्द्र लोकमार्गमा यातायातका साधन दौडिरहेका थिए । दसैंको संकेत त्यसैले दिदैं थियो ।

सधैंलाई गुनासो रहने भो …
त्यहाँ पुग्दै गर्दा भोकले पेटमा साम्राज्य जमाउन थालेको थियो । लकडाउनको उपहार कविता संग्रहको विमोचनपछि हामीहरु उतै हान्निएका थियौं । हिड्नु अघि माधव पौडेलको अनुरोधमा ऋषि आजाद दाइलाई पाणिनि उद्यान हेर्न आउँदैछौं भनेर सूचित गरेका थियौं । लुम्बिनी गेट नजिकै गुल्मेली चिया पसलमा चिया,अण्डा,समोसा र चनाले पेट सेक्यौं । पानीले पेट झन् टम्म भयो । भोकले लुला भएका खुट्टाहरु तङ्ग्रिए । ऋषि दाइले हामीलाई खाजा खाएको पैसा तिर्न दिएनन् । यो कुराको गुनासो हामीलाई सधैं रहने भयो । पैसा तिर्न नपाएको झोंकमा पाणिनि उद्यान लेखिएको बोर्ड,जीतगढी विजयटोलमा प्रवेश गरेको हेक्का नै भएन मलाई । माधव पौडेलले चार पाङ्गे साधन घ्याच्च रोके अनि थाहा भयो पाणिनि उद्यानको मुख्खैमा पुगिसकेका रहेछौं हामी


मनै फुरुरु…।
जीतगढी यसै प्रख्यात स्थल हो हामी नेपालीहरुलाई । त्यसैमा संस्कृत वाङ्मयको आधुनिक व्याकरणका आचार्य वा रचयिता प्रसिद्ध मुनि पाणिनिको नाममा निर्माण कार्य जारी रहेको पाणिनि उद्यानमा पुग्दा मनै फुरुङ्ग भो । धेरैले पाणिनिलाई अर्घाखाँचीसँग जोड्छन् तर यो साँघुरो घेरो हो भन्ने लाग्छ । ऋषि दाइ अध्यक्ष रहने गरी २१ सदस्यीय पाणिनि उद्यान समिति बनेको आउँदो माघमा एकवर्ष पूरा हुने छ । तर,त्यहाँ भएका कामको गतिलाई हेर्दा वर्षौअघिदेखि काम थालिएको अनुभव हुन्छ जो कसैलाई । गर्नेलाई तीन सय ६५ दिन काफी हुन्छ । नगर्नेलाई भनिरहन जरुरी देख्दिन मैले।

ऋषि आजाद निवृत्त शिक्षक हुन् । दैनिक पत्रमा सम्पादनको जिम्मेवारी बोकेका छन् । फुर्सदमा सामाजिक काममा लाग्छन् । समालोचना उनको खास विषय हो । भन्नेहरुले उनलाई बढी स्वच्छन्दवादी पनि भन्छन् । त्यो उनको वैयक्तिक कुरा हो । हामीले चासो राखि राख्न पर्दैन । समाजलाई दिएका योगदानले उनको कर्मशीलतालाई गणना गर्ने हो । उनको नतीजालाई मूल्याङ्कन गर्ने हो । पाणिनि उद्यानको अध्यक्ष हुन् ।

जीतगढी सामुदायिक वन उपभोक्ता समूहसँग ३४ बिघा जग्गाभित्र पर्ने गरी पाणिनि उद्यानको गुरुयोजना बनाई सकेका छन् । त्यहाँ उनीहरुले बालउद्यान, गाउँले परिवेशको ५० वटा नमूना एवम् उदाहरणीय घरहरु,जहाँ पुराना कलात्मक बस्तुहरु( ढिंकी,जाँतो,कोल लगायत) सजाएर राख्ने मनसाय र योजना बनाइ सकेका छन् । दुई मीटर लम्बाई र डेढ मिटर चौडाईको एकै किसिमका घरहरु बनाउने उनीहरुको उक्त योजना सफल हुन सकेमा पाणिनि उद्यानमा आन्तरिक एवम् बाह्य पर्यटकको घुँइचो लाग्ने छ । आम्दानीको गतिलो थलो बन्ने छ ।

बटौलीमा पाणिनिको शालिक …।
उक्त उद्यानमा भविष्यमा पाणिनिको शालिक राख्ने,मिनी संग्रहालय निर्माण गर्ने र उनीहरुसँग सरोकार राख्ने सबै खाले सामग्रीहरु राख्ने संकल्प बोकेका ऋषिहरुको कामना छिट्टै पूरा हुने आशा सबैले गरौं । उक्त क्षेत्रमा वृक्षरोपण गरेका छन् । बेल,वरपीपल,अमला र चिउरीका बोटहरु रोपेर अनन्त कर्मको थालनी गरेका छन् । यतिबेला विजयटोल नजिकैबाट पाणिनि उद्यानको मुखबाट सिमेन्टेड बाटो चार सय ६४ मीटर बनाइसकेका छन् । सात लाख रुपैयाँ बुटवल उपमहानगरपालिकाले आर्थिक सहयोग गरेको सुन्दा खुसी पनि लाग्यो । त्यतिमात्र होइन गत आर्थिक वर्षमा एउटा ठूलो सेड निर्माण गरिएको रहेछ ।

करिव चार लाख खर्चिएर निर्माण गरिएको उक्त सेडलाई योगा गर्ने तथा ध्यान केन्द्र बनाउने अभियानमा आफूहरु जुटेको कुरा सुनाउँदै थिए– ऋषि आजाद । उनको योजना सुन्दैगर्दा संस्कृतिकर्मी झपेन्द्रबहादुर जीसीले टाउको मात्र हल्लाएनन् बरु उनले आवश्यक सरसल्लाह समेत दिदै गए । माधव,मीन राना र मीनाक्षीले पाणिनि उद्यानको उकालो चढ्दै गर्दा फोक्सामात्र फुल्लाएनन् बरु बटौलीलाई नाङ्गो आँखाले देख्न सकिने भ्यू पोइन्टको कल्पना गरे । निकट भविष्यमै उक्त भ्यू पोइन्टको काम सुरु हुने कुरा सुनाइरहँदा मेरा मनमा अनेक जिज्ञासा पलाए ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको पैसाले पानी पुनर्भरण सेन्टर…।
पाणिनि उद्यानभित्र पस्दै गर्दा पानी पुनर्भरण स्थल देखें । मलाई अति खुसी लाग्यो । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको तीन लाख वजेटबाट गत आर्थिक वर्षमा ६५ जना स्थानीय बासिन्दाहरुले कोदालो,गैती,गल र घनको प्रयोग गरी सात दिनमा उक्त पोखरी खनेको कुरा सुन्दा मज्जा लाग्यो । बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोग मननीय रहेछ । संयोजन गर्ने ऋषि आजाद जस्ता व्यक्ति भएपछि के कुराको कम हुने भो र ? यस्तै काम सबै वडाहरुले सजिलै गर्न सक्ने थिए भने विकास र समृद्धि नारामा हैन आफ्नै आँखा अघि झलल देखिन्थे ।

जीतेश्वरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षमा जंगबहादुर श्रीस मगर अध्यक्ष छन् । वनको बहुप्रयोगमा ध्यान दिन सकेको हामीलाई सजिलै महसुस भयो । बुटवलकै चारपाला वनको प्रयोग गरेर ओम शान्तिले शान्ति पार्क बनाएको सबैलाई थाहै छ । वनको सदुपयोग गर्न सक्ने हो भने नेपालका युवाहरुलाई आफ्नै गाउँठाउँमा रोजगार दिन सकिने छ तर खाँचो योजना र कार्यान्वनको नै हो ।

मनकारी मनहरु …।
३४ वटा बेञ्चहरु स्थानीय मनकारी मनहरुले सौजन्य दिएका छन् । विहानै दौडेर पाणिनि उद्यान पुग्नेहरु थचक्कै बस्न पुग्छन् त्यहीं । बेलको रुखमा बेलमतिको थान बनाएका छन् । धजा,पतका टाँसेका छन् । देउरालीमा देवी बनाएका छन् । मनका तिर्सना मेटेका छन् । सुखी भेटेका छन् । ढुंगालाई देउता बनाएका छन् । देउता मानेर राता,पँहेला बनाएका छन् । आस्थाको फूलबारी रहेछ पाणिनि उद्यान जस्तै लाग्यो ।

हाम्रा गीतहरु …।
भेडे कुराें फुल्दै थियो । त्यसैलाई देखेर माधव खुसी हुँदै फोटो खिचे । संस्कृतमा त्यसलाई स्वेतैरेया भनिन्छ । अंग्रेजीमा ब्लूबेल बार्लेरिया नामले चिनिन्छ । यसको जरा र पातको रस सुन्निएको र खोकी लागेको बेला सेवन गर्दा हित गर्दछ । हामी त्यहाँ पुग्दा गर्गलो,बेल,साल र पियारीका बुट्यान र रुखहरु देखेका थियौं । बंदेल अति नै पाइन्छ भन्ने सुनियो । विभिन्न प्रजातिका चराहरुले गुँड लगाउने उक्त सामुदायिक वन जैविक विविधताको केन्द्र हुन सक्ने अड्कल गर्न सकिन्छ ।
सालको कलिलो पात टिप्दै मीनाक्षीले काँठे गीत गाइन् ।


सालको पात, टपरी गाँसेर
भेट भो माया जाम् डाँडा काटेर
पानी तालैमा…।
त्यसैमा अर्को गीत थपियो ।
सालको पात टपरी दुनालाई
नलाऔं माया सम्झेर रुनलाई
फेरि झपेन्द्र जीसीले थपे
सालको पात टपरी हुने,सल्ली पातको टपरी नहुने !
उनले अझैं धयेंरीको समेत गीत सुनाए ।
रस रस धँयेरी रस
मेरो मयाँ कहिं नजाउ यही बस ।
यी गीतहरुले वन,वातावरण र जैविक विविधतासँग सरोकार राख्दछन् । हामी पाणिनि उद्यानको माथि पाखोमा पुगेर फर्किदा फूट ट्रेलको वरिपरि रंगरोगन गरिएका बोटहरु देख्यौं । विद्युतीकरण गरिएका रहेछन् बोटहरुमा । डस्टबीनहरुलाई व्यवस्थित गरिएका रहेछन् । झाँडी सफाइ भएका रहेछन् । वन संरक्षण र प्रवद्र्धनका लागि भएका यस्ता गतिला कामहरुले नयाँ सन्देश प्रवाह गरेका छन् । सुझाव दिएका थियौं–वन क्षेत्रमा सिमेन्टेड भौतिक संरचना सके नबनाऔं सकिन्न भने सामान्य बनाऔं । वन,वातावरण र जैविक विविधता संरक्षणमा योगदान गरौं । वनको बहुप्रयोग गरौं । समृद्धिका लागि वन,सबैका लागि वन भन्ने नारालाई साकार बनाउन पाणिनि उद्यान कटिबद्ध रहोस्।

अन्त्यमा … ।
बुटवलबाट नजिकै पर्ने उक्त उद्यानलाई जीवन,जगतसँगै आम्दानीका लागि पर्यापर्यटनसँग जोड्न सकिन्छ । पाणिनिको गरिमा र महिमासँग ऐक्यवद्धता गर्न सकिन्छ । समन्वय र सहकार्य गर्ने समितिलाई बिराट मन बोकेर निरन्तर अग्रगामी रुपमा बढ्नका लागि दशंैको बेला अपार शुभकामना । अन्त्यमा हिंडे पुगिन्छ । गरे जानिन्छ । यही सन्देश फैलाउन सफल पाणिनि उद्यान समितिलाई आफ्नो लक्ष्यमा पुग्न सफलता मिलोस् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।