ताजा अपडेट »

ट्रंक लाइन विलिङ्गले उद्योगी मारमा, समस्या समाधान गर्न आग्रह

विहीबार, १५ साउन २०७७, १६ : ४९
4 Shares

बुटवल । विद्युत प्राधिकरणले ट्रंक लाइन विलिङ्ग छुट भनी उद्योगीहरुलाई बक्यौता बुझाउन पुनः पत्राचार गरेसँगै बुटवल-भैरहवा क्षेत्रका उद्योगीहरु चिन्तित बनेका छन् । प्राधिकरणले विगतमा लोडसेडिङ्ग व्यवस्थित गर्ने शिलशिलामा उद्योगीहरुको माग र सहमती बिनै एकलौटी ढंगबाट ट्रंक लाइन जडान गरिदिएको र हालसम्म उद्योगीहरुले साधारण विलिङ्ग बमोजिम महशुल भुक्तानी गर्दै आइरहेता पनि २०७२ सालदेखिको बक्यौता बुझाउन पत्राचार गरिनुले उद्योगीहरुमाथी अन्याय भएको उद्योगीहरुले बताएका छन् ।

बुधबार रुपन्देही उद्योग संघमा आयोजित एक छलफलमा उद्योगीहरुले आफुहरु माथी अन्याय हुन लागेकोमा समस्या समाधानका लागि पहल गर्न रुपन्देही उद्योग संघसँग आग्रह गरेका छन् । प्राधिकरणले आफ्नो एकलौटी ढंगबाट लाखौं रुपैयाँ बक्यौता भनी पत्राचार गरिनु उद्योगी माथिको प्रहार भएको संघका अध्यक्ष बाबुराम बोहोराले बताए । उद्योगी व्यवसायीहरुका गुनासो सुन्दै संघका अध्यक्ष बोहोराले बुटवल भैरहवाका विभिन्न क्षेत्रमा संचालन भएका प्रभावित उद्योगहरु बन्द हुने सम्भावना समेत रहेकोले समस्या समाधानका लागि यथाशाक्य पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

सरकारले लोडसेडिङ्ग पूर्ण रुपमा मुक्त भएको घोषणा गरिसक्दा समेत प्राधिकरणले हालसम्म पनि सोही अनुरुप ट्रंकलाइन महशुल असुल उपर नगर्न र प्राधिकरणले मनोमानी ढंगबाट एकाधिकारको गलत प्रयोग नगर्न समेत रुपन्देही उद्योग संघले आग्रह गरेको छ । संघले यस समस्या समाधानका लागि पटकपटक आग्रह गर्दा समेत प्राधिकरणले चासो नदिनुले उद्योगप्रति प्राधिकरणको भूमिका सकारात्मक हुन नसेकोमा संघ गम्भिर बनेको बताउँदै तत्काल उद्योगका समस्या समाधान गर्न संघका अध्यक्ष बाबुराम बोहोराले अनुरोध गरेका छन् ।

विद्युत प्राधिकरण बुटवलका प्रमुख संजय मिश्रले भने बाँकी बक्यौता व्यवसायीहरुले जसरी पनि तिर्नुपर्ने बताए । ‘माथीको निर्देशन अनुसार हामीले गर्ने हो । गत २०७२ साल देखि २०७७ असार मसान्त सम्मको ट्रङ्क लाइन विलिङ अनुसार शुल्क उठाउँन निर्देशन आएको छ ।’–ग्लोबल आवाजसँगको कुराकानीमा मिश्रले भने । साउन महिना देखि यताको महशुल भने सामान्य विलिङ प्रणालीबाट लिइने उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।