ताजा अपडेट »

भारतमा लकडाउन दुई हप्ता थप गरिने

शनिबार, २९ चैत्र २०७६, १८ : ४१
2 Shares

काठमाडौ । भारतमा लकडाउनको अवधी दुई हप्ता थप गर्ने तयारी गरिएको छ । यसको औपचारिक घोषणा भने हुन बाँकी रहेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न राज्यका मुख्यमन्त्रीहरुसँग चार घण्टा लामो छलफल गरेपछि यसको संकेत मिलेको हो । बैठक सकिए लगत्तै नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्वीट गर्दै भने, ‘प्रधानमन्त्रीले लकडाउन बढाउने सही फैसला लिनुभएको छ ।’ त्यस्तै, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले पनि भनिन्, ‘अप्रिल ३० सम्म लकडाउन बढाउने विषयमा प्रधानमन्त्रीसँग छलफल भएको छ । हामी वहाँको फैसलाको समर्थनमा छौँ ।’ यद्यपि, लकडाउन बढाउने घोषणा कहिले गरिनेछ भन्ने यकिन छैन ।

केजरीवाल र ममता बनर्जीको बयानपछि प्रधानमन्त्रीले शनिबार राति आफै देशवासीको नाममा सम्बोधन गर्दै लकडाउन बढाउने घोषणा गर्ने मिडिया रिपोर्टहरु सार्वजनिक भएको थियो । तर, सरकारी सुत्रले प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्पष्ट पारेका छन् । बैठक सकिएको डेढ घण्टापछि प्रधानमन्त्री कार्यालयको तर्फबाट पनि बयान जारी भएको थियो । जसमा राज्यहरुबीच दुई हप्ता अझै लकडाउन थप्ने सहमति भएको उल्लेख थियो । लगत्तै, महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले प्रेस कन्फरेन्समार्फत राज्यमा अप्रिल ३० सम्म लकडाउन जारी रहने घोषणा गरे ।

दिल्लीसहित १२ राज्य सरकार लकडाउन बढाउने पक्षमा छन् । पञ्जाबको काँग्रेस सरकार र ओडिशाको बीजद सरकारले ३० अप्रिलसम्म लकडाउन बढाउने फैसला गरिसकेको छ । बाँकी राज्यले पनि प्रम मोदीलाई कम्तिमा दुई हप्ता लकडाउन बढाउन सुझाव दिएका छन् । यसअघि मोदीले गत २० मार्च र २ अप्रिलमा मुख्यमन्त्रीहरुसँग छलफल गरेका थिए । - स्रोत : दैनिक भास्कर

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।