ताजा अपडेट »

फलामका काम गर्ने बाह्रघरे

विहीबार, ०६ असार २०८१, १४ : ०२
526 Shares
विहीबार, ०६ असार २०८१
526 Shares

४० वर्ष पुगेपछि खड्कसिं बाह्रघरे मगरले फलामको काम सुरु गरे । मैदान गाउँको खर्कमा आरान थापे । उनले त्यो काम रहरले हैन बाध्यताले गर्न थाले । मैदान गाउँ पूर्वखोला  गाउँपालिका वडा नं.२,जल्पामा पर्छ । अहिले पनि ७५ बढी घरधूरी मगरजातिको मात्र बसोबास छ । अन्य कुनै जातिको बसोबास छैन । गाउँमा फलामको काम गर्ने मान्छे नभएपछि उनले फलामको काम गर्न १५ दिने तालिम लिए । उनको गाउँबाट तालिम लिनेमा अर्का एकजना साथी पनि थिए । 

यतिबेला खड्कसिं मैदान गाउँ टोल विकास समूहको अध्यक्ष छन् । गाउँ विकासमा उनको लगाव अति नै प्रिय छ । पाँच सन्तानका पिता उनले बाख्रापालन गरेका छन् । गाउँमा स्मार्ट बाख्रापालन कार्यक्रम आएपछि ५० वटा जति बाख्रा पालेका छन् । तरकारी खेती गरेका छन् । तैपनि उनको मुख्य पेसा भनेकै  फलामको काम गर्नु हो । समाजसेवा,खेतीकिसानीसँगै फलामको काम गरेर सन्तान पाल्न,घरव्यवहार चलाउन, ओखतीपानी गर्न आरन सहारा बनेको छ । 

उमेरले ५५ नाँघ्दै गर्दा खड्कले तातोफलाम पिट्दैछन् । नयाँ बस्तुका आकार बनाउँदैछन् ।  हँसिया,फरुवा,खुकुरी,कोदालो बनाएर स्थानीयहरुलाई सहयोग पुराएकै छन् । उनी भन्दैथिए–गाउँमा फलामका काम गर्ने मान्छे भएनन् । टाढा हतियार अर्जाप्न जाँदा बेलामा काम हुन्थेन । बालीघरे प्रथामा काम चलाउने भनिएता पनि पैसा नदिंदासम्म भनेको बेलामा काम नहुने र दुःख पाइएको हुँदा आफैले यही काम गर्छु लाग्यो । अर्जापेको हतियार लिन जाँदाजाँदा हप्तौं बित्थे कहिलेकाँही त । 

दिनभरिमा २० देखि ३० वटा हँसिया अर्जाप्दा एक हजार रुपैयाँ सजिलै कमाउन सकिने  खड्कले बताए । एउटा हँसिया अर्जापेको स्थानीयहरुलाई ३५ रुपैयाँ र छिमेकी गाउँलेहरुलाई ४० रुपैयाँ लिने चलन रहेछ । नयाँ हँसिया भने एक दिनमै बनाउन सकिने र न्यूनतम आठ सयदेखि एक हजार दुईसयसम्म सजिलै पार्न सकिने सुनाए । आफूले बनाएको खुकुरीलाई तीन हजार रुपैयाँसम्म परेको सुनाउँदै थिए । स्पातलाई काटेर कोदालो बनाउँदा कठिन हुने बताएका उनले एउटा कोदालोलाई दुई हजारदेखि दुईहजार पाँचसय रुपैयाँ सजिलै पर्ने सुनाए । 

आफ्नो आरनमा धान,कोदो,खर काट्ने बेला र असारमास हतियार अर्जाप्न आउनेको धूइँचो लाग्ने कुरा सुनाउँदै गरेका खड्कसिं बाह्रघरेले खुबै राम्रो पाइन् लगाउने बताए । आफूले हतियारमा लगाएको पाइन् खुबै खप्ने सुनाए । एकपटक अर्जापेपछि एकवर्ष ढुक्क भए हुन्छ भन्दै थिए उनले । दुःखका साथ यो पनि भन्दैथिए कि उनले–गाउँतिर पहिला पहिला पाइन् लगाउनेका हातबाट पानी चल्दैन ! मैले के नराम्रो काम गरें अनि मेरो हातबाट पानी नचल्ने ? मैले त गाउँलेको खाँचो पूरा गरेको न हुँ ? काम गरेर खान केको लाज ? केको जातीय विभेद ? छुवाछुतलाई जरैबाट उखेल्नुपर्छ ।  

यसै वर्ष उनले बाख्रा बेचेर दुई लाख बढी आम्दानी गरे । तरकारी बेचेर ठिकै कमाए । सेवा दिए स्थानीय एवम् छिमेकी गाउँलेहरुलाई । फलामको काम गरेर प्रतिष्ठा कमाएका छन् । पैसा कमाएका छन् । परिवारसँग रमाएका छन् । खड्कले भनेका थिए–गाउँको सेवा गर्न मैले उमेर छँदा विदेशको यात्रा गरिनँ । आजसम्म उनको गाउँबाटमात्र एक सय बढी युवाहरु तेस्रो मुलुकमा वैदेशिक रोजगारका लागि बाटो तताएका छन् । गाउँमा कृषि र पर्यटनको सहायताबाट विदेशिएका युवाहरुलाई गाउँमै फर्काउने योजना रहेछ उनको । 

कुरा फलामजस्तै कडा गर्न रुचाउने खड्कसिं बाह्रघरेका मन भने नौनीजस्तै कमलो रहेछ । गाउँका सबैलाई उत्तिकै सम्मान गर्ने,स्नेह गर्ने र सहयोग गर्ने उनको बानी रहेछ । समाजसेवा उनको रहर अनि आरन उनको बाध्यता रहेछ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।