ताजा अपडेट »

बुटवलमा नगरप्रमुख बाआमा कार्यक्रम: घरदैलोमै स्वास्थ्य सेवा पुगेपछि जेष्ठ नागरिकमा उत्साह

विहीबार, २० बैशाख २०८१, १० : ५७
112 Shares

बुटवल । बुटवल–१२ की कमला क्षेत्रीे उमेरले अहिले ९० वर्ष पुगिन् । बुढेसकालको उमेरले च्यापेपछि उनलाई शारीरिक अशक्तता श्वासप्रश्वास, मुटु, रक्तचाप, जस्ता अनेकन् रोगहरुको देखिए । उनी शारीरिक अशक्तता श्वासप्रश्वास, मुटु, रक्तचाप, जस्ता अनेकन् रोगहरुको शिकार भइन् । उपचारका लागि बुटवलसम्म आउन पनि उनलाई गाह्रो हुने नै भयो ।  

उनलाई बुढ्यौली उमेरमा त्यसमाथि समय–समयमा चेकजाँचको लागि आइरहनुु पर्ने थियो । तर, अस्पतालमा हुने भिडभाड र लाइनमा बस्नु पर्ने कारणले असहज हुने गरेको उनी बताउँछिन््। तर, पछिल्लो समय नगरपालिकाले आफु अस्पताल जानु पर्ने बाध्यताको अन्त्य गरिदिएको र घरमै स्वास्थ्य चेकचाँज गराउन पाउँदा धेरै खुशि लागेको बताइन् । यी त केबल एउटा प्रतिनिधिमूलक पात्र मात्रै हुन् । बुटवल उपमहानगरपालिकाले सुरु गरेको नगरप्रमुख बाआमा कार्यक्रमले यहाँका बृद्धाबृद्धाहरु उत्साहित भएका छन् । बुटवल उपमहानगरपालिकाले सुरु गरेको नगरप्रमुख बाआमा कार्यक्रम  प्रभावकारी र स्थानीय सरकार जनताको घरदैलोमा जाने माध्यम समेत बनेको छ । 

माघ २२ गते बुटवल १२ तामनगर स्थित प्रगति टोलकी ११० वर्षीया ऐरावती बरईको स्वास्थ्य परीक्षण गरेर नगरप्रमुख खेलराज पाण्डेयले नगरप्रमुख बाआमा कार्यक्रमको सुरुवात गरेका थिए । ऐरावतीको घरमै पुगेर नगर प्रमुख खेलराज पाण्डेयले फलफुल र स्वास्थ्यवर्द्धक सामग्री दिएर अभियानको शुरु गरेका हुन् । जेष्ठ नागरिक बरईको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ  फिजिसियन डा नन्दु पाठकले स्वास्थ्य परीक्षण गरेका थिए।

बुटवलमा जेष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिहरुको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षणका लागि ’बाआमासँग नगर प्रमुख निशुल्क स्वास्थ्य परीक्षण र उपचार’ कार्यक्रम शुरु गरिएको बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय बताउँछन् । स्वास्थ्य संस्थाहरूमा स्वास्थ्य सेवा लिन जाँदा धेरै समय खर्चिनु पर्ने, सकि नसकी अस्पतालहरुमा गएर जेष्ठ नागरिकहरुले लाईनमा बस्नु पर्ने,एकैदिनमा परिक्षण हुन नसक्ने जस्ता समस्या र बाध्यता देखिएपछि बा आमासंग नगर प्रमुख कार्यक्रमको अवधारणा अगाडी सारेर सहज सेवा दिन खोजिएको नगर प्रमुख खेलराज पाण्डेयले बताए ।

‘स्वास्थ्य संस्थाहरूमा स्वास्थ्य सेवा लिन जाँदा धेरै समय खर्चिनु पर्ने , त्यहाँ हुने भिडभाड र लाइनमा बस्नु पर्ने समस्याका कारण बृद्धबृद्धा बाआमाहरुलाई सास्ती भएको थियो । यसकारण उहाँहरुको सहजताको लागि उपमहानगरपालिकाले यो कार्यक्रमको सुरुवात गरेको हो ।’–उनले भने । 

कार्यक्रमको शुभारम्भ गर्दै नगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई स्वास्थ्य क्षेत्रमा अब्बल बनाउने गरी योजनाहरु बनाएको र कार्यान्वयन गर्दै लग्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।  चालु आर्थिक वर्षको बजेटमा बाआमासँग नगरप्रमुखका साथसाथै उपप्रमुख सुत्केरी स्वास्थ्यवर्द्धक कार्यक्रम, शिशु पोषण कार्यक्रम र जटिल रोगका बिरामीका लागि राहत दिने र उपचारमा सहयोग गर्ने कार्यक्रम नियमित रुपमा सञ्चालन भइरहेको उनी बताउँछन् । उनले घरबाहिर निस्किन नसक्ने र फरक क्षमता भएका व्यक्तिहरुका लागि सहज होस् भन्ने उदेश्यले विशेषज्ञसहितको सेवा घरदैलोमा पुर्याउन थालेको बताए।

बुटवलका १९ वटै वडामा सञ्चालन हुने अभियानका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ  फिजिसियन डा नन्दु पाठक, स्त्री रोग विशेषज्ञ डा राजेन्द्र बस्याल, फिजिसियन डा हरि पन्थी, विशेषज्ञ चिकित्सकहरु, मेडिकल अधिकृत तथा स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परीक्षण गरिरहेको जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिए। अभियानका क्रममा प्रयोगशालामा गरिने आवश्यक परीक्षण र औषधिहरु समेत निःशुल्क दिइने उनले बताए । 

स्वास्थ्य परीक्षण र उपचारका लागि आएका जेष्ठ नागरिकलाई आवश्यक औषधि समेत प्रदान गरिएको उनले बताए। कार्यक्रम अन्तरगत स्वास्थ्य परीक्षण र उपचारका लागि आउने जेष्ठ नागरिकलाई आवश्यक पर्ने परीक्षण र औषधिहरु निशुल्क रुपमा उपलब्ध गराएको उनले बताए। उनले घरदैलोमै स्वास्थ्य सेवा पुगेपछि जेष्ठ नागरिकमा उत्साह थपिएको बताए।  

img_6838_tHJTMpEBIS

परीक्षणको क्रममा स्वास्थ्य समस्या देखिएमा त्यसको पहिचान र समाधान गर्न उपचारको दयारामा ल्याएर उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल तथा अन्य निजी अस्पतालसँग समन्वय समेत गर्ने गरिएको शाखाले जनाएको छ । अभियानमा रगतमा सबै खालका परीक्षण गर्न नसकेको खण्डमा परीक्षण गरिएको कार्ड सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा लिएर जादा निःशुल्क रगतजाँच, एक्सरे र भिडियो एक्सरे लगायताका चेकजाँच हुने स्वास्थ्य शाखाले जनाएको छ । 
बुटवलका १९ वडामै संचालन हुने स्वास्थ्य परिक्षणमा वडा नम्बर १, २, ३, १२ र १३ मा शिविर सम्पन्न भएको छ भने वडा नम्बर ११ मा कार्यक्रम चलिरहेको छ । उनका अनुसार वडा नं. १ मा १ सय ७३, वडा नं. २ मा १ सय २९, वडा नं. ३ मा १ सय ७६, वडा नंं. १२ मा १ सय १ सय ९, वडा नं. १३ मा १ सय ६ जना र वडा नं. ११ मा चैत्र ७ गते सम्म ३ सय १६ जना गरी अहिले सम्म करिब १ हजार जेष्ठ नागरिक तथा आपङ्गता भएका व्यक्तिहरुले सेवा लिएको निरीक्षक कल्पना भुसालले बताइन्।

घरदैलोमै स्वास्थ्यकमीसहित निःशुल्क स्वास्थ्यजाँच, उपचार, औषधी र परामर्श दिदाँ ज्येष्ठ नागरिकमा उत्साह थपिएको छ । बाँकी वडाहरुबाट समेत चासो दिएर ज्येष्ठ नागरिकहरु अन्य वडामा सेवा लिनका लागि पुग्ने गरेको छन् ।  बुटवलमा बाआमासँग नगरप्रमुख स्वास्थ्य परीक्षण, उपचार तथा परामर्शसम्बन्धी यसप्रकारको कार्यक्रम पहिलो हो । बृद्धाबृद्धा आमाबामा यस कार्यक्रमले उत्साह थपेको र प्रभावकारी भएकाले अझ विस्तार गरिदै लग्ने उपमहानगरपालिकाले योजना रहेको नगरप्रमुख पाण्डेयले बताए । 

 

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।