ताजा अपडेट »

मगर महिला संघ रुपन्देहीको ८ औं अधिवेशन विवादित

अमुक पार्टीले राजनीति गरेको आरोप

मंगलबार, ११ बैशाख २०८१, १७ : ४४
504 Shares

बुटवल । नेपाल महिला मगर संघ रुपन्देहीको ८ औं जिल्ला अधिवेशन विवादित बनेको छ । यही वैशाख ८ गते तिलोत्तमाको कुञ्जलापुरमा भएको अधिवेशनमा नेतृत्वले एकपक्षीय गरेको भन्दै मगर महिला संघ बुटवल उपमहानगरसमितिले आपत्ती जनाएको छ ।

राजनीतिक स्वार्थमा जिल्ला अध्यक्ष चन्दा थापाले मगर महिला संघ केन्द्रीय समितिको निर्देशन तथा अध्यक्षको आग्रहलाई समेत बेवास्ता गरी एकपक्षीय रुपमा अधिवशेन गरेको भन्दै बुटवल उपमहानगर समितिले बिरोध जनाएको हो । मगर महिला संघलाई केही सीमित व्यक्तिको स्वार्थ अनुसार राष्ट्रिय जनमुक्ति पार्टीको भातृ संगठनको रुपमा कुण्ठित गर्न खोजिएको भन्दै बुटवल उपमहानगर समितिले आपत्ती जनाएको छ ।

मगर महिला संघ बुटवल उपमहानगर समितिलाई कुनै पनि प्रकारले सुचना नै नगराई विधान सम्मत जिल्ला अधिवेशनमा प्रतिनिधित्व गर्न र हुन पाउने अधिकारलाई षडयन्त्रपूर्ण ढंगले  कुण्ठित गरिएको भन्दै बुटवल उपमहानगर समितिकी पूर्व अध्यक्ष तथा सल्लाहकार कुमारी थापाले आपत्ति जनाइन् । जिल्ला अधिवेशनमा मगर संघका केन्द्रीय सचीब गिता सारु मगर, महीला संघका जिल्ला अध्यक्ष चन्दा थापा, प्रदेश अध्यक्ष केशरी तरामुको योजना र निर्देशनमा फोनिज रुपन्देहीका अध्यक्ष सोनु थापा र मगर संघ, बुटवल उपमहानगर समितिका सचिव हेमन्त बुढाथोकी लगायतले अराजक व्यवहारसहित हातपातमा समेत उत्रिएको मगर महिला संघ बुटवल नगर समिति सचिव तिर्थकुमारी सोमरेले गुनासो गरिन् ।

बुटवल उमहानगर समितिको तर्फबाट जिल्ला समितिले अवैधानिक समितिलाई मान्यता दिएर प्रतिनिधि बनाई आधिकारिक प्रतिनिधिलाई सहभागी नगराएको भनि विवाद सिर्जना भएको हो । गौरीमाया थापाको नेतृत्वमा नेपाल मगर महिला संघ, बुटवल उपमहानगर समिति गठन भएपनि जिल्ला अध्यक्ष चन्दा थापा लगायतका व्यक्तिहरुले आफ्नै राजनीतिक विचार निकटका व्यक्तिहरुलाई नेतृत्वमा ल्याउने प्रयास गरेको आरोप लागेको छ । तत्कालिन कोषध्यक्ष सरिता श्रीसलाई अध्यक्ष तथा सचिव नारायणी पाटालाई नेतृत्वमा ल्याएर जिल्ला समितिले आधिकारिक समितिलाई मान्यता नदिएको संस्थापक तथा पूर्व अध्यक्ष ओमी पुनले जानकारी गराइन् । नेपाल मगर महिला संघ, केन्द्रीय समिति काठमाण्डौले २०८०/०६/२३ गते एक पत्र लेख्दै गौरीमाया थापाको नेतृत्वलाई आधिकारिकता दिए पनि राजनीतिक प्रतिसोधनमा जिल्ला र प्रदेश अध्यक्षले निर्णय र निर्देशनलाई कार्यान्वयन गर्न नमानेको पुनले उल्लेख गरिन् ।

२०७९ साल चैत्र १८ गतेका दिन सातौ साधारण सभा तथा तेश्रो अधिवेशनबाट  गौरीमाया थापाको नेतृत्वमा १८ सदस्यीय कार्य समिति विधिवत रुपमा चयन गर्दै सम्पन्न भएपनि केन्द्रले मान्यता दिएको समितिलाई प्रदेश र जिल्ला समितिले मान्यता नदिएपछि विवाद उत्पन्न भएको हो ।

मगर महिला संघ रुपन्देहीकी अध्यक्ष चन्दा थापाले भने अधिवेशनमा कुनै पनि विवाद नभएको दाबी गरिन् । जिल्ला समितिमा नभई बुटवल उपमहानगर समितिभित्र विवाद भएको उल्लेख गर्दै थापाले केन्द्रले बोधार्थ दिएको आफूलाई जानकारी नभए पति त्यो मान्य नहुने अडान कायम राखिन् । जिल्ला र प्रदेश समिति हुँदाहुँदै केन्द्रले ठाडो आदेश दिनु गलत भएको भन्दै उनले बोधार्थ पत्रका आधारमा बुटवल नगरसमितिलाई मान्यता दिन नसकिने स्पष्ट पारिन् ।

यसैगरी मगर महिला संघ लुम्बिनी प्रदेश अध्यक्ष केशरी तरामुले जिल्ला अधिवेशनमा कुनै पनि विवाद उत्पन्न भएको दाबी गर्दै बुटवल उपमहागनगर समितिको मान्यता बारे केन्द्रले पाठाएको बोधार्थ पत्र जिल्लासँग सम्बन्धित भएको उल्लेख गरिन् । संघमा राजनीतिक आस्थाका आधारमा व्यवहार भएको भन्ने आरोप निराधार भएको तरामुले दाबी गरिन् ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।