ताजा अपडेट »

लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा ७ जनाको प्रतिष्पर्धा

छनौटका लागि दुई वटा समिति गठन

विहीबार, ०६ बैशाख २०८१, १६ : ३२
364 Shares

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा सिफारिसका लागि ७ जनाबीच प्रतिष्पर्धा हुने भएको छ । ०८० चैत १ गतेबाट पद रिक्त भएपछि खुला प्रतिष्पर्धाबाट छनौट गर्न दरखास्त आह्वान गरिएको हो । पेश भएका ९ वटा आवेदनमध्ये ७ वटाको अन्तिम मूल्याङ्कन हुने विश्वविद्यालयको उपकुलपति कार्यालयले जनाएको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालय ऐन, २०६३ मा उपकुलपतिको सिफारिसमा कुलपति एवं प्रधानमन्त्रीले रजिष्ट्रार नियुक्त गर्ने व्यवस्था छ । कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विश्वविद्यालयहरुमा पदाधिकारी नियुक्ति गर्दा खुला प्रतिष्पर्धाबाट गर्ने बताउँदै आएका छन् ।  अन्य विश्वविद्यालयमा पनि खुला रुपमा दरखास्त आह्वान गरी पदाधिकारी नियुक्तिको अभ्यास थालिएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले पनि सोही प्रक्रिया पछ्याउदै  रजिष्ट्रार सिफारिसका लागि खुला रुपमा दरखास्त आह्वान गरेका थिए । विश्वविद्यालय ऐनले रजिष्ट्रार सिफारिस गर्ने एकल अधिकार उपकुलपतिलाई दिएको छ ।

रजिष्ट्रार छनौटको मापदण्ड निर्माण तथा दरखास्त आह्वानका लागि उपकुलपति बज्राचार्यको नेतृत्वमा मानविकी तथा सामाजिक शास्त्र संकायका डिन डा. हरिशरण चखुँ र अनुसन्धान केन्द्रका निर्देशक प्रा.डा. गितु गिरी रहेको तीन सदस्यीय समिति गठन गरिएको छ । सो समितिले प्राप्त भएका ९ जनाको दरखास्तमध्ये मापदण्ड पुगेका ७ जनाको नाम मूल्याङ्कनका लागि छनौट गरेको छ । दरखास्तका लागि प्रकाशित सूचनामा रजिष्ट्रार पदका लागि कम्तिमा स्नातकोत्तर तह उत्तीर्ण, पाँच वर्ष प्राज्ञिक संस्थाको नेतृत्व गरेको अनुभव र सहप्राध्यापक वा सोभन्दा माथिको पदीय हैसियतलाई न्युनतम मापदण्ड तथा बौद्ध अध्ययन गरेकालाई प्राथमिकतामा राखिने उल्लेख गरिएको छ । कार्यअनुभवमा क्याम्पस प्रमुख, केन्द्रीय विभाग प्रमुख, सहायक डिन, डिन वा सोभन्दा माथिल्लो पदमा विभिन्न समयमा गरी कम्तिमा ५ वर्ष कार्य गरेकाले आवेदन दिन सक्ने व्यवस्था राखिएको उपकुलपति कार्यालयले जनाएको छ । दरखास्तसहित उम्मेद्वारहरुले विश्वविद्यालयको कार्ययोजना र दीर्घकालीन योजना पेश गर्नुपर्ने व्यवस्था गरिएको थियो ।

उपकुलपति बज्राचार्यले पहिलो चरणको दरखास्तको मूल्यांकनबाट ७ जनाको नाम छनौट भएको जानकारी दिए । उनीहरुको प्रस्तुतीकरण, योजनाको मूल्यांकन तथा अन्तर्वार्ताका लागि शिक्षा क्षेत्रमा ख्याती प्राप्त विज्ञहरु सम्मिलित तीन सदस्यीय मूल्याङ्कन समिति गठन गरिएको छ । सो समितिले आवेदनको अन्तिम मूल्यांकन गरी प्राप्ताङक उपकुलपतिलाई प्रदान गर्नेछ ।

रजिष्ट्रारका लागि दरखास्त दिएकामध्ये बर्दघाट नवलपरासीका डा. घनश्याम न्यौपाने, तनहुका प्रा.डा. काजिराम अधिकारी, ललितपुरका डा. गणेश प्रसाद घिमिरे, अर्घाखाँचीका प्रा.डा लालमणि पाण्डे, इलामका प्रा.डा. नरेन्द्र कटुवाल, चितवनका इन्द्रप्रसाद काफ्ले र अर्घाखाँचीका डा. तिलकराम आचार्यको आवेदन स्वीकृत भएको छ । काठमाडौंका डा. गजेन्द्र बहादुर सिंह र कपिलवस्तुका मेघराज आचार्यको आवेदन भने मापदण्डभित्र नपरेको उपकुलपति कार्यालयले जनाएको छ ।

उम्मेद्वारहरुको ०८० बैशाख ८ गते अन्तिम मूल्यांकनका लागि प्रस्तुतीकरण हुने उपकुलपति बज्राचार्यले जानकारी दिए । मूल्यांकनमा उत्कृष्ट अंक ल्याउने उम्मेद्वारलाई रजिष्ट्रार नियुक्तिका लागि सिफारिस गरिने उनले बताए ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।