ताजा अपडेट »

श्रीकृष्णागण्डकीः सभ्यता र सम्पदा

सोमबार, १९ चैत्र २०८०, १५ : ५४
164 Shares

नदी प्रस्रवण, जलवायु परिवर्तन, जैविक विविधता–व्यवस्थापनजस्ता आमचासोका विषयवस्तुको दिगो व्यवस्थापनमा सास्कृतिक रणनीतिको प्रभाव दह्रो देखिएकाले हालका वर्षहरूमा युनेस्को (UNESCO, 2012), विश्व वन्यजन्तु कोष (-WWF, N.D.), संयुक्त राष्ट्रसंघको वातावरण कार्यक्रम ((UNEP, 2016)), विश्व वैंक (UNESCO, 2012) अमेरिकी सहयोग नियोग (WWF, n.d) लगायतका धेरै अन्तराष्ट्रिय गैह्रसरकारी संस्थाहरूले धर्मसस्कृतिलाई रणनीतिक उपयोग गरेका छन् ।  (Palmer, & Finlay, 2003)

श्रीकृष्णगण्डकीः सभ्यता र सम्पदा र यसका तथ्य प्रमाणहरू

१) श्रीकृष्णागण्डकीको गर्भमा पाइने शालिग्रामलाई माध्यम बनाएर माथि उल्लेखित विषयलाई सम्बोधन गरी सास्कृतिकज्ञानलाई पुस्तान्तरण गर्नसकिन्छ । यस मानेमा कृष्णागण्डकी सभ्यता विश्वस्तरीय सम्पदा बन्ने सामथ्र्य राख्दछ ।

२) शास्त्रमा वर्णन भएका शालिग्रामशिलाको दृष्टान्त रहस्यपूर्ण छन् । तिनीहरू “परोक्षवादो वेदोयंबालानामनुशासनम्” (भागवत महापुराण ११ः३ः४४) जस्ता सिद्धान्तमा आधारित छन् । त्यसैले श्रीकृष्णगण्डकी र शालिग्रामलाई भक्तिभावले मात्र बुझ्न सकिदैन । रहस्यमय तवरमा उल्लेख शास्त्र वचनको सिधा अर्थ लगाउदा त्यहाँ अनर्थ हुन्छ । त्यसैले वास्तविक अर्थ पहिचान गर्न अनुसन्धानको सहारा लिन आवस्यक छ । त्यसका निमित्त संस्कृत भाषा सहायक हुन सक्छ ।

३) क्षीर सागर र नीरसागरको सम्बन्ध स्थापित गर्ने भएकाले गण्डकीका सवै धाराहरूलाई पवित्र मानिन्छ । नारायणको पाउबाट उत्पन्न भएका हुनाले अन्य हिमनदीलाई विष्णुपदीको उपमा दिइन्छ । तर नारायण स्वयं गर्भमा बस्नु भएकाले कृष्णगण्डकीलाई विष्णुपदीको प्रमातामही दर्जा प्राप्त छ   । (गण्डकी माहात्म्य, १ः१६, देवेश्वर सरस्वती, २०६८)

४) पुराणहरू मध्ये वराहपुराण, पद्मपुराण र स्कन्द पुराणमा कृष्ण गण्डकीको विस्तृत वर्णन पाइन्छ । योगी नरहरिनाथको प्रयासमा वि.स. २००४ देखि सत्रौं शताब्दीका पाण्डुलिपि सङ्कलन गरेर वि.स. २०१३ मा स्कन्दपुराण अन्तर्गतको सुमेरुखण्ड भित्र हिमवत्खण्डलाई नेपाली भाषाटीका सहित योगप्रचारिणी महासभा, गोरक्षटिला, काशीले प्रकाशनमा ल्यायो । उक्त पुराणको परिशिष्टमा गण्डकी माहात्म्य पनि समावेस थियो । पछि वि.स. २०५५ सालमा तात्कालीन महेन्द्र संस्कृत विश्वविद्यालयले प्रा.डा. टीकाराम अधिकारीको सम्पादनमा गण्डकी माहात्म्य पुनप्रकाशन गरेको थियो । (गण्डकी माहात्म्य, २०५५) उक्त प्रकाशनहरू अहिले बजारमा किन्न दुर्लभ भएकाले वि.स. २०७५ मा प्रा.डा. वेणीमाधव ढकालको सम्पादनमा विद्यार्थी पुस्तक भण्डारले पुन प्रकाशन गरेको छ (हिमवत्खण्ड,२०७५) । अठारपुराणमा सोभायमान  श्रीकृष्णगण्डकीको पौराणिक वर्णन गर्न उक्त दुई प्रकाशन प्रयाप्त छन् ।

५) आम बुझाइमा गण्डकीको उत्पत्ति गण्डस्थलबाट निस्केका पसिना र वृन्दा तथा तुलसीले कृष्णगण्डकी रूप धारण गरेको लीला कथामा सीमित छ तर शालिग्रामको उत्पत्ति सम्बन्धमा पुराणहरूमा पाँचवटा मुख्य कथाहरू भेटिन्छन् । ज्योतिर्मय विष्णुको सानिध्यमा जम्मा भएका देवताहरू (वराहपुराण १४४ः२२५), जालन्धर र वृन्दाको कथा (स्कन्दपुराण, हिमवत् खण्ड (४४ः६१), शङ्खचूड र तुलसीको कथा (ब्रह्मवैवर्तपुराण २ः२१), गजग्राहको कथा (भागवतपुराण ८ः२,३ र ४) र शालङ्कायन ऋषिले चारैदिशामा भगवत् दर्शन गरेको कथा (वराहपुराण १४४ः२५६)। पद्मपुराण (पातालखण्ड अध्याय १९, उत्तरखण्ड अध्याय २४,८७, १२२ र १२६) तथा गरुडपुराणमा (अध्याय ४५ र ६६) शालिग्रामको विस्तारपूर्वक वर्णन गरिएको छ । तर उत्पत्तिकथा विवरण यिनै पाँच मध्ये नै पर्छ । 

कल्पभेद र सम्प्रदायभेदको कारणले उक्त कथाहरू भिन्न भिन्न स्थान र पात्रसंग सम्बन्धित हुन पनि सक्छन् । जेजति भेद भएपनि लीला कथाहरूको निष्कर्ष लगभग हिमालको उत्पत्ति र जलनिर्मलीकरणमा गाँसिन्छ । भगवान् श्री शिवसँग पनि प्रतिस्पर्धा गर्नसक्ने जालन्धरको उत्पत्ति जलमण्डलबाट भएको थियो । (लिङ्गपुराण, १ः९७ः२) भने भगवान् श्रीकृष्णको बालसखा सुदामालाई श्रीराधाको श्रापले गर्दा शंङ्खचूडको जीवन समुन्द्रमा नै बस्न परेको थियौ । (व्रह्मवैवर्तपुराण, ९ः६) 

यी दुवै पात्रको सम्वन्ध क्षारसमुन्द्रको गरुङ्गो पानीसँग छ । गरुङ्गो पानीभित्र चोखो पानीको अंश पनि हुन्छ । त्यसैले गरुङ्गो पानीभित्रको हलुङ्गो पानीलाई वृन्दा र तुलसीको नाममा चित्रण गरिएको सम्वन्धमा पनिअनुसन्धान हुन जरुरी छ । जालन्धर र शंङ्खचूडका लाई मुक्ति दिने क्षमता अर्चावतार श्री शालिग्राममा भएको प्रमाणित गर्न श्री मुक्तिक्षेत्रमा वर्षिने र वग्ने पानीको आइसोटप्स नापेर एकिन गर्न सक्नु पथ्र्यो, तर भक्तिमार्गमा सन्तुष्ट कृष्णागण्डकीका उपाशकहरूले त्यस्तो जाँगर देखाएनन् । त्यो महŒवपूर्ण कार्य पश्चिमा वैज्ञानिकले पूर्ण गरे । 

आईसोटप्सको तहमा गरिएको पानीको गुणस्तर अनुसन्धानले उचाइको क्रमसंगै सतहको पानीमा हलुङ्गो पानीको मात्रा बढ्दै गएको प्रमाणित गरेको छ । अर्थात् गरुङ्गो पानीको अंश घट्दै गएको पाइएको छ । (Garzione et al, 2000) त्यसैले पुराणमा शालिग्राम र गण्डकीको बारेमा उल्लेखित वृन्दा र तुलसीको कथालाई गार्जियोन र साथीहरूको अनुसन्धान प्रतिवेदनमा उल्लेखित वैज्ञानिक तर्क समेत समायोजन गरेर जलवायु अनुकल नलाई समेट्ने गरेर नयाँ दृष्टान्त दिन अव ढिला गर्न हुदैन । “परोक्षवादो वेदो यं बालानामनुशासनम्” अर्थात बच्चालाई लोभ वा डर देखाएर अनुशासनमा राखे जस्तै मन्दबुद्धिका जनतालाई भक्तिमार्गमा राख्न प्रयोग भएका दृष्टान्तलाई समयसापेक्ष परिवर्तन गरेर वास्तविक अर्थ जनसमक्ष ल्याउने पहल हामीले गर्नुपर्छ ।

६) अठारौं शताब्दीको मध्यकालमा पुननिर्माण भएको केरलाको पद्मनाभस्वामी मन्दिरलाई सोह्रौ शताब्दीको प्रारम्भमा पुनर्निर्माण भएको कन्याकुमारीको आदिकेशव पेरुमल मन्दिरको प्रतिरूप भनेर मानिन्छ । उक्त दुवै मन्दिरको इतिहास ईशापूर्व दोश्रो शताब्दी देखिको हो भन्ने जनमान्यता छ । वैष्णव सम्प्रदायका १०८ दिव्यदेशममा गणना हुने विश्वविख्यात उक्त मन्दिरहरूको प्रमुख आकर्षणमा मूर्ति पूननिर्माण कालमा प्रयोग भएका १२००८ र १६००८ शालिग्राम हुन् । (Hatch, 1939) 

मन्दिर पूननिर्माणमा संलग्न दाताले तात्कालीन अवस्थामा वनारसबाट शालिग्राम खरिद गरेर लगेको व्यहोरा विकिपेडीया सूचना सङ्ग्रह स्रोतमा अहिले पनि हेर्न सकिन्छ । उनीहरूलाई शालिग्रामको प्रमुखस्रोत मुक्तिक्षेत्र उद्गम भएको श्रीकृष्णागण्डकी हो भन्ने थाहा भएपनि उक्त नदीलाई काशी विश्वनाथको उत्तरवर्ती भन्ने मात्र अनुमान रहेछ  । (Enon, 1878)

यस्ता सूचनाहरूले शालिग्रामको व्यापारमा वनारसले परापूर्वकालदेखिनै मध्यस्थता गरेको छ र धेरै सूचनाहरू श्रीकृष्णागण्डकी भन्दा शालिग्रामको बजार प्रवद्र्धनमा सीमित गरेकाछन् भन्ने सङ्केत हुन्छ । स्कटल्याण्ड स्थित इस्कोनको करुणा भवन शालिग्राम सङ्ग्रहको कारणले प्रख्यात छ भने इस्कोन कै मायापुरको मन्दिरमा राखिएको मूर्तिमा १०८ शालिग्रामको जपमाला छ । (Walter, 2020)

माथि उल्लेखित दृष्टान्तहरू त प्रतिनिधि सूचना मात्र हुन् । विश्वका प्रायजसो पुराना मन्दिरहरूमा शालिग्रामको उपस्थिति अनिवार्य जस्तै छ । नेपाल सरकारले मुक्तिक्षेत्रको प्रचारप्रसारमा शालिग्रामलाई माध्यम नबनाउदा पनि शालिग्राम स्वयंले विभिन्न व्यक्तिलाई माध्यम बनाएर देशविदेशको यात्रा गर्दै मुक्तिक्षेत्रको माहात्म्य प्रचार गरेका छन् । यसमानेमा गण्डकीको पर्यटन प्रवद्र्धन गर्ने सूचनाको सम्वाहकमा विश्वमा विस्तारित भएका शालिग्राम सवैभन्दा प्रभावकारी भएकाछन् भन्ने प्रमाणित गर्न सकिन्छ ।

७) शास्त्र अनुसार शालिग्रामको प्रतिमा ब्रह्माले नै कुद्नु भएको हो । त्यसैको आधारमा परापूर्वकालदेखि नै मूर्तिपूजाको प्रचलन थियो भन्न सकिन्छ । निराकार भगवानको साकारदर्शन गर्ने सिद्धान्तमा मूर्तिपूजा गर्ने चलन हिन्दुसस्कृतिको महत्वपूर्ण पाटो नै हो । त्यस्ता मूर्तिमा स्वयंप्रकट र मानव कलाकृतिको उपज गरी दुई भेद हुन्छ । भगवान्को अवतार तथाअवतार अन्तर्गत प्रदर्शन गर्नुभएको लीलाकथालाई विम्वको रूपमा प्रस्तुत गर्ने कलाकृतिलाई मानव निर्मित मूर्ति भनिन्छ । शास्त्रहरूले व्याख्या गरेका प्रतिमा, विग्रह वा मूर्ति जे नाम दिए पनि ती भगवान्का लीला कथाका विम्व हुन् । प्राचीन कालका मूर्तिलाई त सम्पदामा गणना गरिन्छ भने हिमालको उत्पत्तिसंगै समुन्द्रवाट उठेका शालिग्रामको प्राचीनता अझ धेरै हुन्छ ।तिनले प्रस्रवण समग्रलाई मन्दिर मानेर सम्पदाको शिरोभागमा राख्न सहयोग गर्छ ।

८) गण्डकीका शालिग्राम विश्वसमुदायमा सूचना सम्प्रेषण गर्न सक्षम बनाउने प्रथमश्रेय फ्रान्सेली धर्मप्रचारक पादरी जिन कालमेट्टेलाई जान्छ । दक्षिण भारतका वैष्णव समुदायको शालिग्राम उपरको अनन्य भक्ति र विश्वासलाई हल्लाउन नसके पछि उनले फ्रान्स स्थित आफ्ना हाकिमलाई लेखेको पत्रले युरोपका वैज्ञानिकको ध्यान आकृष्ट गरेको थियो । उनले पत्र लेखेको पन्ध्रवर्ष पछि मात्र (सन् १७६७) स्पेनिस वैज्ञानिक डाभिलाले शालिग्राम शिलालाई एक प्रजातिको एमोनाइट जीवावशेष भएको पहिचान गरेका थिए  । (Walter, 2020)  डाईनोसरकालमा नै लोभएको सामुन्द्रिकजीवको अवशेष हिमालको उचाइमा, त्यो पनि त्यति धेरै मात्रामा कसरी पुग्योभनेर पहिचान गर्न स्विस वैज्ञानिकलाई झण्डै १७० वर्ष लाग्यो । (Heim and Gansser, 1939)

९) एमोनाईट फोसिल धेरै प्रजातिका छन् । त्यसमध्ये कृष्णागण्डकीमा पाइने प्रजातिमा Blandfordiceras को बाहुल्य छ । सन् १९६९ मा भूगर्वशास्त्री हेरवार्ट हेलम्स्टेडले प्राप्त गर्नुभएको एउटा प्रजातिलाई Blandfordiceras Muktinathense नामाकरण गरेर मुक्तिनाथको ख्याति विश्वव्यापी प्राज्ञिक समुदायमा विस्तार गर्ने प्रयास गर्नुभएको थियो । उहाँको उक्त प्रयासलाई हामीले व्यापक बनाउन नसकेको मात्र हो । त्यस सूचनालाई व्यापक सम्प्रेषण गर्न सकेको भए जैविक विविधता, जलवायु परिवर्तन तथा भूगर्भ विज्ञानका धेरै विद्यार्थीलाई गण्डकीको अवलोकन गर्न थप प्रेरित गर्न सकिने थियो ।

११) मुक्तिनाथ पुलहआश्रमको दर्शन गर्न भारतबाट प्रसस्त तीर्थयात्री आउने गरेका छन् । हाम्रो प्रयासले मात्र त्यो उपलब्त्रि भएको होइन । हामीले त उनीहरूको आवश्यकता अनुसारको वातावरण दिएका पनि छैनौ । गोरो छाला र अंग्रेजीभाषा बोल्ने मात्र पर्यटक हुदैनन् भनेर सेवाक्षेत्रमा सक्रिय निजीक्षेत्रलाई उत्प्रेरणा गर्न हामीले अभै सकेका छैनौ । हाम्रा पर्यटकीय सेवा र प्राथमिकता अझैपनि गोरा पर्यटकमा केन्द्रित छन् ।

 सन १८९३ मा स्वामीनारायणनीलवर्णीले श्रीमुक्तिनाथको कठिन यात्रा गरे पछि गुरुस्थानको दर्शन गर्न आउने भारतीय तीर्थयात्रीलाई शालिग्राम, कृष्णागण्डकी र मुक्तिक्षेत्रको माहात्य बताउन सक्ने वैष्णव पथप्रदर्शकको उत्पादन हामीले गर्न सकेका छैनौ । उनीहरूको आहारा तथा दैनिक दिनचर्याको आवश्यकतालाई सम्बोधन हुने सेवा व्यापारमा ग्रामीण पर्यटनमा सक्रिय निजीक्षेत्रलाई समेततत्पर गराई उनीहरूको बसाइ लम्ब्याउने योजना तर्जुमा गर्न अव ढिला गर्न हुदैन ।

१२) श्रीमुक्तिक्षेत्रसंग वज्रयानी बौद्ध सम्प्रदायको आस्था धेरै पुरानो हो । भुटानदेखि  लद्दाख  सम्मको पर्यटनमा तिब्बती संस्कृति केन्द्रमा छ । लामो यात्रा पछि फ्रान्सेली लेखक माइकेल मिसेललेसन् १९६७ मा उपल्लो मुस्ताङ्गलाई लद्दाख तथा भुटान पनि समेटेको प्राचीन तर वृहद भोटको राजधानी भनेर अमेजनको वेष्टसेलर पुस्तक प्रकाशन गर्दा पद्मसम्भवले डाकिनी (सिन्मो) नियन्त्रण गरेको गुरुस्थान भन्नु भएको छ । मध्य मुस्ताङ्गको लुम्ब्रागुम्बाको इतिहाँस बाह्रौ शताब्दी सम्म विस्तारित छ ।  (Jackson 1978, Ramble 1983)

रिम्पोक्ष पद्मसम्भवको मूलस्थान भएकाले भुटानस्तरभन्दा बढी मूल्यलाभ लिएर मुस्ताङ्गको पर्यटन प्रवद्र्धन गर्न सकिने प्रयाप्त आधार हामीसँग छ । अवलोकितेश्वरको पूजा गरिने मुक्तिनाथले समन्वयात्मक अध्यात्मको नमुना प्रदर्शन भएको छ । चुमिङ्गघ्यात्सा र फाक्पात्याङ्ग्रेसी भनौ वा श्रीमुक्तिनाथका १०८ धारा भनौ, सालामेवार र डोलामेवार भनौ वा ज्वालामाई, देवता उनैहुन् । समन्वयात्मक अध्यात्मको उत्कृष्ट उदाहरण श्रीमुक्तिनाथ लाई लिन सकिन्छ ।

१३) जर्मन वैज्ञानिक कोह्लवोन जोसेफको अनुसन्धानात्मक लेख पछि विश्वका धेरै वैज्ञानिकको ध्यान कृष्णागण्डकी प्रस्रवणमा भयो तर अन्य धर्म प्रचारकलाई नेपाल प्रवेशमा लगाएको रोकको कारणले   राणाशासन कालसम्म उनीहरूले मुक्तिक्षेत्रको अध्ययन अनुसन्धान गर्न सकेनन् । सात सालको राजनीतिक परिवर्तनपछि उनीहरूको प्रवेश सहज भयो र १९६०को दशकमा टोनी हेगन लगायतका धेरै वैज्ञानिकहरूले नेपालको भौगोलिक अध्ययन अनुसन्धान गरेर फुटकर अनुसन्धान लेख विभिन्न जर्नलहरूमा प्रकाशन गर्न लागे । उनीहरूको लामो प्रयास पछि मात्र १९८५ देखि २००० सम्म जर्मन, फ्रान्स, इटली, क्यानडा, चिन, जापान तथा भारतका भूगर्वशास्त्रीहरूले मुक्तिक्षेत्रको सघन अनुसन्धान गरेर पुस्तक प्रकाशन गर्न लागे । (Gradstein et al, 1989, Garzione et al, 2000)

त्यसपछि नेपाली भूगर्व वैज्ञानिकहरूले पनि मुक्तिक्षेत्रको भूगर्भको अध्ययन गर्दा शालिग्रामलाई महत्वपूर्ण सूचनाको आधार बनाए तर शालिग्रामसंग जोडिएको साँस्कृतिक पक्षलाई समायोजन गर्ने  सन्दर्भग्रन्थ पाउन सकेनन् । कृष्णागण्डकी प्रस्रवणको रामनदीधाम पछि देवघाटसम्म नदीको वेग कम हुनाको साथै नागवेली आकार भएकाले नदीको वेगसंगै वगेर आएका शालिग्राम क्रमशः थुप्रदै जान्छन् । असर्दीदेखि कोटथरसम्म नदीमा भन्दा पाखामा धेरै शालिग्राम पाईन्छ ।  (Chalise, 2016)

नारायणीको प्रवाह क्षेत्रभन्दा बाहिर माडीको दक्षिण सोमेश्वर पहाडको फेदीमा प्रयाप्त शालिग्राम पाइन्छ । तिनले नारायणीको प्राचीन मार्ग भएको संकेत गर्छन् । त्रिवेणीको वगरमा पनि प्रयाप्त शालिग्राम पाइन्छ । यसको अर्थ, भैसालोटनको बाँध बन्नुपूर्व शालिग्रामको प्रवाह हरि क्षेत्रसम्म पुगेको हुनुपर्छ । जहाँसम्म शालिग्रामको प्रवाह भयो, त्यहासम्म नेपालको सीमा विस्तार भएको थियो । आजसम्म कृष्णागण्डकीको शिरभागमा केन्द्रित भएको भूगर्व अनुसन्धानलाई रामपुर उपत्यका, माडीक्षेत्र, त्रिवेणीक्षेत्रको अतिरिक्त हरिक्षेत्रमा विस्तार गर्न सकेमा भूगर्भ विज्ञानको क्षेत्रमा नयाँ सूचना प्राप्त भएर चितवन उपत्यकाको उत्पत्ति संगै शास्त्रमा उल्लेखित गजग्राह युद्धलाई नयाँ दृष्टान्त सहित व्याख्या हुने सम्भावना देखिएको छ । 

१४) जैन शास्त्रमा नाभिराजा, ऋषभदेव र चक्रवर्ती भरतको नाम युगान्तकारी सम्राटको रूपमा लिइन्छ । ऋषभका एकसय दुई सन्तानमध्ये ब्राह्मीको नाममा लिपिको विकास भएर लेखनसँस्कृतिको प्रारम्भ भएको हो । उनलाई ब्रह्माकी छोरी सरस्वती पनि भनिन्छ । जैन महापुराण भाग एकमा (सन् २००७) ऋषभदेवलाई ब्रह्मा भनेर प्रमाणीकरण गर्ने धेरै दृष्टान्त दिइएको छ । 

देवघाट तीर्थमाहात्म्यमा नलराज शास्त्रीले कृष्णागण्डकीलाई ठाँउ ठाँउमा ब्राह्मी गण्डकी भनेर पद्मपुराण र वराहपुराणको दृष्टान्त दिनु भएको छ (शास्त्री, २०६६)। नारायण क्षेत्रीले मुस्ताङ्ग दिग्दर्शनमा पुलह र पुलत्स्य तपोक्षेत्रको बीचबाट वग्ने सानो नदीलाई ब्रह्मपुत्री (ब्राह्मी) उल्लेख गर्नुभयो (क्षेत्री, २०४४) । स्थानीय जनतासँग छलफल गर्दा पुलह आश्रमको निकट कृष्ण गण्डकीमा समाहित हुने अर्काे नदीमा रहुगंङ्गा हुनुपर्ने आकलन भयो ।

गलेश्वर बाबाको प्रयासमा रहुगङ्गां दोभानमा रहेको सानो कुण्डलाई सरस्वती कुण्ड मानेर गायत्री मन्दिरको स्थापना भएकोछ । हिमवत खण्ड पुराण अनुसार दामोदर हिमालको पूर्व पानी ढलोबाट वग्ने बुढीगण्डकीको जलदेवीलाई ब्राह्मी भनियो । उपरोक्त सवै दृष्टान्तलाई प्रमाणीकरण गर्ने आधार शालिग्राम हुन् । राजानाभिको नाम पनि नाभिचक्र जस्ता शालिग्राम चक्रसंग सम्बन्धित भएकाले जैन तीर्थंकरहरूको मूलस्थानमा पुलहआश्रम प्रमाणीकरण मात्र नभई श्रुति स्मृतिमा सीमित वेदपुराण लेख्ने प्रारम्भ कृष्णगण्डकी प्रस्रवणबाट भएको भन्नेआधार तयार हुन्छ । यो तर्कलाई जैन महासभाले समर्थन नगरेसम्म लोकले मान्यता दिदैन । त्यसैले जैन सम्मेलनको आयोजना गरेर यो कार्यको औपचारिक थालनी गर्न आवस्यक छ ।

१५) प्राय हरेक धर्मसम्प्रदायका शास्त्रहरू गूढ रहस्यले भरिएको हुन्छ । त्यसैको वलमा शास्त्रहरू कालजयी हुन्छन् । तिनमा “शतकोटिप्रविस्तरम्” जस्ता शब्द प्रयोग भएको हुन्छ । अर्थात अनेक वाक्यहरू प्रयोग गर्दा पनि शास्त्रको व्याख्या पूर्ण हुदैनन् । “æPicture speak louder than words” भनेजस्तै गुम्बामा बनाइएका चित्रहरूले यही भाव बोकेका हुन्छन् । त्यस्ता चित्रको व्याख्या गर्न हजार शब्द पनि प्रयाप्त हुदैनन् । अर्काे तर्फ शब्दमा भाषा प्रदूषणको प्रवेश हुनसक्छ । तर गुम्बाको भित्तामा चित्रित शास्त्रमा त्यस्तो प्रदूषणको जोखिम कम हुन्छ । त्यसमाथि गुम्बाचित्र बनाउन विशेष पदार्थको प्रयोग हुन्छ । त्यसैले त्यस्ता गुम्बाचित्र हजारौवर्ष पनि उस्तै हुन्छन् । विशेष प्रशिक्षण प्राप्त लामाले मात्र त्यस्तो चित्र कोर्न सक्छन् । 

त्यस्तो चित्रको पात्र अनुसार व्याख्या गर्ने क्षमता र अधिकार पनि लामालाई मात्र प्राप्त हुन्छ । तीनवर्ष, तीन महिना, तीन दिन वा सोभन्दा बढी समय सघन साधना गरेका लामाले मात्र त्यस्ता चित्रहरूको सविस्तार व्याख्या गर्न सक्छन् । मुस्ताङ्गमा गुरु पद्मसम्भवको मार्गमा धेरै प्राचीन गुम्बाहरू छन् । मुस्ताङ्गको गुम्बा निर्माण नहुँदा तिब्बतका गुम्बा बन्न नसकेको किम्बदन्ती अहिले पनि जनजनको विश्वासमा छ । त्यहाँका गुम्बाचित्र गुरु पद्मसम्भवको सघन निर्देशनमा लद्दाख तथा हुम्लाका लामाहरूले कोरेका विश्वास गरिन्छ । त्यसैले त्यहाँका गुम्बाचित्रको अध्ययन गर्न धेरै विदेशीहरू महिनौ महिना विताउँछन् । तिनीहरू गुम्बाचित्रभन्दा धेरै गुम्बाशास्त्र हुन् । तिनीहरूले विश्व सम्पदामा सूचिकृत हुने सामथ्र्य राख्छन् ।

१६) मुस्ताङ्गका गुफामा बनेका गुम्बा र गुफाभित्रको वस्ती प्राचीन सभ्यताको अर्काे नमुना उदाहरण हुन् । त्यहाँका गुम्बा, छोर्तेन, मानेका अतिरिक्त गुफाहरू पनि विश्वसम्पदामा सूचिकृत हुने क्षमता राख्छन् । यस कार्यको पहल सन् २००८ बाट नै सुरु भएको भए तापनि हाम्रो आप्mनै ढिलासुस्तीले हालसम्म सम्पन्न हुन सकेको छैन ।  पुरातात्विक महत्वका उक्त सम्पदाहरू उपर धारावाहिक अनुसन्धान भएका छन् । आजपनि मुस्ताङ्ग भ्रमणमा जाने धेरै पश्चिमा पर्यटकहरूको लुप्त उद्देश्य त्यहाँका सम्पदा र जनजीवनको अनुसन्धान रहेको हुन्छ । कत्तिले त्यस्तो अनुसन्धानमा राजनीतिक षडयन्त्र आँकलन गरेका पनि हुनसक्छन् । 

विभिन्न राजदूतावासहरूले गुफा उत्खनन र प्राचीन गुम्बा जीर्णोद्धारमा देखाएको चाखले त्यस्तो अनुमान गर्न प्रेरित गरेको हुनसक्छ । तर त्यस्तो अनुसन्धानमा शैक्षिक उन्नयन तथा व्यक्तिगत चाख नै वढी हुनुपर्छ । सम्पत्ति सुद्धीकरण र पारदर्शिताको कारणले गर्दा शिक्षण सस्था तथा निजीक्षेत्रको लगानी नियमन गर्न पनि राजदूतावासको संलग्नता हुनु अनिवार्य जस्तै हुन्छ । त्यसैले गुम्बा जीर्णाेद्धारमा वा थप आवश्यक संरचना निर्माणमा अमुक राजदूतावासको संलग्नता हुँदैमा राजनीतिक दृष्टिकोण राख्नु उचित हुदैन । त्यस्ता समस्याको समाधान कुटनैतिक वार्ताबाट नै पारदर्शी बनाउन सकिन्छ । राजनीतिक सङ्कीर्णताको कारणले कृष्णगण्डकी क्षेत्रमा जनता जनता वा समुदाय समुदाय स्तरको सहकार्यलाई निरुत्साहित गर्न हुदैन ।

१७) वागलुङ्ग, पर्वत, स्याङ्गजा, तनहँु तथा नवलपुरको कृष्णागण्डकी प्रस्रवणमा ऐतिहाँसिक चौतारी, आपका वगैचा र पानीको कुवा अनुसार स्थान विशेषको नामाकरण भएको अहिले पनि देख्न सकिन्छ । खानेपानीको विकल्प पश्चात् कुवाहरू हराएका छन् भने बाटो निर्माणको क्रममा धेरै चौतारी नष्ट भएको पनि छ । पुराना वगैचामा सार्वजनिक भवन तथा विद्यालय बनेर आकारमा सानो भएको पनि पाइएको छ । मालुङ्गामा निर्माणाधीन अस्पताल यसको पछिल्लो उदाहरण हो । कुवा, चौतारी तथा वगैचाहरू पुण्यलाभको लक्ष्यमा स्थापना भएका भएपनि पद्मपुराणका सन्देश अध्ययन गर्दा जलवायु अनुकूलनमा जनताको स्वलगानी प्रेरित गर्न विज्ञान पक्षलाई लुप्त राखेर पाप र पुण्यको दृष्टान्त दिईएको पाइन्छ । जलवायु परिवर्तन तथा अनुकूलन हाल विश्वको चासोको विषय भएको र हामीले विभिन्न सम्मेलनमा यो विषयलाई प्राथमिकताको साथमा उठाएका छौ । तर हामीले यस क्षेत्रमा स्वलगानी कति गरेका छौ भनेर दावी गर्न सकेका छैनौ । 

पुराना चौतारी र आँपका वगैचाको अभिलेख अध्यावधिक गरेर मूल्याङ्कन गरेको छ । उक्त सम्मेलनहरूमा हामीले चारपाँच सय वर्ष अगाडिदेखि नै स्वलगानी गरेको प्रमाण प्रस्तुत गर्न सक्ने थियौ । गण्डकी माहात्म्यम् ४ः५९ मा उल्लेखित “दानं देवालयं रामपुरे वृक्षवाटिकाम्” जस्ता शास्त्रवचनको आधारमा हामी सत्रौ शताब्दी अगाडिदेखि नै जलवायु परिवर्तन तथा अनुकूलनमा सचेत रहेको दावी गर्न सक्थ्यौ । धेरै चौतारी र वगैचा नष्ट हुदापनि गण्डकी प्रस्रवणमा अझैपनि पुराना चौतारी र वगैचा बाँकी छन् । प्रदेश तथा स्थानीय सरकारले पहल गरेमा अहिले पनि जनताहरू चौतारी तथा वगैचामा लगानी गर्न तत्पर देखिन्छन् । यो कार्य गर्दा हामीले जलवायु परिवर्तनका अन्तराष्ट्रिय सम्मेलनहरूमा सगौरव तथ्य प्रस्तुत गर्न सक्ने थियौ । जनस्तरमा यो सिद्धान्तको प्रयोग सुरु भएको छ । तीनतहका सरकारहरूले यो सिद्धान्तलाई आत्मसाथ गरेमा नतिजामूलक परिणाम देखाउन सकिन्छ ।

१८) जलप्रवाह होस् वा नहोस्, परम्परादेखि प्रयोग भएको घाटमा नै शवदाह गर्ने प्रचलन हाम्रो समाजमा विद्यमान छ । सम्पन्न परिवारले जहाँसुकै बसाँई सरेको भएपनि अन्तिमकर्म आफ्नै पुख्र्याैलीघाटमा गर्ने चलन पनि देखियो । शवको अग्निसंस्कार पछि खरानी र शवयात्रामा प्रयोग भएको सामाग्री गण्डकीमा नै विसर्जन गर्ने प्रचलन छ । विद्युत उत्पादनको निमित्त गण्डकी पन्थान्तरण भएको स्थानमा त्यस्तो खरानी वगाउने पानी नभएको पनि सुनियो । यो समस्या मिर्मीवाँध देखि रुद्रवेणीसम्म प्रत्यक्ष देख्न सकिन्छ । विशेष गरेर हिउदयाममा कालीगण्डकी ए परियोजनाले सवैपानी विद्युतगृहतिर पठाउदा हिलेवगर तर्फ फाट्टफुट्ट पोखरी मात्र देखिन्छ । त्यस्तो पोखरीमा दाहसस्कार गर्दा खरानी र शवयात्रामा प्रयोग भएका सामाग्री त्यत्तिकै छोडन जनता बाध्य भएकाछन् । त्यसरी जम्मा हुने फोहोर र खरानी एकैचोटी वर्षाको पानीले वगाउदा गण्डकी अपेक्षा गरेको भन्दा धेरै फोहोर देखिन्छ ।
गण्डकीको त्यत्ति छोटो दूरीमा त यो समस्या छ भने प्रस्तावित काली तिनाउ बहुउद्देश्य पन्थान्तरण परियोजनाले राम्दी देखी देवघाटसम्मको झण्डै १३० कि.मि जलमार्ग सुख्खा बनाउदा अवस्था कस्तो होला ? कृष्णागण्डकीको न्यूनतम वहाव ४६ क्युसेक टिपोट भएको छ (Suwal et al 2020 । परियोजनाको पूर्व सम्भाव्यता अध्ययनमा समेत ५१ क्युसेक लेखिएको छ । नौ मिटर व्यासको पन्थान्तरण सुरुङ्गबाट ९१ क्युसेक पानी लाने संरचना परियोजनाले डिजाइन गरेको छ (DWRI, 2021) । 

परियोजनाले औसत मासिक न्यूनतम वहावको आधारमा डिजाइन गरेकोले सुख्खा मौसममा परियोजनाले पानी छाडन सक्दैन । त्यसले मालुङ्गा उत्तरवाहिनी देखि देवघाटसम्म लगभग कमिला हिडने अवस्था आउछ । त्यस बीचमा धेरै घाटहरू छन् । गण्डकीको पन्थान्तरण हुँदा त्यहाँको खरानी तथा शवयात्रामा प्रयोग भएका सामाग्री व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता हुन्छ । ज्याग्दी समेतका अन्य नदीको वहाव सय कि.मि. मार्गमा सोसिन सक्छ भने देवघाट पुग्दा कृष्णागण्डकी लगभग सुख्खा हुन्छ ।

शव दाहसंस्कारको निमित्त प्राथमिकतामा परेका नदीमा अन्य नदीको निमित्त हिसाव गरेको १० प्रतिशत पानी छोडने प्रावधान प्रयाप्त हुदैन । “नदी वगेन शुद्ध्यति” भन्ने मान्यता बोकेको समाजले शवदाहसंस्कारको निमित्त वगेको नदी खोज्छ । परियोजनाले देवघाटलाई मात्र तीर्थस्थल देखेको छ, राम्दीदेखि देवघाटसम्मका २७ वटा उत्तरबाहिनी घाटहरू देखेको छैन, प्रख्यात हुँदै गएका घुमारीघाट, केलादीघाट, खोरियाघाट, रामघाट, बालीघाट, आँधीघाट, हुँगीघाट, असर्दीघाट कुनैलाई देखेन । गण्डकीवेसीमा कृष्णागण्डकी नागवेली भएर पूर्व वगेको हुँदा जमिनमा धेरै पानी सोसिन्छ । 

नदीमा ५० क्युसेक भन्दा कम पानी वग्दा प्रतिकुल असर देखा पर्न सुरु हुन्छ । त्यसले रामदीदेखि तलका करिव एकलाख हेक्टर भूभाग पूर्ण प्रभावित हुन्छ । रामदी भन्दा माथीका पन्थान्तरणमा पनि समस्या त्यही हुन्छ । तर छोटो दुरी पछि विद्युत गृहको पानी पून कृष्णागण्डकीमा मिस्सिने हुदा प्रभाव कम हुन्छ । जे होस्,कृष्ण गण्डकी शवदाह संस्कारको प्राथमिकतामा परेको पवित्र नदी भएकोले तीर्थाटन तथा दाह संस्कारलाई समुचित व्यवस्थापन गर्न प्रयाप्त वहाव कायम रहने गरेर मात्र विद्युत उत्पादनको निमित्त पन्थान्तरण गर्न उपयुक्त हुन्छ ।

निष्कर्षः
माथि प्रस्तुत तत्थ्य प्रमाणको आधारमा श्रीकृष्णागण्डकीलाई प्रदेशको पहिचान बोकेको सम्पदानदी प्रमाणित गर्छ । त्यसैले पर्यटकीय लाभको निमित्त निम्न अनुसार सिफारिस गरिन्छ ।

  • गण्डकी प्रदेशको पर्यटकीय ब्राण्ड योजना तर्जुमा गर्दा शालिग्राम र मुक्तिक्षेत्रलाई केन्द्रमाराखेर बनाउनु पर्छ । 
  • यो नदीलाई सम्पदा नदीमा (ज्भचष्तबनभ च्ष्खभच) सूचिकरण गर्नुपर्छ ।
  • अन्य नदी व्यवस्थापन गर्न बनेका कानुनहरू यो नदीको व्यवस्थापनमा प्रयाप्त हुदैन । यसको निमित्त छुट्टै कानुनको निर्माण गर्नु पर्छ ।

कुलराज चालिसे (पिएचडी)

(यो कार्यपत्र गण्डकी प्रदेश सरकारले गठन गरेको श्रीकृष्णगण्डकी प्रस्रवण विकास, पूर्वसम्भाव्यता अध्ययन कार्यदलमा सम्पदानदीको योग्यता सम्बन्धी बुँदाको प्रमुख अंशहरू समेटेर तयार गरीएको हो । )

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।