ताजा अपडेट »

आजदेखि देशब्यापी दादुरा-रुवेला विरुद्धको खोप अभियान

आइतबार, १३ फागुन २०८०, ०७ : २३
56 Shares

बुटवल । आजदेखि दादुरा-रुवेलाको खोप देशब्यापी रूपमा लगाइँदैछ । जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा फागुन १३ देखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागेको हो । सन् २०२३ मा दादुरा-रुवेलाको संक्रमणलाई निर्मुल पार्ने प्रतिबद्धता गरिएको भए पनि कोभिड महामारीका कारण धेरै वालवालिका यो खोपबाट छुटेकाले पुरा हुन सकेन ।

सरकारले सन् २०२६ सम्ममा दादुरा–रुवेला नेपालमा निवारण गर्ने लक्ष्य राखेको छ । गत बर्ष १ हजार ३ सय ३९ जनामा यो संक्रमण देखा परेको थियो । संक्रमितमध्ये केहीको मृत्यु पनि भएको थियो । यस बर्ष अभियानको रुपमा नेपाल भरि ९ महिनादेखि १५ बर्ष उमेर समूहका ५७ लाख ४२ हजार ९ सय ५३ जनामा दादुरा–रुबेलाको खोप अभियान सरकारले संचालन गरेको छ । 

रुपन्देहीमा ३ लाख भन्दा धेरै बालवालिकालाई दादुरा–रुबेलाको खोप लगाउने तयारी गरिएको छ ।    एक हजार एक सय खोप केन्द्र मार्फत दुईचरणमा गरेर खोप लगाइँदै छ । खोेप लगाउनका लागि २ हजार २ सय जना स्वास्थ्यकर्मी र ३ हजार ३ सय जना स्वयंसेवक परिचालन गरिने स्वास्थ्य कार्यालय, रुपन्देहीले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, रुपन्देहीमा ९ महिनादेखि १५ बर्ष उमेर पुरा गरेका ३ लाख १४ हजार ७ सय ३८ जना बालवालिकालाई आउँदो फागुन १३ देखि २४ गतेसम्ममा उक्त खोप लगाउने तयारी गरिएको हो ।

१६ वटा पालिका रहेको रुपन्देहीमा प्रथम चरणमा फागुन १३ देखि १७ गतेसम्म बुटवल उपमहानगरपालिका, देवदह नगरपालिका, तिलोत्तमा, लुमिबनी सांस्कृतिक, सिद्धार्थनगर नगरपालिका, ओमसतिया गाउँपालिका, रोहिणी, सियारी र शुद्धोधन गाउँपालिकामा खोप लगाउने तयारी गरिएको छ । दोस्रो चरणमा फागुन २० देखि २४ गतेसम्म सैनामैना नपा, गैडहवा गापा, कंचन गापा, सम्मरीमाई गापा, मर्चवारी गापा, कोटहीमाइ र मायादेवी गाउँपालिकामा लगाइने छ । स्वास्थ्य कार्यालयका अनुसार, रुपन्देहीमा ३४ हजार ९ सय ३६ वटा खोपको भायल र ३ लाख ९१ हजार ५ सय ४ वटा सिरीन्जको प्रयोग हुने छ ।

न्युनतम २ सय ५० जनासम्म बालवालिका आध्ययनरत संस्थागत तथा सामुदायिक बिद्यालयलाई खोपकेन्द्र बनाइएको छ । बिद्यालयबाट बञ्चित रहेका तथा हुन सक्ने सम्भावना रहेका मजदुरको बस्ती र बिद्यालयदेखि टाढाका बस्तीका वालवालिकालाई पनि खोप नछुटाउने गरि व्यवस्था मिलाइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।