ताजा अपडेट »

चिसो अत्याधिक बढेपछि रुपन्देहीका विद्यालयहरुमा विदा

आइतबार, ०७ माघ २०८०, ०८ : ३६
1.94K Shares
आइतबार, ०७ माघ २०८०
1.94K Shares

बुटवल । पछिल्लो केही दिनयता तराइमा हुस्सु र कुहिरोसँगै चिसो बढेपछि रुपन्देहीका स्थानीय सकारले विद्यालयमा सार्वजनिक विदाको आह्वान गरेका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। साथै, देशको तराईका धेरै स्थानहरुमा हुस्सु र केहि स्थानहरुमा कुहिरो लागेको छ।

अत्याधिक चिसो बढेपछि बुटवल उपमहानगरले आजदेखि माघ ९ गतेसम्म विद्यालय विदा आह्वान गरेको छ भने तिलोत्तमा नगरपालिकाले माघ १० गतेसम्म सार्वजनिक विदा आह्वान गरेको छ । यसैगरी सिद्धार्थनगरनगरपालिका लगायतका अन्य पालिकाहरुले पनि सार्वजनिक विदा आह्वान गरेका छन् । चिसो अत्याधिक बढेका कारण बालबालिकाहरु तथा वृद्धवृद्धाहरुलाई सकेसम्म घर बाहिर ननिस्कन चिकित्सकहरुले सल्लाह दिएका छन् । सकेसम्म उनीहरुलाई न्यायो ठाउँमा बस्नुपर्ने बताइएको छ । यसैगरी अन्य उमेर समूहका व्यक्तिहरुले समेत न्यानो र बाक्लो कपडा लगाएर बाहिर निस्कन चिकित्सकहरुको सल्लाह छ ।

साथै मौसम पूर्वानुमान महाशाखाले तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने  हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो देशको पहाडी भू-भागमा समेत आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी,  गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राती भने कोशी, बाग्मती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।