ताजा अपडेट »

सुकमाया : समाजसेवा र राजनीति !

विहीबार, २६ पुस २०८०, २१ : ०४
0.92K Shares

सुकमाया विकको माइतीघर पाल्पा, तिनाउको पाटन गाउँमा छ । समुद्री सतहदेखि एक हजार दुई सय मीटर उचाइँमा रहेको उक्त गाउँबाट हिउँदयाममा नाङ्गा आँखाले भैरहवा, सुनौलीसम्म देख्न सकिन्छ । बुढापाकाहरु भन्छन्–तुँवालो नलाग्दा पहिलापहिला त नौतनहवामा रेल पुत्ताएको देखिन्थ्यो ! हिमाल छ्वाक्कै देखिन्थे ।

वातावरण प्रदूषित हुन थालेपछि तुँवालो लाग्ने, हुस्सु बढी लागेर टाढाटाढासम्म देखिन गाह्रो हुँदोरहेछ । त्यतिमात्र होइन, पाटन गाउँमा रैथाने काँक्रा उत्पादन हुन छाडेका छन् । स्थानीय पाका पुराना हस्तवीर अर्घालीका अनुसार गाउँमा गाडी आयो । गाडीको धूँवाले गर्दा काँक्रा फल्न छाडे । त्यसो किन भयो होला, अनेक प्रश्न उब्जिन सक्छन् । जलवायु परिवर्तनले उत्पादनमा असर गरेको हुनुपर्छ । वातावरणमा आएका परिवर्तनले उत्पादन, स्वास्थ्य र रहनसहनमा निकै समस्या देखिन थालेका छन् ।

प्रसङ्ग सुकमायाकै हो । उनले गाउँमै बसेर स्थानीय पाटन आधारभूत विद्यालयबाट कक्षा पाँचसम्म पढिन् । त्यसपछि, साविकको ठिमुरे गाविसमा रहेको नारायण माविबाट प्रथम श्रेणीमा २०६९ सालमा एसएलसी उत्तीर्ण गरिन् । गाउँबाट दुईघण्टा पैदल हिँडेर पुगिने उनको स्कूल ढुस्टुङ्ग गाउँमा अहिले पनि छ । एकैछिनमा हुस्सु आउने र तुँवालोले ढाक्ने उक्त गाउँ मनोरम छ । रहर लाग्दो छ । पर्यटकीय गाउँ हो । अहिले यो गाउँ, रिब्दिकोट गाउँपालिकामा पर्छ ।

सुकमायाका आमा देवकुमारी र बाबा युवराज निरक्षर हुन् तर, आफ्ना पाँचजना छोराछोरीलाई भने शिक्षित बनाउन कुनै कसूर राखेनन् । सुकमायाले रिब्दिकोट, बतासेमा रहेको कालिका माविबाट अंग्रेजी मूल विषय लिई  प्रथम श्रेणीमा कक्षा ११ र १२ उत्तीर्ण गरिन् । पढाईप्रतिको लगाव उच्च हुँदाहुँदै नौ वर्षअघि रैनादेवी छहरा वडा नं. ७ बल्ढेङगढी, लौधुवापानीका कृष्ण विकसँग मागी विहे गरिन् । यतिबेला उनका श्रीमान् कृष्ण दाङतिर सहायक हवल्दार छन् । ठूली छोरी विनिता र कान्छी छोरी विविषा स्कूलमा पढ्दैछन् ।

सुकमाया विकले २०७४ सालमा रैनादेवी–छहराको वडा नं. ७ बाट वडा सदस्यमा चुनाव जितिन् । २०७९ मा चुनाव जितेर कार्यपालिका सदस्य भएकी छन् । ३० वर्षीया सुकमायाले शिक्षण लाइसेन्स पनि लिएकी छन् । भविष्यमा राजनीति, सामाजिक सेवामा नै रमाउने सपना के हुने हो त्यसैको पिरलोमा छिन् । देशमा पुराना र ठूला पार्टीप्रति स्थानीय जनतामा पनि वितृष्णा आएको र भविष्यमा राजनीति परसम्म नपुग्ने हो कि भन्दैथिइन् । चुनाव, महँगो र खर्चिलो भएकोमा उनको गुनासो थियो ।

उनका दुवै भाइहरुले विहे गरे । कान्छी बहिनीले स्थानीय पाटन आधारभूत विद्यालयमा तीन कक्षामा र माइली बहिनीले विएड दोस्रो वर्षमा पढ्दैछिन् । सुकमायाले राजनीति, घरव्यवहार, सामाजिक सेवाका कारण आफ्नो पढाईलाई अघि बढाउन भ्याइनन् ।

सुकमाया भन्दैथिइन्–गाउँलेहरुका आकाङ्क्षा बढ्दो छ । सरकारका साधन, स्रोत सीमित छन् । गाउँमा जनसंख्या घट्दैछ । बसाइसराई गरी जानेहरु थुप्रै भए । विकास भने गाउँमा चाहिएकै छ । जनप्रतिनिधिहरुले सबै समस्या समाधान गर्न पनि गाह्रो छ । नेपालको  राजनीति पनि कस्तो हुने हो, कहाँ पुग्ने हो, ठम्याउनै गारो भो । सुकमायाको एउटा मनले घरिघरि सोच्दो रहेछ–शिक्षण लाइसेन्स पाएकी छु, उमेर अझै छ । जनप्रतिनिधिको कार्यकाल भ्याएर शिक्षक बनुँ कि ? समाजसेवा, राजनीति त पछि गरेपनि भइहाल्छ नि ! अर्को मनले सोच्दो रहेछ–गाउँपालिकाको उपाध्यक्ष भएर समाजसेवा गर्ने रहर ताजै छ  ।

सुकमायाजस्ता थुप्रै युवा, महिलाहरुलाई राजनीतिमा ल्याउनुपर्ने देखिन्छ तर आज युवाहरु राजनीति र नेतालाई सराप्दै देश छाडेर जाँदैछन् । समाधानका उपायहरु केके हुन सक्लान् ?  गाउँ रित्तिदै जाने, विकास गाउँमा समयमै कसरी गर्ने र गाउँका मानिसलाई गाउँमै कसरी रोक्ने होला ? यावत विषयमा डिस्कोर्ष चलाउन ढिला भइसक्यो ।

सुकमायाले नजिकबाट राजनीतिलाई बुझेकी छन् । समाज चिनेकी छन् । देशको अवस्था जानेकी छन् । तर, उनको बुझाइलाई बुझिदिने प्रदेश र संघीय सरकार मौन छ । फिल्डमा खटिने उनीजस्ता स्थानीय जनप्रतिनिधि जनताका गाली खान तयार छन् । गुनासो सुन्न आतुर छन् । धारेहात सहन तयार छन् । तैपनि जनताको माया, स्नेहलाई शीरोधार्य गर्दै अघि बढिरहेका छन् । सुकमायाका जनताप्रतिको आशा नसुकोस् । नसुकोस्, राजनीतिप्रतिको आस्था पनि । सुक्न दिनुहुँदैन समाजसेवाप्रतिको भाव र नसुकोस् समाजप्रतिको उत्तरदायित्ववोधको निरन्तरता ।

 

 

 

 

 

 

दलबहादुर गुरुङ
लेखकको बारेमा
दलबहादुर गुरुङ
स्तम्भकार