ताजा अपडेट »

दिवंगत अभिनेता सारुक ताम्राकारले न्याय पाउनुपर्छ : मोहन निरौला

विहीबार, ०७ भदौ २०८०, १६ : ५९
64 Shares
विहीबार, ०७ भदौ २०८०
64 Shares

काठमाडौं । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले दिवंगत अभिनेता सारुक ताम्राकारले न्याय पाउनुपर्ने बताएका छन् । उनले गत २१ असारमा रातोपुलस्थित आफ्नै निवासमा आत्महत्या गरेका अभिनेता सारुकले न्याय पाउनुपर्ने बताएका हुन् । 

बिहीबार काठमाडौँमा आयोजित सारुक अभिनित अन्तिम चलचित्र ‘ह्यासट्याग माया’को केही दृश्यलाई समेटेर तयार परिएको म्युजिक भिडियो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष निरौलाले भने, ‘म यो परिवारसँग जोडिएको चार दशक भइसक्यो । उहाँहरू सरुकलाई गुमाउदा जुन पिडामा हुनुहुन्छ त्यसलाई शब्दमा व्यक्त गर्न सकिँदैन । हामी पनि कलाकारसँग जोडिएको विषयलाई अनुसन्धान गरिरहनु भएका प्रहरीलाई छिटै टुंग्याउन र सत्य तथ्य बाहिर ल्याइदिन आग्रह गर्दछौँ ।’ उनले अनुसन्धानमा खटिएका प्रहरीलाई छिटै सत्यतथ्य सार्वजनिक गरिदिन आग्रह गरे । 

सोही कार्यक्रममा सारुककी आमा रुकमणिले पुत्र वियोगकै कारण पति सानु ताम्राकार अस्पताल भर्ना हुनुपरेको जानकारी गराइन् । उनले भनिन्,’सारुकलाई लिएर सामाजिक सञ्जाल र अन्यत्र विभिन्न अड्कलबाजी भइरहेकाले अनुसन्धानमा खटिएका प्रहरीलाई छिटै सत्यतथ्य सार्वजनिक गरिदिन समेत आग्रह गर्दछौँ । छोरा गुमाएकी छु, के कति कारणले उसले संसार छाड्नु पर्यो भन्ने जान्न पाउने अधिकार छ ।’ 

निर्माण कम्पनी रे भेञ्चर्सका अध्यक्ष तथा चलचित्र निर्देशक राजिव गुरुङले सारुकको अन्तिम इच्छा चलचित्र नै सार्वजनिक गरे पनि सो सम्भव नभएका कारण म्युजिक भिडियोको रुपमा सार्वजनिक गरिएको जानकारी दिए । 

कार्यक्रममा अभिनेता ताम्राकारको आमा रुकमणि ताम्राकार, नेपाल चलचित्र कलाकार संघको अध्यक्ष निरौला, अभिनेत्री सृष्टी श्रेष्ठ, अभिनेता मनिष श्रेष्ठ, निर्माता सरोज न्यौपाने र रोहित अधिकारी, निर्देशक सुदर्शन थापा लगायत उपस्थित थिए । 

अभिनेता ताम्राकारसँगै अभिनय शिक्षा लिएकी अभिनेत्री सृष्टी श्रेष्ठले पुराना सम्झनालाई स्मरण गर्दै भावुक भइन् । ‘सारुकसँग जोडिएका सम्झना आइरहेका छन् । हाम्रो समुहमा कसैलाई गाह्रो पर्दा सम्झाउने मान्छे यसरी हामीसँग विदा भयो भन्ने स्वीकार्न सकिरहेका छैनौँ । हाम्रो साथीले के–कति कारणले संसार छाड्यो भन्ने जान्न पाउनुपर्छ भन्ने हाम्रो माँग छ । र, हामी अनुसन्धान गरिरहनुभएकासँग आशावादी छौँ’, अभिनेत्री श्रेष्ठले भनिन् । 

चलचित्र ‘रानी’ बाट अभिनेताका रूपमा उदाएका अभिनेता ताम्राकारले ’मेरी मामू’, ’इन्टु मिन्टु लन्डनमा’ लगायतका चलचित्रमा अभिनय गरेका छन्  । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।