ताजा अपडेट »

२२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्याङदीले जित्यो

शनिबार, ११ चैत्र २०७९, १७ : ५९
2 Shares

बुटवल । २२ औं संस्करणको तिलोत्तमा गोल्ड कप मनाङ मर्स्याङ्दी क्लबले उचालेको छ । शनिबार भएको उपाधी भिडन्तमा सुरुदूरपश्चिम-११ लाई पराजित गर्दै मनाङले ११ लाख ११ हजार १११ नगद राशी हात पारेको छ ।

उप विजेता बनेको सुदुरपश्चिमले ५ लाख ५५ हजार ५५५ नगद राशी प्राप्त गरेको छ । मनाङले सुदूरपश्चिमलाई सडन डेथमा ४-३ गोल अन्तरले पराजित गरेको हो । खेलको निर्धारित समयमा दुबैतर्फबाट समान १-१ गोल भएपछि पेनाल्टी सुटआउटमा ढकेलिएको थियो । उक्त समयमा पनि बराबर गोल भएपछि सडन डेथमा पुगेको हो । पेनाल्टी सुटआउटमा मनाङका ४ खेलाडीले गोल गरे पनि जर्सी नम्बर २३ का अजित गुरुङको प्रहार बिममा लाग्दै बाहिरिएको थियो । यसैगरी सुदूरपश्चिम-१ का ४ खेलाडीले गोल गर्दा जर्सी नम्बर ११ का फागुराम थारुको प्रहारलाई मनाङका गोल रक्षक जियानाथ शेखले सहजै छेक्न सफल भए । पेनाल्टी सुटआउटमा समान ४-४ गोल भएपछि सडन डेथबाट विजेताको टुङ्गो लगाइएको थियो । सडन डेथमा मनाङले ४-३ गोल अन्तरले जित दर्ता गर्यो । सडन डेथमा जर्सी नम्बर १२ का दिपेन्द्र मलासीको प्रहार गोलपोष्ट भन्दा निकै माथिबाट बाहिरिएको थियो । 

यसअघि निर्धारित समयको खेलमा दोस्रो हाफमा मनाङका कोफी टिमोथी कोडोले ५९ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । मैदानमा प्रवेश गरेको केही मिनेटमै उत्कृष्ट खेल प्रदर्शन गरेका जर्सी नम्बर ८ का सैदजमोल डेवलश्नलको क्रसमा कोफीले गोल गरेका हुन् । एक गोलले पछि परेपछि दबाबमा रहेको सुदूरले आफूलाई उत्कृष्ट लयमा फर्काउँदै  ७१ औं मिनेटमा गोल बराबरीमा ल्याएको थियो । जर्सी नम्बर ११ का फागुराम थारुले गोल गरेका थिए ।

प्रतियोगितामा सुदूरपश्चिमका फागुराम चौधरी सर्वोत्कृष्ट खेलाडी बन्दै होन्डाको डियो स्कुटर प्राप्त गर्न सफल भए । उनले गोल्डकपमा सर्वाधिक ४ गोल गर्न सफल भएका थिए । यसैगरी विधागत तर्फ वेष्ट फर्वाडरको उपाधी समेत उनैले चुमे । उक्त उपाधीसँगै उनले नगद ३० हजार प्राप्त गरे । यसैगरी मनाङका जियानाथ शेख उकृष्ट गोल रक्षक, विसन गुरुङ उत्कृष्ट मिड फिल्डर, क्याप्टेन आशिष गुरुङ उत्कृष्ट डिफेन्डर तथा किरण श्रेष्ठ उकृष्ट कोच बन्दै जनही ३० हजार नगद पुरस्कार हात पारे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।