ताजा अपडेट »

अलविदा !

आइतबार, ०४ मंसिर २०७९, ०८ : १४
14 Shares

आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो, इन्द्रै विन्ती गरुन झुकेर पाउमा त्यो विन्ती मान्दैन !

मृत्युलाई न कसैले छेक्न सक्छ न कसैले टार्न सक्छ । कुन रुपमा आयो काल थाहा छैन, तर जे नहुनु थियो त्यही गराएर गयो । जुन घटनाले हामी स्तब्ध भएका छौं, अब त्यो स्तब्धतालाई तोडेर चुनौतीहरुलाई पार गर्नु पर्ने बाध्यतामा छौं हामी । ग्लोबल सञ्चार गृहद्वारा सञ्चालित ग्लोबल आवाज डटकमका सम्पादक एन.बी. कंडेललाई गुमाउनुपर्दा हाम्रो सिङ्गो ग्लोबल आवाज परिवार स्तब्ध र मर्माहत भएकाछौं ।

ग्लोबल आवाज डटकमको स्थापनाकालदेखिनै अहोरात्र खटेर संस्थालाई आजको यो अवस्थासम्म ल्याईपुर्याउने सम्पादक कंडेललाई २०७९/०८/०२ गतेकोे सवारी दुर्घटनामा गुमाउनु परेको अप्रिय खबर प्रकाशन गर्नुपर्दाको पीडा यहाँ लेखिएका शब्दहरुले पक्कै पनि पूर्ण व्याख्या गर्न सक्ने छैनन्। नेपालको आम सञ्चार जगतमा निष्कलंक यस अनलाइनका सम्पादक कंडेल निष्ठा र आदर्शका पर्याय मात्र हैन बौद्धिकताले हार मानेको पत्रकारिता जगतमा सदा उज्यालो छरिरहने दीप हुन । तिनै चम्किला तारा भौतिक रुपमा हामीबाट सदाका लागि अस्ताएर अब विगत भएका छन ।

निश्चय नै उनको भौतिक देह अब हमी बिच रहेन तर उनको चिन्तनको आलोकमा उनी सदा बाँचिरहनेनै छन, वर्तमानमा मात्रै नभएर दूर भविष्यसम्म पनि । उनकोे जीवन आलोचनात्मक चेतको प्रवर्द्धनमा बित्यो । जो कोहीलाई आफ्ना तार्किक र बौद्धिक प्रश्नले कायल पार्ने उनी केवल प्रश्न मात्रै गर्दैनथे, हरेक प्रश्नको उत्तर पनि दिनसक्ने सामथ्र्य राख्थे । जब हाम्रा लागि दार्शनिक वा सामाजिक समस्याको गुत्थी फुकाउने सकस पर्थ्यो, त्यो बेला हामीले सम्झिने नाम र ठेगाना थिए उनी । अब त्यो ठेगानाको भौतिक उपस्थिति हुने छैन । तर, उनले देखाएको चिन्तन र व्यवहारको फराकिलो बाटो भने लामो समयसम्मका लागि उज्यालै रहिरहनेछ । उनको सबैभन्दा ठूलो योगदान नै त्यही हो ।

ग्लोबल आवाज अनलाईनको स्थापनाकालदेखि नै सम्पादक रही लाखौं पाठकहरुलाई सत्य र निस्पक्ष समाचार पस्किने प्रिय पात्रको अप्रिय घटनासँगै हाम्रो अबको यात्राका बारेमा पनि प्रश्नहरु उब्जिएका छन । यस अनलाइनलाई अरुभन्दा फरक र लोकप्रिय बनाउन उनले खेलेका भूमिकाको कुनै मापन छैन र गर्न पनि सकिँदैन । उनकै नेतृत्वमा यस अनलाइनले हासिल गरेको उचाई उनको महाप्रस्थान पछि पनि घट्न दिने छैनौं, त्यही नै सच्चा श्रद्धाञ्जली रहने छ । ति सबै प्रश्नहरुलाई चिर्दै अघि बढ्नुपर्ने हाम्रो दायीत्व पनि हो ।

सधैव निर्भिकताकासाथ निस्पक्षता र सत्यका पक्षमा खरो रुपमा प्रस्तुत हुने सम्पादक कंडेलले देखेका सपना, विगतमा प्रस्तुत गरेका केही योजना र मार्गदर्शनहरुलाई आत्मसाथ गर्दै सम्पूर्ण पाठकहरुका सामू उही गती, उही निस्पक्षता, उही सत्यतथ्यका साथ प्रस्तुत हुनुपर्ने चुनौतीलाई पूरा गर्ने प्रतिवद्धता गर्दछौं । सम्पादक कंडेल यस भौतिक संसारबाट विदा हुदै गर्दा उनले पुर्याएका हरेक योगदान भने अविष्मरणीय रहनेनै छन । दुःखद घटनाबाट शोकाकुल परिवारजन, ग्लोबल आवाज परिवार, पाठक वर्ग लगायत सम्पूर्णमा समवेदनासहित भावपूर्ण श्रद्धाञ्जली । अलविदा !

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।