ताजा अपडेट »

काँग्रेस १४ औं महाधिवेशन : आज ६० जिल्लाका निर्वाचन क्षेत्रमा अधिवेशन

सोमबार, ०६ मंसिर २०७८, ०७ : ०२
6 Shares

काठमाण्डौं । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत ६० जिल्लामा प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन सोमबार आज सुरु हुँदैछ ।
काँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार निर्धारित कार्यतालिकाअनुसार ६० जिल्लाका १४८ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा अधिवेशन हुन लागेको हो ।

केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले १४ वटा जिल्लाको अधिवेशन सम्पन्न भइसकेको जानकारी दिँदै सोमबार ६० जिल्लाका १४८ वटा निर्वाचन क्षेत्रमा अधिवेशन हुने बताए । संयोजक यादवले भने, “१३ वटा जिल्लाको प्रतिनिधि सभा क्षेत्रस्तरीय अधिवेशन सम्पन्न भइसकेको छ । गोरखा र म्याग्दीको सम्पन्न भयो, सोलुखुम्बुको अधिवेशन शनिबार सम्पन्न भयो । जुम्लाको अधिवेशन पनि आइतबार भएको छ । बाँकी रहेका १४८ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा सोमबारबाट अधिवेशन सुरु हुँदैछ ।”वडा अधिवेशनबाट चुनिएका क्षेत्रीय प्रतिनिधिले प्रतिनिधि सभा निर्वाचन क्षेत्रको नेतृत्व चयनका लागि मतदान गर्ने छन् ।

प्रदेश सभाको परिणाम
नेपाली काँग्रेसको प्रदेश सभा निर्वाचन क्षेत्रको शुक्रबार सम्पन्न अधिवेशनबाट नेतृत्व चयनका लागि भएको मतदानको अन्तिम परिणाम आउने क्रम जारी छ । केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले ६० वटामध्ये ४६ जिल्लामा नेतृत्व चयनको प्रक्रिया पूरा भएको बताए । “शुक्रबार सम्पन्न प्रदेश सभा निर्वाचनको अन्तिम परिणाम आउने क्रम जारी छ, ४६ वटा जिल्लामा नेतृत्व चयन भइसकेको छ, सात–आठवटा जिल्लामा प्रदेश ‘क’ र ‘ख’मध्ये एउटाको परिणाम आएको छ, एउटाको मतगणना जारी छ, अन्य केही जिल्लामा मतगणना चलिरहेको छ”, सचिव श्रेष्ठले भने ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।