ताजा अपडेट »

राहदानी बनाउनेको लर्को, थप ३ लाख ५० हजार बढी जारी

सोमबार, १५ कार्तिक २०७८, ०९ : ११
2 Shares

काठमाण्डौं । राहदानी बनाउनेको भीड आइतबार हालसम्मकै उच्च बनेको छ । आइतबार पाँच हजार जनाले राहदानी बनाउनका लागि आवेदन भर्नका लागि टोकन लिएका थिए ।परराष्ट्र मन्त्रालयको प्रमुख अङ्गका रूपमा रहेको राहदानी विभागमा आइतबार झिसमिसे नहुँदै राहदानी बनाउनेको लाम सुरु भएको थियो । जुन बढ्दै गएर दिउँसो अनियन्त्रित भीडमा परिणत भएको थियो । जसका कारण विभागसँगै जोडिएको सडकमार्ग पटक–पटक अवरुद्ध हुुन पुगेको थियो ।

विभागका कर्मचारी कृष्णहरि घिमिरेले भने, “जागिर खाएको यत्रो वर्ष भयो तर राहदानी बनाउनेको भीड यसैपाला देखेको हो ।” अति भीडका कारण विभागका कर्मचारीलाई पनि व्यवस्थापन गर्न हम्मे–हम्मे परेको उनले बताए। अचाक्लीको भीडले तिहारको किनमेलका लागि पैदलमार्ग हिँड्ने यात्रुले पनि सास्ती खेप्नु परेको थियो । विभागले मङ्सिर महिनादेखि विद्युतीय राहदानीको परीक्षण वितरण सुरु गर्दै छ । त्यसपछि माघदेखि औपचारिक रूपबाट विद्युतीय राहदानी वितरण पनि सुरु गर्दै छ । त्यसैले पनि तत्कालका लागि पुरानो प्रकृति बोकेको मेसिन रिडेबल राहदानी नलिन विभागले बारम्बार अनुरोध गरिरहेको छ ।

तर, अचेल अमेरिका जानका लागि खुलेको डाइभर्सिटी भिसा (ई–डीभी) खुलेका कारण पनि राहदानी बनाउनेको भीड बढेको अनुमान कर्मचारी घिमिरे गर्नुहुन्छ । त्यो भिसा आवेदनका लागि गत सालदेखि राहदानी नम्बर अनिवार्य गरिएको छ । विगतका वर्षमा नागरिकता नम्बर वा अन्य परिचयपत्रका नम्बरले काम गथ्र्यो तर अहिले राहदानी नम्बर नै अनिवार्य गरेकाले राहदानी पहिल्यै बनाउनुपर्ने बाध्यता आवेदकलाई परेको छ । अर्को सातासम्म मात्र आवेदनको मिति रहेको हुनाले तिहारको मुखमा राहदानी बनाउनेको लर्को लागेको विभागका कर्मचारी बताउँछन् ।

विभागमा दैनिक आठ सयको हाराहारी मात्र राहदानी जारी गर्ने गरिन्छ । धेरै मानिस आएपछि अन्य दिनको टोकन पनि आइतबार नै बाँडिएको छ । टोकन लिएकाले सोअनुसार राहदानीका लागि भरेको आवेदन दर्तासहित राहदानी पाउने छन् । यस आर्थिक वर्षको गत सेप्टेम्बर महिनासम्म तीन लाख ४९ हजार १७५ वटा राहदानी जारी भएका छन् । नेपालमा एमआरपी जारी हुन सुरु गरेयता हालसम्म ६७ लाख ५९ हजार ९८३ थान राहदानी जारी भएका छन् । यसरी भीड बढ्दा पुरानो राहदानीको खपत ह्वात्तै बढेको छ । विद्युतीय राहदानी जारी हुँदासम्म केही थान राहदानी मौज्दात रहने अनुमान विगतमा गरिए पनि अब त्यो मुस्किल हुँदै गएको छ ।-गोरखापत्र अनलाइन

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।