ताजा अपडेट »

'सीप तथा तालिम बिना विदेशीँदा समस्यामा'

मंगलबार, २९ भदौ २०७८, १६ : ३२
14 Shares

बुटवल । सीप, तालिम तथा अनुभव बिना नै विदशीँदा समस्या उत्पन्न हुने गरेको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । उनीहरुले आफूसँग सीप नभई रोजगारको लागि बिदेशी मुलुकमा जाँदा श्रमिकले दुःख भोग्नु परेको उल्लेख गरे ।

मंगलबार सुरक्षित आप्रवाशनको लागि राष्ट्रिय सञ्जालले बुटवलमा आयोजना गरेको छलफल कार्यक्रममा वैदेशिक रोजगार बोर्डका सूचना अधिकारी दीनबन्धु सुवेदीले सीप सिकेर मात्रै विदेशीन आग्रह गरे । उनले वैदेशिक रोजगारसम्बन्धी चेतनामूलक कार्यक्रमहरु रेडियो, टेलिभिजन तथा पत्रपत्रिकाद्वारा नियमित रुपमा प्रचार, प्रसार गर्ने, गराउने गरिहेको बताए । उनले श्रमसम्बन्धी समस्याहरु ११४१ मा टिपाउन सकिने बताए ।

सुवेदीले वैदेशिक रोजगारीको लागि विदेशिएका र समस्यामा परी फर्किएकाहरुलाई आर्थिक सहायताको लागि स्थानीय तहबाटै निवेदन दिन पाउने बताए ।

कार्यक्रममा पूर्व मन्त्री तथा लुम्बिनी प्रदेश सदस्य भोजप्रसाद श्रेष्ठले मुलुकमा रोजगारीको सिर्जना नहुँदा नागरिकहरु विदेशीन बाध्य भएको बताए । उनले ज्ञान, अनुभव विनानै रोजगारीको लागि विदेशी मुलुक जाँदा नागरिकहरु समस्यामा पर्ने गरेको बताउँदै नागरिक सचेत नभएसम्म राष्ट्र कमजोरी हुने बताए ।

यस्तै, प्रदेश सभा सदस्य रमा अर्यालले वैदेशिक रोजगारको सम्बन्ध विभिन्न कानूनहरु निर्माण भएपनि कार्यावन्यन हुन नसकेको बताईन् । उनले राज्यले वैदेशिक रोजगारीमा जानेहरुको जीवन बिमा गरेर मात्रै जान पाउँने व्यवस्था मिलाए श्रमिकलाई राहत मिल्ने बताए ।

शुद्धोधन गाउँपालिकाका प्रवक्ता राजेन्द्र कंडेलले ज्ञानको कमीले विदेशिने नेपालीले दुःख पाउने गरेको बताए । उनले विदेशीन चाहाने युवाहरुलाई सीप तथा तालिक दिने व्यवस्था गर्दा पनि चासो नदेखिएको बताए । उनले युवाहरुलाई स्वरोजगार तर्फ उन्मुख गर्न तीनै तहका सरकार लाग्नुपर्ने बताए ।

यस्तै, कार्यक्रममा अन्य बक्ताहरुले नबुझिँ बाहिरी मुलुक जाँदा भाषा लगाएतका समस्याले दुःख भोग्नु परेको बताएका थिए । उनीहरुले ज्ञान, सीप नहुँदा १८ घण्टा बढी श्रम गर्नुपर्ने, खाना नपाउँने जस्ता पीडा भोग्नुपर्ने बताए । सुरक्षित आप्रवाशनको लागि राष्ट्रिय सञ्जालका अध्यक्ष अशोक रानाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन एडभाईजर निलाम्बर बडालले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।