ताजा अपडेट »

खुल्न थाले पर्यटकीय क्षेत्र

मंगलबार, २९ भदौ २०७८, १६ : ०९
10 Shares

चरीकोट । कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण बन्द रहेका दोलखाको पर्यटकीय क्षेत्र विस्तारै खुल्न थालेका छन् । कोरोनाबीच देशका धार्मिक, सांस्कृतिक र पर्यटकीय गन्तव्य खुल्न थालेसँगै यहाँको पर्यटकीय क्षेत्र पनि खुल्न थालेका हुन् । धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक स्थलका कारण वर्षैभरि चहलपहल हुने दोलखामा यतिबेला पर्यटकीय गतिविधि हुन थालेका छन् । कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्न थालेपछि गत वर्षको चैतदेखि बन्द रहेको यहाँका पर्यटकीय स्थल सुनसान देखिएको थियो । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले लागू गरेको बन्दाबन्दीका कारण जिल्लाको पर्यटकीय क्षेत्र पूर्ण रुपमा बन्द हुन पुगेको थियो । कोरोना भाइरस सङ्क्रमण न्यूून हुँदै गएको र स्थानीय प्रशासनद्वारा जारी गरिएको बन्दाबन्दी हटाएपछि यतिखेर दोलखामा चहलपहल सुरु हुन थालेको छ ।

जिल्लाको विभिन्न क्षेत्रमा पर्यटकीय गतिविधि बढ्न थालेको बताइएको छ । पर्यटकीयक्षेत्र विस्तारै खुल्न थालेका छन्, भने आन्तरिक पर्यटकको आवगमन सुरु हुन थालेको स्थानीयवासीको भनाइ छ । हिमाली जिल्ला दोलखा पर्यटनको ठूलो सम्भावना बोकेको जिल्ला हो । राजधानीबाट नजिकै र सहजै पुग्न सकिने तथा राम्रो पर्यटकीय क्षेत्र रहेको हुँदा यहाँ प्रायः सधैँजसो आन्तरिक पर्यटकको चहलपहल भइरहने गर्दछ । धार्मिक आस्थाका विभिन्न मठ–मन्दिर दोलखामा प्रशस्त मात्रामा रहेको हुँदा धार्मिक पर्यटकको रोजाइँमा दोलखा पर्ने गर्दछ ।

दोलखाको प्रसिद्ध मानिने भीमेश्वर मन्दिर बन्द रहेको करिब डेढ वर्षपछि आइतबारबाट खुल्ला गरिएको छ । कोरोना महामारीलाई लक्षित गरी नित्य पूजाबाहेक सर्वसाधारणका लागि पूजापाठ गर्न मन्दिर बन्द गरिएको थियो । आइतबारदेखि पूर्णरुपमा सर्वसाधारण तथा भक्तजनले भीमेश्वरको सिलामा दर्शन गरी पूजापाठ गर्न सकिने गरी मन्दिर खुल्ला गरिएको वडाध्यक्ष विराजमान श्रेष्ठले बताए ।

भीमेश्वरको सिलामा गत मङ्सिर ९ गते पसिना आएपछि मुलक र जनतालाई अनिष्ठ नहोस् भन्दै राष्ट्र प्रमुख र मन्दिर व्यवस्थापन समितिको तर्फबाट क्षमा पूजा गरी राष्ट्रपति कार्यालयमा प्रसाद पठाएपछि फेरि बन्द गरिएको थियो । भीमेश्वरको सिलामा पसिना आउँदा देशमा अनिष्ठ हुने धार्मिक विश्वास छ । त्यस्तै दोलखाको धार्मिक पर्याटकीय क्षेत्र कालिन्चोकमा पनि पर्यटकको चहलपहल सुरु भएको छ । तीन हजार ८४२ मिटरको उचाइमा रहेको कालिन्चोक भगवती मन्दिरमा दर्शन गर्न देशका विभिन्न ठाउँबाट भक्तजन आउने गर्दछन् । कोरोनाकै कारण सुनसान बनेको कालिन्चोक क्षेत्र विस्तारै खुल्न थालेको छ ।

कालिन्चोक भ्रमणमा समेत स्थानीय प्रशासनले भीडभाड बढेर कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्ने भन्दै बन्द गरेको थियो । दोलखा भ्रमणमा आउने तथा पर्यटकलाई लक्षित गरी कालिन्चोकमा निर्माण भएको केबुलकारसमेत सञ्चालनमा आएको छ । लामो समयदेखि पर्यटकको आवगमन नभएका कारण बन्द रहेको कालिन्चोक केबुलकार आइतबारबाट पूर्णरुपमा सञ्चालनमा आएको सो केबुलकारका निर्देशक अशोक शिवाकोटीले बताए ।

त्यस्तै दोलखाको पर्यटकीय क्षेत्र च्छोरोल्पा हिमताल, शैलुङ, जिरी, लामाबगर, चलचित्र नगरीलगायतका पर्यटकीय क्षेत्रमा चहलपहल बढन थालेको छ । अधिकांश विदेशी पर्यटकको रोजाइँमा पर्ने च्छोरोल्पा हिमतालमासमेत भ्रमण गर्न बन्द गरिएकोमा अहिले खुल्ला गरिएको छ । कारोनाका कारण पूर्णरुपमा बन्द जस्तै रहेको जिरीमा पनि विस्तारै चहलपहल सुरु भएको जिरी नगरपालिकाका प्रमुख टङ्क जिरेलले बताए ।

जिल्लाको पर्यटकीय क्षेत्र खुलेसँगै पर्यटकको चहलपहल बढ्न थालेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । दोलखामा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी करोडौंको लगानीमा सुविधा सम्पन्न होटल सञ्चालनमा छन् । सयांैको सङ्ख्यामा सञ्चालित त्यस्ता होटल कोरोनाका कारण पर्यटकको आवगमन बन्द भएपछि लगानीकर्ता चिन्तित बनेका थिए । लामो समयदेखि बन्द रहेको होटल विस्तारै सञ्चालनमा आएको र चहलपहल सुरु भएको होटल व्यवसायी शान्तकुमार जिरेलले बताउनुभयो । जिल्लाको कालिन्चोक क्षेत्रमा करोडौंको लागानीमा सञ्चालित होटल करिब डेढ वर्षदेखि बन्द अवस्थामा रहेको थियो । -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।