ताजा अपडेट »

बाढीपहिरोले १४ वटा सडक अवरुद्ध

सोमबार, १४ भदौ २०७८, ११ : ५२
8 Shares

काठमाडौँ । केही दिनयताको लगातार वर्षासँगै आएको बाढीपहिरोले १४ वटा सडक अवरुद्ध भएका छन् । सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले अवरुद्ध भएका १४ ठाउँमा सञ्चालनका लागि तीव्र रूपमा प्रयास भइरहेको जानकारी दिए ।

महानिर्देशक थापाले के कति कारणले अवरुद्ध भएको हो, सोको आधारमा सडक सञ्चालनमा ल्याउने समय लाग्ने गरेको जानकारी दिए । सामान्य पहिरो गई अवरुद्ध भएका सडक छिट्टै सञ्चालनमा ल्याउने काम भइरहेको छ । सडक विभागले मुलुकभरका लोडर, एस्काभेटर, डोजर, ट्रान्सपोर्ट ट्रक, क्रेन, क्रेनट्रक, ट्रकलगायतका २०५ वटा हेभी इक्विपमेन्टमार्फत राजमार्ग र सडकको अवरोध हटाउने काम गरिरहेको महानिर्देशक थापाले जानकारी दिए । उनले भने, “यसका अतिरिक्त इटहरी, जनकपुर, हेटौँडा, काठमाडौँ, पोखरा, बुटवल, नेपालगञ्ज र गोदावरीको हेभी इक्विपमेन्ट डिभिजनहरूमा तयारी अवस्थामा राखिएका छन् ।”

तयारी अवस्थामा राखिएका इक्विपमेन्ट अपुग भएमा सम्बन्धित डिभिजनबाट पठाउने गरी तयारी गरिएको उहाँले बताउनुभयो । विगतभन्दा बढी वर्षा हुने अनुमान गरिएकाले यो वर्ष विशेष तयारी गरिएको उनले भने । उनका अनुसार पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे–काठमाडौँ खण्डको गल्छीमा, सिद्धार्थ राजमार्गअन्तर्गत बेलहिया–भैरहवा–बुटवल–वर्तुङ–राम्दी–स्याङ्जा–पोखरा खण्डको डुम्रेमा, भिट्टामोड–जलेश्वर–बर्दिबास, खुर्कोट–मन्थली–तामाकोसी–सिँगटी–लामाबगर–लाप्चेगाउँ सडकखण्डको टिल्पुङमा सडक अवरुद्ध भएको हो ।

त्यसैगरी अरनिको राजमार्गअन्तर्गत काठमाडौँं–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी सडकखण्डको डकलाङमा, सिन्धुपाल्चोकको लिपिङमा पहिरोका कारण सडक अवरुद्ध छन् । महानिर्देशक थापाका अनुसार सुर्खेत–दैलेख–महावुलेख–गाल्जे, नाग्मा–गमगढी–नाक्चेलाग्ना सडकअन्तर्गत जुम्लाको बडकी भन्ने ठाउँमा, गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्यफ्रुबेँसी–रसुवागढी सडकअन्तर्गत नुवाकोटको मैथली खोलामा सडक अवरुद्ध भएको हो ।

सोही राजमार्गको रसुवाको त्रिशूली खोला, सानो भार्खु खोला र सानो गाँजाबारी भन्ने ठाउँमा, डुम्रे–बेँसीसहर–चामे सडकअन्तर्गत अर्खले र रामबजार, मनाङको बगरछाप, धारापानी र तिमाङ खोला, तिमाङ छहरा भन्ने ठाउँमा सडक अवरुद्ध रहेको उनले जानकारी दिए ।

सप्तकोसीमा वर्षकै उच्च बहाव
प्रदेश १ संयोजक सचिन पोख्रेलका अनुसार सप्तकोसी नदीमा यस वर्षकै उच्च बहाव मापन भएको छ । केही दिनदेखि पूर्वी पहाडी जिल्लामा भइरहेको निरन्तर वर्षाका कारण नदीको बहाव आइतबार यस वर्षकै उच्च बिन्दुमा पुगेको हो । कोसी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारीअनुसार पछिल्लो मापनका क्रममा सप्तकोसीमा पानीको बहाव दुई लाख ५७ हजार ७९० क्युसेक प्रतिसेकेन्ड मापन गरिएको छ । नदीको बहाव बढेसँगको कोसी ब्यारेजका ३५ वटा ढोका खोलिएका छन् ।

भारतको जल संशाधन विभागका सुपरिन्टेन्डेन्ट इन्जिनियर बीके पाठकको नेतृत्वको उच्च प्राविधिक टोलीले आइतबार कोसी ब्यारेजदेखि चतरासम्मको तटबन्ध र स्परहरूको निरीक्षण गरेर त्यहाँ परिचालित प्राविधिकलाई चौबीसै घण्टा सजग रहन निर्देशन दिएको छ । यसैबीच सप्तकोसी नदीको बीच भङ्गालोमा पर्ने श्रीलङ्का टापु क्षेत्रमा नदीले कटान थालेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।