ताजा अपडेट »

आखिर कति धनी छ तालिबान ? कहाँबाट जुटाउँछ पैसा ?

आइतबार, १३ भदौ २०७८, ११ : २८
12 Shares

काठमाडौँ । यस महिना तालिबानले लगभग पूरा अफगानिस्तानमाथि आफ्नो कब्जा जमाएको छ । अबको केही दिनमा अमेरिकाको नेतृत्व भएको पश्चिमी देशका सेनाले आफगानिस्तान छोडेर जानेछन् । यसै गरी, पछिल्लो दुई दशकदेखि दुई पक्षबीच चलिरहेको संघर्षमा सायद विराम लाग्नेछ ।

तालिबानका लागि गठबन्धन सेनासँग संघर्ष निकै कठिन रह्यो । एकातिर उसँग संसारका दुनियाँको धनी देशका सेना थिए जोसँग न धनको कमी थियो न आधुनिक हतियार नै । अर्कोतर्फ तालिबानको स्थिति यी दुबै मामिलामा ती देशहरुको तुलनामा खासै विशेष थिएन ।

एक अनुमानका अनुसार सन् २०११ मा तालिबानी लडाकूको संख्या ३० हजार थियो । सन् २०२१ को मध्यमा उसको लडाकूको संख्या बढेर ७० हजारदेखि १ लाखको बीचमा रह्यो ।

यस्तोमा यति ठूलो संगठन र चरमपन्थी अभियान चलाउनका लागि भारी आर्थिक मद्दतको आवश्यकता त पर्छ नै । यस्तोमा प्रश्न यो उठ्छ कि तालिबानले यसका लागि आर्थिक मद्दत कहाँबाट पाउँछ ? यो मद्दत देशभित्रबाट हुन्छ वा बाहिरबाट ?

आखिर कति धनी छ तालिबान ?

तालिबानले अफगानिस्तानमा सन् १९९६ देखि सन् २००१ सम्म शासन गरेको थियो । तर चुनौती यो हो कि तालिबानको आयबारे यस्तो कुनै विश्वस्त र ठोस् जानकारी सर्वसाधारणबीच छैन । उनीहरु बारे धनको आवागमनलाई बुझ्नु एक प्रकारको अनुमान लगाउनु जस्तै हो ।

यद्यपि, बीबीसीले अफगानिस्तान भित्र र बाहिरका यस्ता थुप्रै मानिसहरुसँग कुराकानी गरेर अत्यधिक सुचना जुटाएको छ । यसमार्फत् थाहा हुन्छ कि तालिबानको आर्थिक ढाँचा निकै जटिल छ ।

सन् २०११ मा तालिबानको वार्षिक आय लगभग ४६०० करोड रुपैयाँ थियो । तर बीबीसीले आफ्नो अनुसन्धानमा सन् २०१८ को अन्त्यसम्म यो आँकडा बढेर १७ हजार ५ सय रुपैयाँ भएको छ । अबको केही दिनमा नै उनीहरुले अफगानिस्तानको सरकार सञ्चालन गर्दैछन् । यस्तोमा उनीहरुको आय श्रोत निकै बढ्नेछ ।

तालिबानको आम्दानीका चार प्रमुख स्रोतः

तालिबानबारे एक आम धारणा यो छ कि उसको कमाईको मुख्य माध्यम अफिम र त्यसबाट बन्ने नशालु पदार्थ हेरोइन हो । तर जानकारका अनुसार यो कुरा पूर्ण रुपमा सही होइन ।

जानकारका अनुसार अफिमबाहेक तालिबानको कमाई उसले कब्जा गरेको इलाकामा लगाइने विभिन्न प्रकारको करमार्फत् पनि हुन्छ । साथै, विदेशबाट पाउने चन्दा र खनिजको कारोबार पनि उसको कमाईको मुख्य स्रोत हो ।

वास्तवमा तालिबानको आयका चार प्रमुख स्रोत छन्ः

१. विदेशबाट पाइने चन्दाः

पूर्व अफगान सरकार र अमेरिकी अधिकारीले लामो समयदेखि पाकिस्तान, इरान, रुस, साउदी अरब, संयुक्त अरब इमिरेट्स, कतारसहित खाडी देशका थुप्रै देशले तालिबानलाई आर्थिक मद्दत गरिरहेको आरोप लगाउने गर्छन् । तालिबानसँग उनीहरुको यो सम्बन्ध निकै लामो समयदेखि रहँदै आएको छ । तर यी देशले यो कुरा कहिल्यै स्विकार गरेनन् ।

यस्तै पाकिस्तानसहित साउदी अरब, संयुक्त अरब इमिरेट्स, कतारजस्ता खाडी देशका नागरिक निजी रुपमा पनि तालिबानलाई मद्दत गरिरहेको मान्यता राखिन्छ ।

तालिबानले विदेशबाट पाउने मद्दतको सटिक आँकडा थाहा पाउन त असम्भव छ तर जानकारका अनुसार उसले हरेक वर्ष करिब ५० करोड डलर विदेशबाट पाइरहेको छ ।

यसअघि अमेरिकाको एक गोप्य रिपोर्टमा तालिबानले सन् २००८ मा विदेश विशेषगरी खाडी देशबाट १०.६ करोड डलर प्राप्त भएको अनुमान गरिएको थियो ।

२. नशालु औषधीको कारोबार ?

तालिबानले लामो समयदेखि अफिम, हेरोइनजस्ता नशालु औषधीको अवैध कारोबार गर्दै आएको धेरैले बताउने गर्छन् ।

स्मरण रहोस्, अफगानिस्तान संसारको सबैभन्दा ठूलो अफिम र हेरोइन उत्पादक हो । हेरोइन, अफिमबाट तयार हुन्छ । एक अनुमानका अनुसार अफगानिस्तानबाट हरेक वर्ष १.५ देखि तीन अर्ब डलरको अफिम अन्य देशमा पठाइन्छ ।

अफगानी अधिकारीका अनुसार तालिबानले किसानलाई अफिमको खेती गर्न लगाउँछ र उनीहरुबाट १० प्रतिशत कर पनि लिने गर्छ । यसबाहेक हेरोइन बनाउने प्रयोगशालाबाट पनि कर लिने गरिन्छ । यसमार्फत् तालिबानलाई हरेक वर्ष १० देखि ४० करोड डलरबीचको आय हुने अनुमान गरिन्छ ।

सन् २०१८ मा अमेरिकी कमान्डर जनरल जोन निकोलसनले एक रिपोर्टमा तालिबानले उसको आयको ६० प्रतिशत हिस्सा अवैध ड्रग्सको धन्धाबाट आउने बताएका थिए । यद्यपि, उनको यो अनुमानलाई धेरै जानकारले ‘यो त असाध्यै धेरै भयो’ भन्दै खारेज गर्छन् ।

३. इलाकामाथि कब्जा जमाउनुः

तालिबानको आम्दानी अफिमको खेती र त्यसको बिक्रिबाट मात्रै हुँदैन । यसको प्रमाण सन् २०१८ मा अफगान कारोबारीको नाममा लेखिएको खुल्ला पत्र हो जसमा तालिबानले उनीहरुलाई तेल, निर्माण सामग्रीसहित थुप्रै उत्पादनको कर चुकाउनका लागि भनेको थियो ।

वास्तवमा जुन इलाकामा तालिबानको प्रभाव छ, त्यहाँ उनीहरुले मानिसहरुबाट विभिन्न प्रकारको कर असुल गरेका छन् । पछिल्लो दुई दशकमा पश्चिमी देशको राम्रै धन पनि नचाहँदा पनि तालिबानको गोजीमा पुगेको छ ।

सबैभन्दा पहिला, पछिल्ला दुई दशकमा संसारभरीका थुप्रै देशको मद्दतले देशमा सडक, स्कूल, अस्पताल आदि बनाइयो । तर तालिबानले यी सबै परियोजनाका लागि आवतजावत गर्ने गाडीमार्फत् पैसा लिए ।

पश्चिमी देशको सामानको ढुवानी गर्ने ट्रकबाट तालिबानले हरेक वर्ष करोडौं डलर बनाएको पनि अनुमान छ । उसले यसबाहेक अफगान सरकारद्वारा सर्वसाधारणलाई दिइएका सेवामार्फत् पनि अत्यधिक कमाई गरे ।

अफगानिस्तानको बिजुली कम्पनीका अध्यक्षले सन् २०१८ मा बीबीसीलाई दिएको जानकारी अनुसार बिजुलीको प्रयोग गर्नेबाट तालिबानले पैसा असुल गर्छ । उनले यसबाट तालिबानले हरेक वर्ष २० लाख डलरको आय हुने अनुमान लगाएका थिए ।

तालिबान जब कुनै इलाकालाई आफ्नो कब्जामा लिन्छ, तब त्यहाँबाट उसले पैसाका साथै धेरै नै सामान, गाडी, हतियार आदि प्राप्त गर्छ । लगातार लडाईंमा जुटिरहने संगठनका लागि आयको यो स्रोत पनि निकै महत्वपूर्ण हुन्छ ।

४. खानी र खनिजः

खनिज र मूल्यवान वस्तुको मामिलामा अफगानिस्तान निकै धनी छ । दशकौंदेखि देशमा लडाईं भइरहेका कारण हाल यसको पर्याप्त दोहन हुन सकेको छैन । अफगानका पूर्व अधिकारीका अनुसार हाल देशको उत्खनन उद्योग एक अर्ब डलर आसपास छ ।

देशको धेरैजसो उत्खनन साना स्तरका छन् र अधिकांस अवैध ढङ्गले हुँदै आएका छन् । तालिबानले यसमाथि आफ्नो नियन्त्रण गर्दै वैध र अवैध सबै प्रकारका उत्खननबाट असाध्यै कमाई गरेको छ ।

सन् २०१४ मा यूएनको एक रिपोर्टमा बताइए अनुसार तालिबानले हेलमंद प्रान्तमा २५ देखि ३० अवैध उत्खनन परियोजनाबाट हरेक वर्ष लगभग १ करोड ५० लाख रुपैयाँभन्दा बढी कमाएको थियो ।-एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।