ताजा अपडेट »

अमेरिकाले उद्धार गरिएका अफगानीलाई लैजान यात्रुवाहक जहाज खटाउने

सोमबार, ०७ भदौ २०७८, १२ : ३९
4 Shares

काठमाडौँ । अमेरिकाले काबुलबाट उद्धार गरी मध्यपूर्वका विभिन्न सैनिक बेसमा पुर्‍याइएका अफगानीहरूलाई गन्तव्यमा पुर्‍याउन व्यावसायिक उडान गर्ने यात्रुवाहक जहाज खटाउने भएको छ।

अमेरिकी रक्षा मन्त्री लोइड जे अस्टिनले अमेरिका एयरलाइन्सहरूलाई सैनिक जहाजले गरिरहेको उद्धारमा सहयोग गर्न निर्देशन दिएका हुन्। अहिलेसम्म युनाइटेड एयरलाइन्सका ४, अमेरिकन एयरलाइन्स, एटलस एयर, डेल्टा एयरलाइन्स र ओम्नी एयरका ३/३ र हवाइएन एयरलाइन्सका २ वटा जहाज उद्धारमा खटिने भएका छन्। यी जहाजहरू काबुल विमानस्थलमा भने जाने छैनन्। काबुलबाट अमेरिकी वायु सेनाका जहाजले बहराइन, कतार, युएईका सैनिक बेसमा ल्याएका अफगानीलाई उनीहरूले युरोप र अमेरिका लैजाने छन्।

अहिले अमेरिकी सैनिक जहाजले काबुलबाट हजारौं अफगानीहरूलाई मध्यपूर्वका बेसमा पुर्‍याएका छन्। व्यावसायिक उडान भर्ने जहाजले उनीहरूलाई गन्तव्यमा पुर्‍याएपछि सैनिक जहाजलाई भार कम हुनेछ। विद्रोही समूह तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि उनीहरूले कस्तो शासन लगाउने हुन् भन्ने डरले अहिले हजारौं अफगानी देश छोड्न विमानस्थलमा आइरहेका छन्।

तालिबानले काबुल कब्जा गरेको एक साताभन्दा  बढी भइसक्दा पनि काबुल विमानस्थलको अवस्था सामान्य भइसकेको छैन। काबुलको हमिद कारजाई विमानस्थल भने अहिले पनि अमेरिकी सेनाले सञ्चालन गरिरहेको छ। यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले अगस्ट ३१ पछि पनि अमेरिकी सेना अफगानिस्तानमा बस्न सक्ने बताएका छन्। यसअघि अमेरिकाले अफगानिस्तानबाट फर्किने अन्तिम मिति अगस्ट ३१ लाई तोकेको थियो।

तालिबानले काबुल कब्जा गरेपछिको परिस्थितिला ध्यानमा राख्दै उद्धार गर्नु पर्ने नागरिकहरूको अवस्था हेरेर काबुलमा केही हजार अमेरिकी सैनिक अगस्ट ३१ पछि पनि बस्न सक्ने बाइडेनले बताएका छन्।-एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।