ताजा अपडेट »

 बिनादर्ताका अनलाईनहरुलाई कारवाही गर्न माग गरिने

आइतबार, ०६ भदौ २०७८, १० : ०१
8 Shares

परासी । विनादर्ता अनलाईनहरु संचालन गरेर भ्रम सृजना गर्ने अनलाईनहरु र त्यस्ता अनलाईनहरुमा समाचार पठाउनेहरुको अनुगमन गरी कानुनी प्रक्रिया अघि बढाउनका लागि नेपाल पत्रकार महासंघ जिल्ला शाखा पश्चिम नवलपरासीले प्रदेश ,केन्द्र र प्रेस काउन्सिललाई आग्रह गर्ने निर्णय गरेको छ ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा पश्चिम नवलपरासीको आज बसेको कार्यसमिति बैठकले उक्त निर्णय गरेको शाखा अध्यक्ष हरि शर्माले बताए । त्यसैगरी कतिपय दर्ता भएर संचालन भएका अनलाईनहरुले समेत पत्रकार आचार संहिता विपरित भ्रामक तथा उछ्रिङ्खल खालका अपुष्ट समाचारहरु सम्प्रेशण गर्ने गरेको पाईएकाले सबैखाले अनलाईनहरुको अनुगमन तथा निरीक्षण गर्नका लागि नेपाल पत्रकार महासंघ प्रदेश र नेपाल पत्रकार महासंघ केन्द्र तथा प्रेस काउन्सिल नेपाललाई आग्रहगर्ने निर्णय भएको शाखा अध्यक्ष शर्माले जानकारी दिए ।

त्यसैगरी आज बसेको कार्यसमिति बैठकले जिल्ला शाखामा आवद्ध रहेका सबै पत्रकारहरुको १ लाख बराबरको वार्षिक दुर्घट्ना बिमा गर्ने निर्णय गरेको छ । त्यस्तै संस्थाको सल्लाहकारमा ४ जनालाई मनोनित समेत गरेको अध्यक्ष शर्माले बताएका छन् । शाखा अध्यक्ष हरि शर्माको अध्यक्षतामा बसेको बैठकले महासंघका पूर्वसभापति कुल प्रसाद शर्मा, टीकाराम गैरे, केशव पराजुली र संस्थापक सदस्य जान्हवी प्रसाद जोशीलाई मनोनित गरेको हो ।

२०४७ सालमा नवलपरासीमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा स्थापना भएसंगै संगठीत हुन शुरुगरेका पत्रकारहरु अहिले सम्म आईपुग्दा जिल्लामा ९० जना संघमा आबद्ध रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।