ताजा अपडेट »

आर्थिक विकासमा यूवा

शनिबार, ०५ भदौ २०७८, ०९ : ५१
185 Shares

यूवा शक्ति मुलुकको अमूल्य सम्पत्ति हो । यूवा विकास र परिवर्तनका आधार हुन् । उनीहरुको शारीरिक तथा मानसिक क्षमताको सहि तवर–तरिकाबाट व्यवस्थापन गर्न सकिएमा समाज, देश तथा सम्रगमा विश्वमा नै गुणात्मक तथा परिमाणात्मक सुधार ल्याउन सकिन्छ । आजको विश्वमा जे-जति नौला र साहसिक गतिविधिहरु सम्भव भएका छन् । ती अधिकांश युवाको सक्रियताको उपज हो । अन्तराष्ट्रिय प्रावधान अनुसार १६ देखि ४० वर्ष उमेर समूहको जनशक्तिलाई यूवाका रुपमा परिभाषित गरिन्छ । नेपालको सन्दर्भमा १६ देखी ४० वर्ष उमेर समूहको यूवा जनशक्ति ४० प्रतिशत रहेको छ । यूवाहरुमा रहेको सिर्जनशिलता, वैज्ञानिकता, व्यवहारिकता, उद्यमशिलता, नागरिक सोँच, जवाफदेहिता, नैतिकता,न्याय प्रेम तथा सामाजिक सेवा प्रतिको लगामलाई सहि अर्थमा परिचालन गर्न सकिएमा हामीले आसा गरेको गुणात्मक विकास प्राप्त गर्नेछौँ ।

अर्थशास्त्री Prof. Winston का अनुसार यदि कुनैपनि अर्थतन्त्रका आधारभूत आर्थिक क्रियाकलापहरु उत्पादन तथा उपभोगमा अधिक रुपमा आएको सकारात्मक तथा गुणात्मक तवरले आएको रुपान्तरणलाई आर्थिक विकास भनिन्छ । विश्वको आर्थिक विकासको इतिहासमा युवाको जोस तथा जागर र व्यस्कको बौद्धिक क्षमता प्रयोग गरेर समृद्धि प्राप्त गरेका मुलुकहरुमा चीन ,अमेरिका, जापान, दक्षिण कोरियालाई नमूनाका रुपमा प्रस्तुत गरिन्छ ।

नेपाली अर्थ-राजनीतिमा २०५० को दशक देखि अत्यधिक चर्चामा आएको शब्द आर्थिक विकास हो । तत्कालिन समयदेखि वर्तमान समय सम्म नेपालमा आर्थिक विकास भनेको भौतिक पूर्वाधारका क्षेत्रमा संख्यात्मक तथा गुणात्मक परिवर्तन ल्याउनु हो भनेर परिभाषित गरिएको छ । आर्थिक विकासको वास्तविक अवधारणा अलि फरक छ । आर्थिक विकास भनेको कुनै पनि अर्थतन्त्रका उत्पादनका साधनहरुको उत्पादन क्षमतामा आएको गुणस्तरीय आमुल परिवर्तन हो । हरेक अर्थतन्त्रमा प्रतिव्यक्ति उत्पादन, प्रतिव्यक्ति आय, निरपेक्ष गरिबी न्यूनीकरण, आय असमानतामा कमी आउनुका साथै श्रमशक्तिको कार्यक्षमतामा आएको गुणस्तरीय रुपान्तरण नै आर्थिक विकास हो । आर्थिक विकास भन्नाले भौतिक संरचनाहरुको विकासका साथ-साथै सामाजिक कल्याणका क्षेत्रहरुमा आएको गुणात्मक चथा परिमाणात्मक परिवर्तनलाई बुझिन्छ ।

विश्वव्यापीकरण, भूमण्डलीकरण र सूचना प्रविधिको विकासमा आएको युगान्तकारी परिवर्तनका कारणले गर्दा नेपाल सरकारको प्राथमिकतामा युवा हुनु, स्वदेशमा रोजगार र स्वरोजगारका अवसर अभिवृद्धिलाई सरकारले उच्च प्राथमिकतामा राख्नु, यूवाका लागि उद्यमशीलताका क्षेत्रमा सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यक्रम ल्याइनु, आदि विषयहरुले देशको आर्थिक विकासमा युवाको भुमिका अग्रहणीय रहने प्रमाणित गरेको छ । नेपालको सन्र्दभमा कृषि, पर्यटन, जलस्रोत, वन, जडीबुटी र खनिजलाई आधार बनाई उद्यमशीलता विकास, तालिम, सहुलियतपूर्ण कर्जाको सहज वितरणको वातावरण तयार पारी युवालाई नेपालमा नै अवसर दिनुपर्छ ।

यस प्रकारको वातावरणको सिर्जना गर्न सकिएको अवस्थामा नेपालमा रहेका विषम आर्थिक समस्याहरु गरिबी, आय असमानता, बेरोजगारीलाई न्यूनीकरण गर्न सकिन्छ । बाह्य तथा आन्तरिक प्रदेशस्तरीय अनुभव आदान–प्रदान कार्यक्रम, अन्तर्राष्ट्रिय स्तरका सेमिनार, वेभिनार र गोष्ठीमार्फत विचारको बहस, विश्वभरका राजनीतिक, सामाजिकआर्थिक, प्राविधिक र कानूनी विषयमा अन्तरक्रिया र मार्गदर्शन दिने जस्ता कार्यहरुमा यूवा जनशक्तिले निकै नै प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सक्दछन् । जसबाट कुनै पनि देशको विकासको आधार मानविय जनशक्तिको क्षमतामा गुणस्तरीय परिवर्तन आउने गर्दछ । विश्वका सबै देशहरुले वर्तमान समयमा गरिरहेको आर्थिक प्रगतीको रहस्यका रुपमा यूवा जनशक्तिको शैक्षिक स्तरमा सुधार ल्याउन गरिएको लगानी हो ।

यूवाको शिक्षा क्षेत्रमा गरिएको लगानीले अल्पकालिन समयमा उपलब्धी नदिने भएता पनि दीर्घकालमा यसबाट प्रतिफल आउने र युगौं यूगसम्म निरन्तर रुपमा चलिरहने भएकोले गर्दा नेपाल जस्ता देशहरुले आफ्नो आर्थिक अवस्थामा सकारात्मक परिवर्तन ल्याउनका लागि यूवाको शिक्षा क्षेत्रमा गरिएकोे लगानीलाई दोब्बर बनाउनु पर्छ । मुलुकको अर्थव्यवस्थालाई आत्मनिर्भरताको बाटोमा हिडाउनको लागि सर्वप्रथम देशमा शैक्षिक यूवा जनशक्तिको अभाव रहनु हुँदैन । आर्थिक विकास युवाको सक्रिय सहभागीता बिना कुनैपनि हालतमा गर्न नसकिने कुरालाई दिगो विकास र सहस्राब्दी विकासको लक्ष्यले पनि स्विकार गरिसकेको छ । यूवा शक्तिको शारीरिक तथा मानसिक क्षमताको अत्यधिक प्रयोगबाट हामीले कुनै पनि अर्थतन्त्र भित्र रहेका बैंक तथा वितिय क्षेत्र , शिक्षा , स्वास्थ्य, कृषि, पूर्वाधार विकास तथा विस्तार, यातायात र सञ्चार , पर्यटन, उद्योग , व्यापार आदिमा गुणात्मक परिवर्तनको अवस्था सिर्जना गर्न सकिन्छ । जसको संक्षिप्त परिणामलाई आर्थिक विकासमा युवा जनशक्तिको योगदानका बारेमा चित्रण गरिन्छ । नेपाली अर्थतन्त्रमा आर्थिक विकास प्राप्ति गर्नका लागि नेपाली युवा जनशक्तिले योगदान पुर्याउने सक्ने क्षेत्रहरु निम्नलिखित रहेका छन् :

१. कृषिको आधुनिकीकरण
नेपाली अर्थतन्त्र जस्तो कृषिमा आधारित अर्थतन्त्रको गुणात्मक रुपान्तरणका लागि यूवा जनशक्तिले महत्वपूर्ण योगदान पुर्याएको हुन्छ । कृषिको आधुनिकीकरण र व्यवसायिकरणको कार्यलाई सञ्चालन गर्नका लागि शिक्षित र व्यवहारिक जनशक्तिको आवश्यकता रहन्छ । शिक्षित प्राविधिक युवा जनशक्तिको सक्रिय सहभागिताले कृषिको विकासका लागि आवश्यक पर्ने सम्पूर्ण प्रकारको खोज अनुसन्धान सम्भव हुने गर्दछ । कृषिको आधुनिकीकरण र व्यवसायिकरण लागि आवश्यक पर्ने सम्पूर्ण पूर्वाधारहरुको विकास युवा जनशत्तिलको परिचालनबाट मात्रै सम्भव रहने गर्दछ । युवा जनशक्तिको माध्यमबाट कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायिकरणमा रहने योगदानलाई चीन, अमेरिका तथा अष्ट्रेलियाको कृषि प्रणालीबाट स्पष्ट पारिसकेको छ ।

२. बेरोजगारी तथा गरिबी समस्या समाधान
बेरोजगारी तथा गरिबी विकासोन्मुख अर्थतन्त्रका मुख्य आर्थिक समस्याहरु हुन । विशेष गरी यी देशमा आर्थिक रुपले सक्रिय युवा जनशक्ति नै बेरोजगारी र गरिबीबाट पिडित बनेका हुन्छन् । यी समस्याहरुको दीर्घकालिन तथा व्यवहारिक समाधानमा पनि सक्रिय यूवा जनशक्तिको उल्लेखनिय महत्व रहेको हुन्छ । देशका नागरिकहरुलाई व्यवसायिक तथा मागमा आधारित शिक्षा प्रदान गर्न सकिएको अवस्थामा मात्रै गरिबी तथा बेरोजगारी समस्या समाधान गर्न दक्षता राख्ने जनशक्ति उत्पादन गर्न सकिन्छ । व्यवहारिक तथा उच्चस्तरीय प्रविधिमा आधारित शिक्षा युवालाई प्रदान गरिएको अवस्थामा सो कार्यले नागरिकहरु उच्चस्तरको ज्याला प्राप्त हुने किसिमका रोजगारीमा संलग्न रहनेछन । जसबाट देशको पूँजी निमार्णको प्रक्रियामा चक्रिय रुपमा सकारात्मक परिवर्तन आई थप रोजगारीका अवसरको सिर्जना हुन्छ । जसका माध्यमबाट बेरोजगारी तथा गरिबी जस्ता आर्थिक संकटहरुको सरल र सहज तवरले समाधान गर्न सकिन्छ ।

३.औद्योगीकरण
कुनै पनि देशमा औद्योगीकरणको जग बसाल्ने कार्यमा त्यो देशमा उपलब्ध यूवा जनशक्तिको भूमिका अमूल्य रहने कुरालाई यूरोप तथा दक्षिण एसियाका जापान , चीन , मलेशिया आदि देशको अद्यौगिक विकासको इतिहास र वर्तमानको सफलताले प्रमाणित गरेको छ । नेपालको सन्र्दभमा सन १९३६ देखि औपचारिक रुपले उद्योगहरुको स्थापना र सञ्चालनको कार्यलाई अगाडि बढाइएको छ । यद्धपि प्रयाप्त मात्रामा औद्योगिक क्षेत्रमा युवा जनशक्तिलाई आर्कषित गर्न सकिएको छैन । औद्योगीकरण तथा युवा रोजगारी बीच कार्यात्मक सम्बन्ध रहेको हुन्छ । यी मध्यम एकको विकासबाट देशमा आर्थिक रुपान्तरणको आधार तयार हुने गर्दछ । औद्योगिकरणका लागि आवश्यक पर्ने सम्पूर्ण प्रकारका पूर्वाधारहरुको विकास तथा विस्तारका कार्य शैक्षिक यूवा जनशक्तिको सहज आपूर्तीको माध्यमबाट मात्रै सम्भव छ । औद्योगिकरणका सम्पूर्ण साधनहरु श्रम, पूँजी, भूमी तथा सग्ठन सञ्चालन गर्नका लागि सक्रिय युवा सहभागिता बिना कठिन मात्र नभई असम्भव नै छ । पूँजीगत , उपभोग्य वस्तुको उत्पनदनमा सक्रिय योगदान गरेर युवा जनशत्तिले आफ्नो औद्योगिक महत्वलाई प्रमाणित गरिसकेको छ ।

४. विकासका पूर्वाधार विकास
कुनै पनि देशले आफ्ना नागरिकहरुको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउनका लागि विकासका पूर्वाधारहरु विद्युत, खानेपानी, स्वास्थ्य, यातायात, सञ्चार आदिमा लगानी गरेको हुन्छ । त्यो लगानीबाट अपेक्षाकृत गरिएको उपलब्धीहरु प्राप्त गर्नका लागि आवश्यक पर्ने सबै प्रकारका साधन र स्रोतकोे परिचालन यूवाबाट सम्भव हुन्छ । वर्तमान समयमा विकसित देशका रुपमा परिचय बनाएका देशहरुले विकासका पूर्वाधार विकास तथा विस्तारमा गरेको प्रगतिको मूख्य कारण ती देशहरुले युवा जनशक्तिका क्षेत्रमा गरेको लगानीको प्रतिफल हो । विकासोन्मुख देशको विकासका गतिविधिलाई सहि गतीमा हिडाएर आर्थिक रुपान्तरणमा यूवाले गर्ने योगदानलाई सन १९६५ देखि १९८५ सम्ममा चीनले प्राविधिक शिक्षामा आफ्ना नागरिकहरुलाई उत्प्रेरित गरेर विदेशमा अध्ययन गर्न पठाउनुले पनि पुष्टि गरेको छ ।

अन्त्यमा, विकसित वा विकासोन्मुख दुवै देशको सामाजिक, आर्थिक, राजनैतिक , सांस्कृतिक आदि सम्पूर्ण पक्षहरुमा सकारात्मक तथा गुणात्मक परिवर्तन ल्याउनका लागी देशमा भएका यूवा जनशक्तिको उचित परिचालन गरिनु आवश्यक छ । नेपालको सन्दर्भमा यूवालाई राजनीतिक गतिविधि सञ्चालनमा साधनका रुपमा तथा विदेशबाट रेमिटान्स पठाउने साधनका रुपमा जसरी बुझिएको छ । यो अवधारणामा तत्काल परिवर्तन गरी राज्यका हरेक तहमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न दिएको अवस्थामा नेपाल आगामी १० वर्षमा विकसित देशका रुपमा स्थापित हुने कुरामा कुनै शंका छैन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।