ताजा अपडेट »

अमेरिकी संसद नजिकै बिस्फोटकको धम्की दिने व्यक्ति पक्राउ

शुक्रबार, ०४ भदौ २०७८, १० : ४६

काठमाडौँ । अमेरिकाको संसद भवन नजिकै आफूसँग बिस्फोटक पदार्थ भएको भनेर धम्की दिने एक व्यक्तिलाई पक्राउ गरिएको छ । यी व्यक्तिको नाम फ्लोएड डे रोजबेरी हो, उनी ४९ वर्षका हुन् । बिस्फोटकको धम्की दिएको केही घण्टापछि फ्लोएडले आत्मसमर्पण गरेका हुन् ।

हाल उनको उद्देश्य पुष्टि हुन सकेको छैन । प्रहरीले ती व्यक्तिको गाडीको पनि तलासी गरिरहेको छ । संसदमा यतिबेला छुट्टी चलिरहेको छ तर त्यहाँ कर्मचारी काम गरिरहेका छन् । बिस्फोटकको धम्की दिएपछि थुप्रै भवन खाली गरिएको छ । गाडीबाट लाइभ गर्ने व्यक्तिको भिडियो सोसल मिडियामा सेयर गरिएको थियो । फेसबुकले उक्त लाइभ र ती व्यक्तिको प्रोफाइल हटाएको छ ।

उक्त भिडियोमा फ्लोयड रोजबेरी अमेरिकी राष्ट्रपति जो बाइडेनको नाममा सन्देश दिइरहेका थिए र क्रान्तिको कुरा गरिरहेका थिए । क्यापिटल प्रहरी प्रमुख जे थोमस मेंगरले फ्लोएड रोजबेरीले बेसमेन्टमा ट्रक राखेको बताउँदै उनलाई सोधपुछ गर्न आएका एक प्रहरी अधिकारीलाई उनले आफूसँग बिस्फोटक भएको बताएको जानकारी दिए ।

प्रहरीले रोजबेरीसँग कुरा गर्यो र रोबोटमार्फत् एउटा फोन पनि पठायो तर रोजबेरीले त्यो प्रयोग गरेनन् । यद्यपि, पछि रोजबेरीले गाडीबाट निस्किएर आत्मसमर्पण गरे । प्रहरीका अनुसार रोजबेरीको गाडीमा बिस्फोटक बनाउने सामान भेटिएको छ तर बिस्फोटक भने भेटिएको छैन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।