ताजा अपडेट »

सिड्नीमा फेरि चार हप्ता लकडाउन हुने

विहीबार, १४ साउन २०७८, ११ : १६
4 Shares

सिड्नी ।अष्ट्रेलियाको सिड्नी र वरिपरिको क्षेत्रमा लकडाउनको समयावधि फेरि थप गरिएको छ । दैनिक सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुँदै गएपछि राज्य सरकारले सिड्नी क्षेत्रमा थप चार हप्ता लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको हो । सरकारी अधिकारीहरूले बुधबार दिएको जानकारीअनुसार न्यू साउथ वेल्सभर थप १७७ जना सङ्क्रमित भएका छन् ।

सिड्नीमा अब अगस्ट २८ सम्म निरन्तर लकडाउन लागू हुने भएको छ । नयाँ थप गरिएको लकडाउन अवधिका लागि प्रतिबन्धात्मक व्यवस्थाहरू पनि थप गरिएको छ । किनमेल गर्नु परेमा स्थानीय सरकारको अनुमतिमा घरदेखि १० किलोमिटर टाढासम्म मात्रै जान पाइने व्यवस्था गरिएको छ । अस्ट्रेलियाको सबैभन्दा ठूलो सहरमा डेल्टा भेरिअन्ट फैलिएपछि गएको जुन महिनाको अन्त्यबाट घरमा नै बस्न आदेश दिइएको छ । सिड्नीमा मात्रै यस वर्ष कोरोनाभाइरसबाट दुई हजार ५०० भन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् ।

सानास्तरको महामारी नियन्त्रणमा लिएका भिक्टोरिया र साउथ अस्ट्रेलियाले भने बुधबारबाट लकडाउन अन्त्य भएको घोषणा गरेका छन् । तर सिड्नीमा भने निषेधाज्ञा सेप्टेम्बर वा त्योभन्दा पछिसम्म जारी रहनसक्ने विज्ञहरूले अनुमान गरेका छन् । विज्ञ र सरकारी अधिकारीहरूले सङ्क्रमण दर शून्य नजिकै नभएसम्म सिड्नीलाई पुनः खुला गर्न नसकिने बताइरहेका छन् । लगातार भइरहेको लकडाउनप्रति कतिपय मानिसले भने विरोध जनाएका छन् । उनीहरूले सिड्नी, मेलबर्नलगायतका विभिन्न सहरहरूमा प्रदर्शन पनि गरेका थिए । -सिन्ह्वा

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।