ताजा अपडेट »

८ महिनामै बजेट पूर्ण कार्यान्वयन हुन्छ : मुख्यमन्त्री पोखरेल

सोमबार, ०२ असार २०७६, २२ : २६
2 Shares


असार २,
ग्लोबल आवाज
बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आगामी वर्षको आठ महिनाभित्र बजेट खर्च गरिसक्ने दावी गरेका छन् । आइतबार आर्थिक वर्ष ०७६÷७७ को बजेट सार्वजनिक गरेका पोखरेलले सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सो कुरा बताएका हुन् । आर्थिक मामिला मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री पोखरेलले ३६ अर्ब ४१ करोड ६८ लाख बजेट सार्वजनिक गरेका हुन् । गत वर्षको बजेट खर्च नभएको सन्दर्भमा उठेका प्रश्नमा उनले यस वर्ष समयमा नै बजेट खर्च गरेर सक्ने बताएका हुन् । चालु आर्थिक बर्षको बजेट सञ्चित रहेका कारण बजेटको आकार ठूूलो भएको भन्दै मुख्यमन्त्री पोखरेलले घाटा बजेट भने नभएको दाबी गरे ।

उनले भने ‘गतवर्षको अनुभवले पनि यो वर्ष सबै तयारी गरिएको छ । हामीले बिगतको अनुभवलाई हेरेर ८ महिनामा नै बजेट खर्चिने तयारी गरेका छौं ।’ मुख्यमन्त्री पोखरेलले आवधिक योजना र नीति तथा कार्यक्रममा आधारित रहेर बजेट बनाएकाले यसलाई पुष्टि गर्ने आधार रहेको बताए ।
विपक्षी नेपाली कांग्रेसले बजेटलाई वितरणमुखी भनेर लगाएको आरोपलाई उनले प्रतिपक्षको धर्म भएको बताउँदै माननीयले ल्याएका योजनामा बनाइएको बजेटलाई वितरणमूूखी भनेर उम्कन नहुने बताए । मुलुकको अर्थतन्त्र अझै काठमाडौं केन्द्रित रहेको भन्दै उनले प्रदेशहरुमा विकेन्द्रित गर्नुपर्ने बताए । प्रदेश ५ को अर्थतन्त्र जनसंख्याका हिसाबले कमजोर भएको तर, कूल ग्राहस्थ उत्पादनका हिसाबले अन्य प्रदेश भन्दा अगाडि रहेको स्पष्ट पारे ।


उनले आउँदो आर्थिक वर्ष कूल ग्राहस्थ उत्पादन ८ प्रतिशत पुर्याउने लक्ष्य निर्धारण गरिएको बताउँदै पूरा गरेरै छाड्ने बताए । अनुदान लक्षित वर्गसम्म पुर्याउन उत्पादनमा आधारित अनुदानको नयाँ नीति लिइएको बताउँदै उनले कृषि फर्महरुलाई अनुदान नभएर कृषि मजदुर उपलब्ध गराउने योजना अगाडि सारिएको जानकारी दिए । उनले आगामी बजेटमा उच्च शिक्षा तथा प्राबिधिक शिक्षाको बिकासमा बजेट बिनियोजन गरिएको उल्लेख गरे ।कार्यक्रम मन्त्रालयका सचिव किशोर जोशीको अध्यक्षता र मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।