ताजा अपडेट »

तान्त्रिक प्रयोजनको लागि मानिसको हत्या गर्ने गिरोह

शनिबार, ०४ बैशाख २०७८, १२ : ५४
4 Shares

बुटवल । तान्त्रिक प्रयोजनको लागि मानिसहरुको हत्या गरी शरीरका अंगहरु बेचविखन गर्ने एक गिरोहलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ । कपिलवस्तुका प्रहरी प्रमुख नवराज अधिकारीका अनुसार पक्राउ पर्नेमा जिल्लाको शुद्धोधन गाउँपालिका २ का नन्द बहादुर बस्नेत सोही स्थानका बेलाल अहमद मुसालमान , अब्दुल कलाम मुसलमान , वडा नम्बर ५ का रामहव यादव , रुपन्देही बनकट्टाका कर्ण बहादुर सुनार , पूर्वी नवलपरासी मध्येबिन्दु नगरपालिका–७ खेम बहादुर मल्ल सहित ६ जना रहेका छ्न । उनिहरुको उमेर समूह ३९ वर्षदेखि ६७ वर्ष रहेको छ ।
यो गिरोहले मानिसको औंलाहरु काटेर दिए प्रति औंला ८० लाख सम्ममा किन्ने भ्रम र प्रलोभनमा पार्दै आएको एसपी अधिकारीले बताएका छन् । यसरी भ्रम छर्दै र मानिसहरुलाई विश्वास दिलाउँदै आएका यी संगठीत गिरोहले रुपन्देहीको लुम्विनी साँस्कृतिक नगरपालिका वार्ड नं ५ मा बस्दै आएकी सरजहाँ दर्जीको चैत्र १२ गते हत्या गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नवराज अधिकारीका अनुसार सो गिरोहले मृतक दर्जीलाई चैत्र १२ गते ललाई–फकाइ कपिलवस्तु शुद्धोधन गाउँपालिका ३ हर्दिहवामा बोलाई हत्या गरी दुवै हातका औंलाहरु काटी लास बोरामा राखी बेतिया नदीमा फालेका थिए । उनीहरुमाथि कर्तब्य ज्यान मुद्दा चलाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

रासस
लेखकको बारेमा
रासस