ताजा अपडेट »

सिद्धबाबादेखि सिद्धबाबासम्म

शुक्रबार, ०३ बैशाख २०७८, १९ : २९
14 Shares

२०७७ चैत्रको १९ गते विहिवार स्याङ्जा कालीगण्डकी गाउँपालिकाको लर्सगा गाउँमा रहेको आलमदेवी मन्दिर पुग्दा साँझको पाँच बजिसकेको थियो । चिसोले कान सेकेको थियो । चैत महिना पहाडमा उस्तै चिसो हुँदोरहेछ । मगर गाउँ, मगर संस्कृति र नयाँ नयाँ सामुदायिक होमस्टे समेत सुरु भएको रहेछ लर्सगामा । हुन त हामी साँझको चार बजे पुगिन्छ कि भनेर सोही अनुसार खबर गरेका थियौं तर हामीले मिर्मिमूनि काली थुनेको हेरेको कारण ढिला हुन पुग्यौं ।

कालीगण्डकी जलविद्युत आयोजनाको हेडवक्र्समा रहेको विशल जलराशी हेरेर मख्ख परेका थियौं । सेतीबेनीको शालीग्राम हेर्न स्टीम चढेर गएका थियौं । जनाको चार सय लाग्दो रहेछ आउजाउ भाडा । जाँदा करिव पैचालीस मिनेट भने फर्किदा ओरालो भएको कारण करिव आधा घण्टामा फर्किएका थियौं । स्टीम चढाई धेरै साथीहरुका लागि नौलो थियो । स्याङ्जा, गुल्मी र पर्वतको त्रिवेणी रहेछ सेतीबेनीको शीला । स्टीम चढ्दा हामीसँग बुटवलको एउटा कलेजका विद्यार्थी समेत थिए । सिद्धबाबा मन्दिरका गुरुहरुले भजन गाउँदा उनीहरु खुसीले ताली ठोक्थे । करिव ७० को सख्यामा अर्थात् सोही हाराहारीमा हामी उक्त स्टीममा चढेका थियौं । लक्ष्मीप्रसाद बस्याल डरले स्टीम नचढेको भन्ने कुरा मैले धेरै पछि थाहा पाएँ ।

साँच्चै हो कि हल्ला सुनेको ?
२०६१ सालतिर हुनपर्छ, दोभान स्रोतकेन्द्रले आयोजना गरेको लोकगीत प्रतियोगितामा साविकको कचल गाविसको झिंगामारामा रहेको सरस्वती निमाविका विद्यार्थीले गाएका गीतले अति नै प्रशंसा पाएको थियो र पुरस्कृत समेत भएको थियो ।

मिर्मिमूनि काली थुनेको
उच्च मावि बन्छ रे दोभानमा
साँच्चै हो कि हल्ला सुनेको ?

यही गीतको प्रेरणाले दोभान माविमा २०६३ सालदेखि कक्षा ११ को पढाई सुरु भयो । कहिलेकाँही यस्ता सन्देशमूलक गीतहरुले उत्प्रेरणा जगाउने र उत्प्रेरित गराउँदो रहेछ भन्ने कुराको ज्वलन्त प्रमाण सोही गीत थियो । त्यतिबेला सरस्वती निमाविको हेडमास्टर भानुभक्त भण्डारी थिए । हामी तिनाउबासीहरु यसपालि मिर्मिमूनि काली थुनेको हेरेर दंग परेका थियौं ।

हामीहरु आलमदेवी मन्दिर पुग्ने बित्तिकै सिद्धबाबा मन्दिर विकास समिति,तिनाउ –पाल्पा र आलमदेवी पूजा व्यवस्थापन समिति, स्याङ्जाबीच परिचय र आआफ्ना मन्दिरले गरेका प्रगतिका बारेमा सुन्ने र सुनाउने कार्यक्रम सुरु भयो । कार्यक्रममा सिद्धबाबा मन्दिर विकास समितिका कार्यसमितिका साथीहरु, मन्दिरका मूलपूजारी नारायणप्रसाद घिमिरेको टोली,पुष्प व्यवसायी विष्णुकुमारी घिमिरेको टोली, कर्मचारीहरु समाहित थिए । मन्दिरकै आफ्नै धार्मिक एवम् पर्यटकीय बस र समितिका सदस्य तोया लम्सालको नीजि मोटरकार चढेर २९ जना त्यतै पुगेका थियौं ।

आलपदेवी नै हुन् त आलमदेवी ?
आलमदेवी पूजा व्यवस्थापन समितिका तर्फबाट मन्दिरका सचिव पर्थबहादुर थापामगरले मन्दिरको ऐतिहासिकता, महत्व, वर्तमान परिवेश र मन्दिर समितिले देखेको सपनाका सन्दर्भमा प्रकाश पारेका थिए । मन्दिरको लिखित इतिहास नभएपनि किंवदन्तीका आधारमा धेरै महत्वपूर्ण कुराहरु बताइरहँदा मज्जा लाइरहेको थियो । त्यसैले मेरा दुबै कान उनको मुखतिर र कागजमा कलम दौडिरहेको थियो ।

पर्थ सर स्थानीय कोटाकोट आधारभूत विद्यालयका प्रअ समेत रहेछन् । उनको प्रस्तुती शैली उल्लेखनीय थियो । उनले मन्दिरका बारेमा भन्दै थिए–तत्कालीन शाहबंशीय राजाहरु र खाँड ठकुरी जातिको कूल देउताको रुपमा आलमदेवीलाई मान्ने चलन रहेको छ । पूर्वराजा ज्ञानेन्द्र र बुहारी हिमानी पटक पटक आलम आइपुगेका छन् । असमको चैते देशैमा समेत ज्ञानेन्द्र शाह आउँदैछन् पूजाआजाका लागि ।

स्याङजा जिल्लाको कालीगण्डकी गाउँपालिकाको लर्सगामा आइपुग्दा भारतबाट बोकेर ल्याइएको देवी अलप भएको बोकेर ल्याइएकी देवी खसेर अलप भएको (सो स्थानमा रहेको प्वालबाट छिरेर कालीगण्डकीमा देवीले नुहाउन पुगेको किंवदन्ति रहेको छ । ) कारण उक्त मन्दिरको नाम अलपदेवी नै रहेको र अपभ्रमंश भएर आलमदेवी रहन भएको जनश्रुति पाइँदो रहेछ ।

अनौठो लाग्छ । मन्दिरको छानो छैन । छानो नहुनुका अनेक कारण बताउँदा रहेछन् स्थानीयहरुले । कसैले भन्छन्–बेगमाता ज्वाला माईले आगो ओकल्ने भएको हुँदा छानो नहालिएको हो । कसैले भन्छन् –कहिलेकाँही बाघले समेत पूजा गर्न आउने भएको हुँदा छानो नछाइएको हो । मन्दिरमा भोग चढाउने अर्थात् बलीदिने चलन रहेछ । तीन सय ६५ दिननै खुल्ने आलमदेवी मन्दिरमा सोह्श्राद्ध,नागपञ्चमी,एकदशी र औशीमा बली नचढ्दो रहेछ । महिनामा सरदर १५/१६ हजार श्रद्धालुभक्तजनहरु मन्दिरमा दर्शन गर्न आइपुग्ने मन्दिरका उपाध्यक्ष तुलबहादुर रानाले बताएका थिए । मन्दिर सुन्दर र मनमोहक देखिन्छ । अति नै राम्रो र कलात्मक छ । मन्दिर अघि मौलो छ । खुँडा, खुकुरी र तरबारहरु समेत देख्न पाइन्छन् ।

आलमदेवीको मूल मन्दिरमा महिलाहरुले पूजा गर्ने चलन छैन । धेरै महिलाहरुले पहिलो घेरा ननाँघ्ने चलन रहेछ । उक्त क्षेत्रका संघीय सांसद् एवम् कृषिमन्त्री पद्मा अर्यालले भने दोस्रो घेरो नाँघेर दर्शन गरेको पर्थ सरले बताउँदै थिए । महिलाहरु मन्दिर प्रवेश निषेधका बारेमा लिखित कारण छैन तर परम्परागत चलन भने त्यस्तै रहेछ । हाम्रा साथीहरुले सो सम्बन्धमा प्रशस्त प्रश्नोत्तर गरेका थिए ।

भीमसेनपाती झन् जाती
आलमदेवी मन्दिरमा मूर्ति छैन । यो नै आलमदेवीको मुख्य विशेषता रहेछ । मूर्तिको ठाउँमा भीमसेनपातीको बुट्यान छ । पहाडतिर शिशिर याममा फुल्ने भीमसेनपातीलाई भैरमपाती पनि भन्ने चलन छ । रुखो डाउँमा उम्रेर,दह्रोसँग हुर्केर फुल्ने खस्रोपात हुने यो फूलले फुलपाती मरणको प्रकृतिमा चैं सृष्टिलाइए सघाई राखेको हुन्छ । भीमसेनपातीलाई साक्षी राखी लोक तथा आधुनिक गीतहरु रचिएका रहेछन् । स्थानीयहरुले भीमसेनपातीलाई धरमपाती पनि भन्ने रहेछन् ।

पुरातत्व विभागका अुनसार सम्वत् एकहजार तीनसय ५० तिर यो मन्दिरको स्थापना भएको थियो । यही मन्दिरमा सम्वत् एक हजार सात सय आठमा रणबहादुर शाहले नगरा र घण्ट चढाएको इतिहास पाइँदो रहेछ । गोर्खाको मन्दिर र यो मन्दिरमा मगर पूजारी रहने चलन उस्तै रहेछ । आलमदेवी मन्दिरमा मगरजातिको मगर केटो ( बढीमा १५ वर्षसम्मको) पूजारी हुने चलन रहेछ । मगर पूजारीले निराहार बस्नु पर्ने, दैनिक नित्यकर्म गर्नुपर्ने भएकाले समेत अचेल कुमार केटाहरु नपाइने, पाएमापनि धेरै समय पूजारी नटिक्ने कारणले समस्या देखिएको मन्दिरका सचिवले भन्दै थिए ।

आलमदेवी मन्दिरको सेतीबेनीमा एक सय २७ रोपनी गुठी जग्गा भएता पनि केही जग्गा कालीगण्डकी जलविद्युत आयोजनाले भोग चलन गर्दै आएको र केही जग्गा स्थानीय मोहीहरुले उपभोग गर्दै आएको कुरा थाहा भयो । अरुवाघाट र पाल्पाको अर्घलीमा समेत मन्दिरको जग्गा रहेता पनि प्रयोगहीन भएको पर्थ सरले बताए ।

गुठी जग्गा भएर पनि ………………..।
कालीगण्डकी जलविद्युत आयोजनाले राखिदिएको २५ लाखको अक्षयकोषबाट आउने व्याज र मन्दिर ठेक्काबाट आउने रकमबाहेक अन्य कुनै आम्दानी नभएको समितिका सदस्य दीपक घिलेले बताए । उनका अनुसार मन्दिरमा घिले जातिले नगरा बजाने चलन रहेको र दलित जातिले समेत अनौपचारिक रुपमा मन्दिर प्रवेश गरी पूजाआजा गर्न थालेको बताए । परिमार्जित नेपाल परिचय पुस्तकमा अहिले आलमदेवी मन्दिरका बारेमा लेखिएको कुरा पढाइ हुन थालेको दीपक घिलेले बताए ।

भ्रमण वर्षको अवसरमा नेपाल सरकारले आलमदेवी मन्दिरलाई देशको सय गन्तव्यभित्र पारेको छ । त्यसैगरी नेपाल सरकारका तत्कालीन सूचना,सञ्चार तथा प्रविधि मन्त्री गोकुल बासकोटाले हुलाक टिकटमा टाँचा समेत लगाएका रहेछन् । कालीगण्डकी गाउँपालिकाको पहिलो हेलीप्याड समेत आलमदेवी मन्दिर नजिकै निर्माण गरिएको रहेछ । गाउँमा यसापालि करिव चार सय मिटर बाटो पीच हुँदैछ ।

आलमदेवी मन्दिर परिसरलाई कालीगण्डकीले चारैतिर घेरेको दृश्यले सुन्दरता थपेको रहेछ । यहि मन्दिरबाट रानीमहल,रुद्रवेणी,रुरु क्षेत्र समेत जान सकिदो रहेछ । हामीले मन्दिरका बारेमा धेरै कुरा जान्न बुझ्न पायौं । धेरैले मुस्लिम धर्मावलम्बी र हिन्दूको साझा मन्दिर ठानिएको आलमदेवी मन्दिर शुद्ध हिन्दूहरुको मन्दिर रहेको थाहा भयो । पूजा व्यवस्थापन समितिका सचिवले हालसम्म आलमदेवी मन्दिरमा मुस्लिमहरु पूजा गर्न नआएको समेत बताए । तैपनि तत्कालीन शाहबंशीय राजाहरु कुलमण्डन खानका सन्तान हुन् भनेर इतिहासमा पढ्नु पथ्र्यो । तिनै शाह बंशीय राजाहरुको कूल नै आलमदेवी हुन् भन्नेहरुको संख्यामा समेत मैले कमी देखेको छैन ।

सिद्धबाबा मन्दिर विकास समितिको तर्फबाट मैले जानकारी गराएँ । हाम्रो मन्दिरको प्रागैतिहासिक अवस्था,वर्तमान परिवेश र भविष्यका बारेमा देखेको सपनाहरु सुनायौं । सिद्धबाबा मन्दिरको पुस्तक,घण्ट प्रेमपूर्वक हस्तान्तरण गरेका थियौं । साथै हामीले आगामी दिनमा आलमदेवी मन्दिर र सिद्धबाबा मन्दिरकाबीच पररस्पर सम्बन्ध र सहयात्राको थालनी गर्ने मनसाय समेत व्यक्त गरेका थियौं । मन्दिर परिसरमै राति नै सामुहिक फोटो सेसन गरियो । सिद्धबाबा मन्दिरलाई कोसेलीका रुपमा हाम्रो सामुहिक फोटो ल्याएका छौं ।

सस्तो होमस्टे !
होमस्टेका साथीहरुले हामीहरुलाई आआफ्नो घरतिर लगे । अमर प्रधान सर र म एउटै कोठामा पाहुना हुने अवसर मिल्यो । चिसोले होला घाँटीमा हल्का समस्या देखापर्न थालेको हुँदा हामी दुबैले तातोपानी पियौं । केही हल्का महसुस भयो । तरुलको तरकारीसँग भात खायौं । खाना मिठो थियो । हामी २९ जनामध्ये कोही साकाहारी,कोही मांसहारी भोजन गरेका थियौं । गुरुजनहरुले रोटीसँगै साकाहारी भोजन गरे । राति जाडोले जिउनै तात्न गाह्रो पो भो मलाई । तैपनि झ्याल ढोका थुुनेर सुत्दा न्यानो भो ।

मन्दिरमा विहानै पूजाआजा गरियो । नगरा बजाउने घिले दाइ आइपुगेका रहेछन् । उनले बजाएको बाजामा म केहीबेर शारीरिक व्यायाम गरें । शान्तिले आफ्नो मोबाईलको क्यामेराले खिचेकी रहेछिन् । नगरा बजाउने परम्परागत चलन अझै हराएको रहेनछ । यही नगरा बजाउन कुनै अमूक स्थानबाट घेल्दै ल्याइएको हुनाले उनीहरुको जाति नै पछि गएर घिले थरका रुपमा परिणत हुन गएको थाहा भयो हामीलाई ।

हामी विहान सातवजे हिड्ने बेला पूजा व्यवस्थापन समितिका सचिव र सदस्यहरु नभेटेपनि स्थानीय होमस्टे सञ्चालकहरु,फोटोग्राफर साथीहरुसँग बिदा भएर हिड्न अघि हामीले रात बिताएको प्रतिव्यक्ति ५० रुपैयाँ होमस्टेमा तिरेका थियौं । खाना पनि अति सस्तो रहेछ । गाउँका साथीहरुले सस्तो दरमा श्रद्धालुभक्तजनहरुलाई सेवाभावका साथ होमस्टे सञ्चालन गरेका रहेछन् ।

कारिकोटहुँदै हामी गुल्मीको रुद्रवेणी आश्रम पुग्यौं । केहीबेर भजनकीर्तन गरेका थिए साथीहरुले । नाचे साथीहरु । गुरुआमाहरुले स्नेहले दिएको चिया पियौं । केही दक्षिणा समेत दियौं । साथीहरुबाट सक्दो दान दिने काम भयो । फर्किने बेला गुरुआमाहरुसँग सम्झनाका लागि केही थान फोटो खिचेका थियौं ।

भैरमस्थानमा गास र भजनकीर्तन
पाल्पाको ऋषिकेश मन्दिर आइयो । केहीबेर रीडिबजार घुमियो । साथीहरुले मन पर्ने पहाडिया सामानहरु खरिद गरे । चुक,चाकूको राम्रै खरिद भयो । हामीले रुरु क्षेत्रको ऋषिकेश मन्दिरमा घण्टी दान दिने काम भयो । टीकाटालो गरेर तीन जिल्ला जोड्न झोलुङ्गे पुल हेरेर पाल्पा भैरमस्थान मन्दिरतिर हुँइकियौं ।

सोही मन्दिरमा पूजाआजा र भोजन गरियो । अध्यक्ष तुलबहादुर अधिकारीलाई आउनु अघि सम्पर्क गरेका थियौं । भोजन निःशुल्क भएपनि २४ जना साथीहरुले भोजन गरेवापत मन्दिरलाई केही दान गरेको थियौं । केहीबेर भजनकीर्तन चल्यो । लक्ष्मीप्रसाद बस्याल,सावित्रा पाण्डेय लगायतको नाच हेरेर हामी मख्ख परेका थियौं । सिद्धबाबा मन्दिर परिसर आइपुग्दा साँझको पाँच बज्दै थियो । धार्मिक एवम् पर्यटकीय अध्ययन अवलोकन भ्रमण थोरै समय, कम खर्चमा फलदायी भएको हामीले महसुस गरेका छौं । उल्लेखित मन्दिर, आश्रम भ्रमण गरेर आइसकेपछि सिकेका कुराहरुलाई व्यवहारमा प्रयोग गर्न प्रयत्नशील छौं ।

यात्रामा नौला तथा अनौठा गफ, कुराकानी समेत हुने गर्दछन् । बुढेसकालमा होइन उमेर छँदै तीर्थ गर्नुपर्छ भन्ने कुरा चल्यो । रामराम भन्न नसकेकर लामलाम भन्ने बेला कसैका काँध चढेर तीर्थ गर्नुको अर्थ नहुने तर्क समेत निस्किएको थियो । छोरालाई बुहारी ल्याइदिएपछि छोरो त बुहारी कै हुने चर्चा समेत खुप चल्यो । शान्तिको टीकटकले मार्केट लियो । भ्रमण संयोजक शिव पाण्डेयले आफ्नो भूमिका मज्जाले निभाए । उनको कामको सबैले तारिफ गरियो ।

हामीले थालेको पाल्पा सिद्धबाबादेखि पाल्पाकै सिद्धबाबामा आएर दुईदिने धार्मिक एवम् पर्यटकीय अध्ययन, अवलोकन भ्रमणको बिट मारेका थियौं ।

https://www.globalaawaj.com/archives/98594
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।