ताजा अपडेट »

बजेट सम्बन्धी छलफल : शिक्षा र स्वास्थ्यमा सुधार आवश्यक

आइतबार, ०१ असार २०७६, २३ : ५५
2 Shares


असार १,
ग्लोबल आवाज
भैरहवा । सिद्धार्थनगर नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट सम्बन्धी यहाँका अगुवासँग छलफल गरेको छ । नगरपालिकाले आइतबार शिक्षा, स्वास्थ्य र कृषि सम्बन्धी सुझाव संकलन गरेको हो । यस्तै नगरपालिकाले बनाउन लागेको दीर्घकालीन विकासको गुरुयोजना बारे पनि छलफल गरिएको छ । छलफलमा सहभागीहरु नगरमा शिक्षा र स्वास्थ्यको सुधार जरुरी रहेको औल्याए । छलफलमा सहभागी बोल्दै संस्कृतिविद् प्रा.डा.गितु गिरीले शिक्षाको गुणस्तर निकै कमजोर रहेकाले त्यसलाई तत्काल सुधार गर्नु पर्ने बताए । उनले प्रदेश, संघ सरकारसँग समन्वय गरी माथिल्लो निकायबाट बनेका नीति, नियमलाई अंगीकार गरि अघि बढ्नु पर्ने जनाए ।

स्वास्थ्य र शिक्षाका लागि दीर्घकालिन सोंच बनाउनु जरुरी रहेको उनले औल्याए । सिद्धार्थ उद्योग बाािण्ज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले नीति बनाएर शिक्षा र स्वास्थ्य क्षेत्रमा अनुगमन गर्नुपर्ने बताए । उनले खस्कँदो शिक्षा र स्वास्थ्यको योजना बनाई सुधार गर्नु पर्ने बताए । सरकारी शिक्षकले जति ध्यान दिनुपर्ने हो, सिकाईमा दिन नसकेको उनले आरोप लगाए । न्यौपानेले भीम अस्पताललाई एक सय शैयाको बनाउन माग गरे । यस्तै नगरलाई हरियाली र प्रदूषणरहित बनाउनु पर्ने उनको सुझाव छ । कृषियोग्य जमिनलाई व्यवस्थित गरी नगदेबालीलाई प्राथमिकता दिनु पर्ने उनले जोड दिए ।
काँग्रेस नेता दीपक क्षेत्री न्यौपानेले कृषिलाई प्राथमिकता दिई पकेट क्षेत्र घोषणा गरी अघि बढ्नु पर्ने जनाए । उनले निःशुल्क शिक्षालाई कार्यान्वयन जरुरी रहेको औल्याए । विगतभन्दा यहाँको स्वास्थ्य क्षेत्रमा केही सुधार आए पनि विशेषज्ञ व्यवस्था गरी निःशुल्क औषधी वितरण प्रणालीलाई जोड दिनु पर्ने सुझाव दिए । उद्योग व्यापार संगठनका महासचिव अनिलकुमार ज्ञवालीले निजी तथा सरकारी विद्यालयलाई एउटै मापदण्डमा ल्याई अनुगमन गर्न जरुरी रहेको बताए । उनले भर्ना अभियान चलाउनु पर्ने बताए । कृषि उत्पादनको भण्डारण गर्ने व्यवस्था गर्नुपर्ने, अर्गानिक तरकारी खेतीलाई प्रात्साहन दिनु पर्ने उनले बताए । सरकारी अस्पतालमा डाक्टरको व्यवस्था गर्नु पर्ने उनले बताए ।

छलफलमा भरतकुमार पोखरेल, मक्सुद अली, चोपलाल आचार्य, मोतीलाल सुवेदी, भानुभक्त शर्मा, नरेश केसी, राजेन्द्रप्रसाद पन्थी लगायतले बोल्दै व्यवसायिक कृषिलाई प्रोत्साहन गर्नुपर्ने, करेसाबारी कार्यक्रम लागू गर्नुपर्ने, लक्षित वर्गलाई निःशुल्क शिक्षा दिनुपर्ने, हरेक क्षेत्रमा विशेषज्ञ टिम बनाएर अघि बढ्नुपर्ने, सरकारी विद्यालयलाई मर्जर गरेरै भए पनि गुणस्तर विकास गर्नुपर्ने, नैतिक शिक्षा, लागू गर्नुपर्ने, निजी विद्यालयलाई नियमन गर्नुर्ने, शिक्षण सिकाईमा प्रविधिको प्रयोग गर्नुपर्ने, विषय विशेषज्ञ शिक्षकको व्यवस्था गर्नु पर्ने लगायतका सुझाव दिएका थिए ।

नगर प्रमुख हरिप्रसाद अधिकारीले छलफलबाट आएका सुझावलाई संकलन गरी आगामी आर्थिक वर्षको बजेटमा समावेस गरिने बताए । उनले नगरले निर्माण गर्न लागेको गुरुयोजनामा समेत समावेस गरिने बताए । यस्तै, अधिकारीले २ वर्षे अवधिमा भौतिक पूर्वाधारलाई प्राथमिकता दिए पनि अब भने सबै क्षेत्रको गुरुयोजना गराई अघि बढिने जनाए । छलफलमा उपप्रमुख उमा काफ्ले, प्रमुख प्रशासकीय अधिकृत ख्यामबहादुर थापा, विभिन्न विद्यालयमा शिक्षक, कृषि विज्ञ, शिक्षाविद् लगायतको सहभागिता छ । सोमबार भौतिक पूर्वाधार र पर्यटन क्षेत्रको विकास र दीर्घकालीन योजनाबारे सुझाव संकलन गरिने छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।