ताजा अपडेट »

स्रष्टा सम्मान तथा कृति विमोचित

विहीबार, ०२ बैशाख २०७८, १६ : ४८
2 Shares

नुवाकोट । साहित्य सङ्गम नुवाकोटले सात स्रष्टालाई सम्मान गरेको छ । संस्थाले साहित्यकार प्रभा भट्टराई, प्रतीक सङ्ग्रामी, रुपा थापा, विन्दु ‘मूकदर्शक’, नमराज लामिछाने र प्रकाश पाण्डेलाई सम्मान गरेको हो ।

सातै स्रष्टालाई साहित्यका कविता, गजल, मुक्तकलगायत विभिन्न विधामा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको संस्थाका अध्यक्ष सुमित्रा सुमीले जानकारी दिए । कार्यक्रममा रामचन्द्र तिम्सिनाको कविता कृति ‘भेँडाहरुको शहर’ र साहित्य सङ्गमले प्रकाशन गरेको अर्धवार्षिक साहित्यिक पत्रिका ‘सङ्गम’को पहिलो अङ्क पनि विमोचन गरिएको थियो । दुवै कृतिको विमोचन गर्दै प्राज्ञ डा. देवी नेपालले स्रष्टाले कहिल्यै निराशावादी रचना लेख्न नहुने जनाउँदै लेखकलाई पाठकलाई सकारात्मक ऊर्जा भर्दै अघि बढाउनुपर्ने दायित्व निर्वाह गर्न आग्रह गरे ।

संस्थाले हालै आयोजना गरेको अनलाइन खुला बाल कविता प्रतियोगितामा पहिलो हुने कैलालीकी विभूति अधिकारी, दोस्रो हुने काठमाण्डौंकी अनुज्ञा पौडेल र तेस्रो हुने नुवाकोटका विमल रसाइलीलाई पुरस्कार प्रदान गरिएको थियो । बुधबार भएको कार्यक्रममा रामहरि बाजे, सुरेश वैद्य, पूर्णबहादुर शिरीष, सेल्कर पाख्रिन, बद्रीवृन्द गजुरेल, रामराजा तिम्सिना, विपीन रोदन, इन्दिरा रेग्मीलगायतले रचना वाचन गरेका थिए ।

रासस
लेखकको बारेमा
रासस