ताजा अपडेट »

तिलोत्तमामा बेमौसमी फूलखेती फस्टाउँदै

विहीबार, ०२ बैशाख २०७८, १० : ५६
8 Shares

तिलोत्तमा । तिलोत्तमा नगरपालिका-१ नयाँमिलमा गएको तिहारमा पहिलोपटक सयपत्री फूलबाट मनग्य आम्दानी गरेका महिलाहरुले अहिले बेमौसमी फूलबाट पनि आम्दानी गर्न थालेका छन् ।

तिलोत्तमा देउराली पुष्प समूह गठन गरेर गतवर्षदेखि महिलाहरुले व्यावसायिक फूल खेत गर्न थालेका हुन् । ‘गतवर्ष साढे ३ कट्ठा जग्गामा भएको फूल खेतीबाट साढे पाँच लाख आम्दानी भएको छ ।’-समूहकी अध्यक्ष सीता पाठक भन्छिन् । महिलाहरुले १० कट्ठा जग्गा लिजमा लिएर व्यावसायिक खेती गर्न थालेका हुन् । अहिले उनीहरुको बारीमा बेमौसमी सयपत्री फूल ढकमक्क फुलिरहेको छ । समूहका महिलाहरुलाई अहिले रुपन्देहीका विभिन्न सभा समारोहमा फूलको माला पुर्याउन भ्याइनभ्याई छ । ‘अघिल्लो वर्ष सिजनकै बेला फूल खेती गरेर राम्रै आम्दानी भएको थियो, यसपाली पनि बेमौसमी फूल रोपेको तीन महिना नपुग्दै थुप्रै माला बिक्री भैसकेका छन् ।’-पाठकले भनिन् । उनीहरुले प्रतिमाला १२० रुपैयाँ मूल्य निर्धारण गरेका छन् ।

‘सयपत्री फूल दशैं तिहारमा मात्रै नभई पूजाआजा, कार्यक्रम, बिवाह ब्रतबन्ध जस्ता विभिन्न कार्यक्रमको लागि सधैं आवश्यक पर्छ । तर, हामीकहाँ व्यावसायिक फूलखेती गर्नेहरु निकै कम छन्, चाहिएको बेला भारतबाट माला ल्याउनुपर्ने बाध्यता छ, हामीले चाहिँ अब सबै मौसममा फूल उत्पादन गरी बजारको आवश्यकता पूर्ति गर्ने प्रयास गरिरहेका छौं ।’-समूहकी सदस्य चम्पा पाण्डेयले भनिन् । उनका अनुसार रोपेको समयदेखि एकसय २० दिनमा सयपत्री तयार हुन्छ । ‘कोरोनाले निम्त्याएको लकडाउनलृ भने फूलखेतीलाई केही नोक्सान पु¥यायो, त्यो बेला पनि बेमौसमी फूल उत्पादन भएको थियो, तर बजार नै नभएपछि समस्या भयो ।’-उनले भनिन् । बेमौसमी फूल खेती गर्दा विवाह, पूजा, ठूलाठूला कार्यक्रम आदिमा स्थानीय फूल खपथ हुन सक्ने उनले बताइन् । ‘संभावना एकदमै राम्रो छ, आत्तिनुपर्ने अवस्था छैन ’–पाण्डेयले भनिन् ।

गुणस्तर फूल उत्पादन भएमा बजारको समस्या नरहेको पनि उनले बताइन् । सम्बन्धित निकायबाट माटो परीक्षण, अनुगमनलगायतमा ध्यान दिने हो भने प्रदेशलाई फूलमा आत्मनिर्भर बनाउन सकिने उनको भनाइ छ । फूलको व्यावसायिक खेती गर्ने किसानलाई अनुदान, कृषि उपकरण सहयोग गर्न थालेपछि महिलाहरु उत्साहित बनेका छन् । तर उनीहरुले आर्थिक अनुदान भने प्राप्त गरेका छैनन् । व्यावसायिक फूल खेतीका लागि तिलोत्तमा नगरपालिकाले दुईवटा पानी ट्यांकी, ६ वटा गार्डेन पाइप, स्प्रे मेसिन, बिरुवा रोप्ने मेसिन र हाते ट्याक्टर उपलव्ध गराएको तिलोत्तमा-१ का वडाअध्यक्ष तामानाथ पाण्डेयले बताए । तिलोत्तमा नगरपालिकाले नगरलाई फूलमा आत्मनिर्भर बनाउने नीति बनाइरहँदा यसका लागि कोल्ड स्टोर निर्माण जरुरी रहेको पनि उनको भनाइ छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।