May 20, 2022
विश्वकपमा गतिलो पिच र सुविधा उपलब्ध नगराएको भन्दै आईसिसीको विरोध गरेको श्रीलंका विद्रोहमा उत्रेको छ । श्रीलंकाले शनिबार अस्ट्रेलियाविरूद्धको म्याचपछि विरोध स्वरुप विद्रोह गरेको हो । शनिबार श्रीलंका अस्ट्रेलियासँग ८७ रनले पराजित भएको थियो ।
पिच र पर्याप्त सुविधा नपाएको भन्दै आईसिसी व्यवस्थापनमाथि प्रश्न उठाएको श्रीलंकाले शनिबारको म्याचपछि आफ्नो असन्तुष्टि राम्रै गरी पोख्यो । उसले पोस्ट म्याच कन्फरेन्समा कुनै पनि खेलाडीलाई पठाएन । म्याच परम्परा अनुसार निर्धारित खेल सकिएपछि प्रेस कन्फरेन्स हुने गर्छ ।
जहाँ म्याच खेल्ने टोलीका प्रतिनिधिले म्याचबारेका सवालको जवाफ दिने गर्छन् । विश्वकप क्रिकेटमा यस्तो भएको यो पहिलोपटक हो । श्रीलंकाले यसरी खुलेर नै आफ्नो असन्तुष्टि पोखेपछि आईसिसीका अधिकारीहरूले मामिलालाई समाधान गर्ने कोशिसमा लागेका छन् ।
शुक्रबार श्रीलंकाका व्यवस्थापक असांथा डि मेलले आईसिसीलाई पत्र लेख्दै श्रीलंकाले कार्डिफमा हरियो पिचमा म्याच खेल्नु परेको र शनिबार पनि अस्ट्रेलियाविरूद्धको खेलमा त्यस्तै हुन लागेको भन्दै असन्तुष्टि जनाएका थिए । पत्रमा उनले आईसिसीले केहि टोलीका हिसाबले मात्र पिच तयार गरिरहेको आरोप लगाएका थिए ।
प्रतिकृया दिनुहोस्