ताजा अपडेट »

‘किसानको उन्नति बिना देशको विकास हुन सक्दैन ’

आइतबार, ०१ असार २०७६, ०२ : ४०
2 Shares


असार १,,

स्याङजा।  भूमी व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्याकुमारी अर्यालले कृषिको विकास र किसानको उन्नति बिना देशको विकास हुन नसक्ने बताउनुभएको छ ।   वालिङ नगरपालिकाको वडा नं १२ र १४ का कृषकहरुले एक हजार रोपनी जमीनमा सामूहिक रुपमा लगाउन थालेको कागती खेतीका बारेमा आज आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले सरकार कृषिका माध्यमबाटै देशमा समृद्धि ल्याउने अभियानमा रहेको बताउनुभयो ।    

माटो र हावापानी सुहाउँदो उत्पादन बढी हुने खालका खेती लगाउन पनि किसानहरुलाई उहाँले आग्रह गर्नुभयो । नगरपालिकाका दुई वडाका ढिकिडाँडा, तमादि र अमलडाँडामा एक हजार रोपनी जमीनमा सामूहिक रुपमा गर्न लागिएको कागती खेतीलाई एउटा नमूना मोडलका रुपमा देशभर विस्तार गर्न सकिने मन्त्री अर्यालको भनाइ छ ।     

कागती खेती अभियानको नेतृत्व गरिरहनुभएका भूमी व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका उपसचिव टेकप्रसाद लुइँटेलले पहाडबाट बसाइ सरेर तराइका साथै बजार क्षेत्र र रोजगारीका लागि विदेश जानेको सङ्ख्या बढेकाले खेती गर्ने जनशक्तिको अभावमा जमीन बाँझो हँुदै जाने क्रम बढेकाले सो अभियान सञ्चालन गरेको बताउनुभयो ।     

तीन वर्षसम्म अन्तरबालीका रुपमा कागती खेतीभित्र तरकारी खेतीसमेत लागाइने छ । वडा नं १४ का वडा सदस्य एवं स्थानीय गोमप्रसाद लुइँटेलले बिरुवा रोप्नका लागि रुख काट्नुका साथै जमीन मिलाउने काम भइरहेको बताउनुभयो । लगाएको खेतीबाली बाँदरले खाएर हैरान भएका कृषकहरु सामूहिक कागती खेती लगाउने अभियानले उत्साहित भएका छन् ।  -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।