ताजा अपडेट »

बुटवल उपमहानगरद्वारा विद्यालयलाई नयाँ मापदण्ड

मंगलबार, ३१ चैत्र २०७७, १५ : ४६
8 Shares

बुटवल । पछिल्ला केहिदिनयता कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बुटवल उपमहानगपालिकाले कोरोना जोखिमलाई न्यूनीकरण गर्न स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्न आग्रह गरेको छ । कोरोनाको पुरानै र नयाँ प्रजातिसमेतको भाइरसको जोखिम बढ्दै गएपछि स्वास्थ्य सावधानीसहितको नयाँ मापदण्ड अपनाएर मात्रै विद्यालय सञ्चालन गर्न निर्देशन दिएको हो ।

जोखिममा रहेको समुदायलाई नै पहिल्यै सुरक्षित बनाउने र समुदाय स्तरमा सचेतना जगाउने उद्देश्यले शैक्षिक संस्था सञ्चालनको नयाँ मापदण्ड बनाएर निर्देशन गरिएको प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो । बालबालिकालाई जोगाउने र उनीहरूलाई नै परिवार हुँदै समुदायमा सन्देश वाहक दुतका रुपमा पनि परिचाल गर्नेगरी योजना बनाइएको प्रमुख सुवेदीको भनाइ छ । उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत एवम् शिक्षा, स्वास्थ्य तथा जनसंख्या महाशाखा प्रमुख मित्रमणि खनालले विद्यालय, शिक्षक र अभिभावक समेतलाई अलग अलग मापदण्ड बनाएर निर्देशन जारी गरिएको बताए ।

उपमहानगरपालिकामा रहेका सामुदायिक र संस्थागत सबै विद्यालायमा लागू हुनेगरी मापदण्ड बनाइएको उनले बताए। विद्यालय प्रवेश र बसमा चढ्नु अगाडि थर्मल गनबाट अनिवार्य तापक्रम नाप्ने, गुणस्तरीय मास्क र सेनिटाइजरको अनिवार्य प्रयोग गर्ने, सकेसम्म बालबालिकालाई बसमा नचढाई अभिभावकले विद्यालय पुर्याउने र विद्यालय परिसरमा साबुनपानीको व्यवस्था मिलाउनुपर्नेलगायत अन्य स्वास्थ्य मापदण्ड पालना गर्न निर्देश गरिएको उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए।

विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीमा कोभिडसँग मिल्ने लक्षण देखिएमा पीसीआर परीक्षणका लागि नगरपालिकामा सम्पर्क गर्न आग्रह गरिएको छ । यस्तै कुनै पनि बालबालिकाका अभिभावकमा पनि कुनै लक्षण देखिएको सूचना पाएमा सम्बन्धित वडा कार्यालय मार्फत समन्वय गर्नेगरी संयन्त्र तोकिएको उपमहानगरले जनाएको छ । सहरी स्वास्थ्य प्रबर्द्धन केन्द्र, स्वस्थ्य चौकी तथा स्वास्थ्य संस्थामा फिवर क्लिनिकदेखि कोरोना विशेष अस्पताल नै सञ्चालन गरेर उपमहानगरपालिकाले मुलुकमै नमुना काम गर्दै आएको छ । बुटवलमा निर्माण भएको आईसीयुसहितको कोरोना विशेष अस्पताल मुलुककै व्यवस्थित र नमुना मानिएको थियो ।

छोटो अवधिमै अस्पताल निर्माण गरेर सबै वडामा संयन्त्र गठन गरेर कोरोना विरोधी अभियान सञ्चालन गर्नेमा बुटवल नै पहिलो पालिका बनेको थियो । हाल तिनै संयन्त्र र संस्थालाई अभियानमा जोड्नेगरि नयाँ मापदण्ड बनाइएको उपमहानगरका उपप्रमुख तथा अनुगमन समिति संयोजक गुमादेवी आचार्यले जानकारी दिए। बुटवलको नयाँ मापदण्डमा विद्यार्थीले खाजापानीसमेत घरबाट ल्याउनुपर्ने र टिफिन ब्रेक नगरी लगातर कक्षा सञ्चालन गरेर छिटो विद्यार्थी छोड्न आग्रह गरिएको छ ।

त्यसैगरी कक्षा सञ्चालन गर्दा एउटा कक्षामा तीसजनासम्म विद्यार्थी र एउटा बेञ्चमा दुईजना मात्र विद्यार्थी राख्न पनि उपमहानगरले आग्रह गरेको छ । जेठमा गर्ने भनिएको वार्षिक परीक्षा जुनसुकै बेला पनि गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै बुटवल उपमहानगरले सम्पूर्ण विद्यालयलाई तयारी अवस्थामा रहन आग्रह गरेको छ । साथै यो समयमा शैक्षिक भ्रमणलगायतका कार्यक्रम नराख्नसमेत विद्यालयलाई निर्देशन जारी गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।