ताजा अपडेट »

मुलुकको समृद्धिका लागि कृषि उत्पादन र बजारीकरण आवश्यक

मंगलबार, ३१ चैत्र २०७७, १४ : २५
8 Shares

बुटवल । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले कृषि उत्पादनले बजार तथा उचित मूल्य पाउने वातावरण नबन्दासम्म मुलुकको समृद्धि असम्भव भएको उल्लेख गरेका छन् । कृषकका उत्पादनले बजार नपाएर सडकमा फाल्नु पर्ने अवस्थालाई अन्त्य गर्नका लागि प्रदेश सरकारले त्यस अनुरुपका कार्यक्रमहरुलाई प्राथमिकता दिएको बताए ।

जनतालाई उत्पदानमा लाग्नुपर्छ भन्ने मानसिकता विकास गर्दै मुलुकलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन प्रदेश सरकारले पहल गरिरहेको उनले बताए । नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा बाँकेको आयोजना तथा केयर नेपालको आर्थिक र प्राविधिक सहयोगमा सोमबार रुपन्देहीमा भएको अन्तरक्रियामा बोल्दै मन्त्री गिरीले उत्पादनले उचित मूल्य पाउने स्थीतिको सिर्जना गरेर उत्पादन वृद्धि गर्ने योजना रहेको उल्लेख गरे । कार्यक्रममा कृषि उद्यमशिलता बिकास र साना तथा घरेलु उद्योग प्रवर्द्धनका लागि कोरोना महामारीले पारेको असरलाई क्षतिपूर्ति हुने गरी नीति कार्यक्रम ल्याउन सहभागीहरुले आग्र गरे ।

जिल्ला शाखा बाँकेले विभिन्न ७ बुँदाका माग तथ सुझाबसहितको ज्ञापनपत्र मन्त्री गिरीलाई बुझाउँदै कृषि तथा पशुजन्य उत्पादनको गुणस्तरीयता सुनिश्चित गर्ने गरी बजारीकरणमा सहयोग गर्न सरकारलाई आग्रह गरेको छ । ज्ञापनपत्र बुझाउँदै शाखाकी अध्यक्ष मधु खड्काले बास्तविक किसानको पहुँच स्थापना हुने गरी नीति, कार्यक्रम तथा बजेटको व्यवस्था गर्न आग्रह गरिन् । महासंघसँगै साझेदार संस्था भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप) बाँकेका कार्यकारी निर्देशक डम्मर सुनार, राष्ट्रिय कृषक समूह महासंघ नेपाल बाँके शाखाका सदस्य पदमबहादुर मगर तथा सामाजिक उद्यमी महिला सहकारी संस्था कृषक समूह बाँकेका प्रबन्धक भुपेन्द्र खड्काले संयुक्त रुपमा बुझाएको ज्ञापन पत्रमा कृषिलाई जिडिटल माध्यमका रुपमा विकास गरी उत्पादन र बजारीकरणमा जोड दिन आग्र गरिएको छ ।

घरेलु तथा साना उद्योग बाँकेले कृषकहरुका लागि निर्माण गरेको ‘कृषि पथ’ मोवाइल एप बारे जानकारी गराउँदै त्यसका लागि प्रदेश सरकारबाट आर्थिक सहयोग उपलब्ध गराउन विज्ञप्तिमा माग गरिएको छ । एप निर्माणसँगै डेढ महिनाको अवधिमा ६६४ कृषक तथा २ सय व्यवसायी जोडिएको एपले हाल बाँके जिल्लाका सेवाग्राहीहरुलाई मात्रै समेटेको हुँदा प्रदेश तथा देश व्यापी बनाउन बजेट माग गरिएको हो । यो एप अन्तरगत रहेर कृषकहरुले उत्पादन सम्बन्धि विभिन्न सूचना तथा जानकारीहरु पाउन सक्छन् भने उत्पादनको बजारीकरणका लागि व्यवसायीहरुलाई जानकारी गराउने गर्दछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।