ताजा अपडेट »

तिनाउका ५३ टिप्पर एकसाथ चितवन रंगशाला पुग्दा…

सोमबार, ३० चैत्र २०७७, १७ : २५
4 Shares

बुटवल । सडकमा द्रुतगतिमा कुद्ने टिप्परलाई खतरनाक सवारी साधनको रुपमा लिने र धेरै सशंकित हुनेपनि गर्दछन् । टिप्परको ठूलो आकार र बनावटले यो सडकमा गुड्दा अन्य साना सवारी र तीनमा सवार यात्रुमा सतर्कता बढ्ने गर्दछ । विभिन्न समयमा टिप्परबाट हुने दुर्घटना र मृत्युका कारण टिप्परप्रतिको दृष्टिकोणनै डरलाग्दो छ । टिप्परको ठक्कर वा टिप्परसित ठक्कर खाएका सवारी साधनका यात्रुहरुको प्रायः मृत्यु हुनेहुँदा यसलाई ‘सडकको यमराज’ भन्ने पनि गर्दछन् ।

तर, सडकमा खतरनाक र यमराज मानिने टिप्परको उपयोगिता महत्व र प्रभावकारिता भने निकै महत्वपूर्ण छ । विकास निर्माणदेखि अन्य सामग्री ढुवानीमा टिप्परको भूमिका अहम् रहेको छ । बलियो फलामे संरचना रहेको टिप्पर ढुवानीको भरपर्दो र अत्यावश्यक साधन बनेको छ । सडकमा कुद्ने, नजिक पर्दा डरलाग्ने उक्त साधन प्रतक्ष्य–प्रतक्ष्य रुपमा सबै जनता र राष्ट्रका लागि महत्वपूर्ण साधन जसले विकास निर्माणका गतिविधिलाई तिव्र र सहज रुपमा सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछन् । दैनिक ढुवानी र विकास निर्माणका काममा महत्वपूर्ण भूमिका रहेको भएतापनि टिप्परप्रति हेर्ने दृष्टिकोण भने बढीनै नकारात्मक पाइन्छ । तर, आइबार तिनै टिप्पर र टिप्पर चालकलाई भव्य स्वागत र सम्मान गरिएको दृश्य देखियो । चितवनको भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तरािष्ट्रय क्रिकेट रङ्गशालामा आइतबार टिप्पर र टिप्पर चालकलाई भव्य स्वागत र सम्मान गरियो । त्यति मात्रै होइन ति टिप्पर र टिप्पर चालकलाई करिब ६ घण्टा व्यग्र प्रतिक्षा गरी स्वागतसँगै भव्य विदाई पनि गरियो ।

निर्माणाधिन रङ्गाशालाका लागि पाल्पाको तिनाउ गाउँपालिका क्षेत्रमा रहेका टिप्पर व्यवसायीहरुको समूह ‘तिनाउ टिप्पर समूह’का ५३ टिप्पर चालक टिप्परसहित रङ्गशाला पुगेका हुन् । पाल्पाबाट बुटवल हुँदै निर्माण सामग्री लिएर लामो यात्रा गरी रङ्गशाला पुगेका टिप्पर, टिप्पर चालक, टिप्पर व्यवासायी, तिनाउबासी, जनप्रतिनिधि र सञ्चारकर्मी लगाएतको टोली रङ्गशाला पुगेको थियो । उक्त टोलीलाई रङ्गशाला निर्माण गरिरहेको धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष तथा चर्चित हाँस्यकलाकार सिताराम कट्टेल ‘धुर्मुस’, उपाध्यक्ष तथा चर्चित हाँस्यकलाकार कुञ्जना घिमिरे ‘सुन्तली’, रङ्गशाला निर्माणका अभियन्ता, सहयोगी तथा चर्चित हाँस्यकलाकार अर्जुन घिमिरे ‘पाँडे’, रङ्गशालाका कर्मचारी, निर्माण मजदूर, खेलाडी, स्थानीय लगाएतले भव्य स्वागत, सम्मान र विदाई गरेका हुन् । फाउण्डेशनको अगुवाई र जनस्तरको सहयोगमा निर्माणाधिन रङ्गशालाका लागि निर्माण सामग्री लिएर पुगेका टोलीलाई उनीहरुले विहानैदेखि कुरेका थिए ।

पुर्ववत कार्यक्रम अनुसार बुटवलबाट विहान करिब ८ बजे चितवन प्रस्थान गर्ने भनिएपनि तिनाउका ५३ टिप्पर करिब १० बजे मात्रै बुटवलबाट चितवनतर्फ प्रस्थान गरेका थिए । यातायात तथा ममजदुर भलाई कोषका अध्यक्ष दिनेश फुल्लेल लगाएतले टिप्परलाई बुटवलबाट विदाई गरेका थिए । विहानै प्रस्थान गरेर दिउँसो करिब १२ बजे सबै टिप्पर रङ्गशाला पुग्ने आंकलन अनुसार रङ्गशालाका टिमले प्रतिक्षा गरिरहेका थिए । तर, धैरै टिप्पर र अन्य करिब १० सवारी साधनको लावालस्कर र बाटोमा गरिएको स्वागतका कारण आइतबार अपरान्ह ४ बजे मात्रै टिप्परसहित अन्य सवारीहरु रङ्गशाला पुगेका थिए । एकैपटक ५० बढी टिप्पर निर्माण सामग्रीसहित रङ्गशाला जाने कुराको खबर सञ्चार माध्यममा आइसकेपछि महेन्द्र राजमार्गको विभिन्न स्थानमा अबिर र पानी सहित विभिन्न संघसंस्थाहरु स्वागत गर्न बसेका थिए भने धुर्मुस, सुन्तली, पाँडे सहितका कलाकारहरु पर्खाइमा थिए । उनीहरुले विभिन्न समयमा कार्यक्रमका संयोजक तोया लम्साललाई सम्पर्क गरिरहेका थिए । लम्साल पत्रकार हरिश ढकाल, सुमन अधिकारी, कपिल अधिकारी सहित अग्रपंतिमा रहेर आफ्नै सवारी साधनमार्फन चितवनतर्फ लम्किरहेका थिए ।

त्यस्तै तिनाउ टिप्पर व्यवसायी समूहका अध्यक्ष अरविन्द पाण्डेले तिनाउ गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठ, वार्ड नं. ३ का अध्यक्ष प्रेम पाण्डे, शैक्षिक व्यक्तित्व विष्णुप्रसाद पाण्डे लगाएतका तिनाउबासी सहित टिप्परसँगै आफ्नै साधनमा अगाडि बढी रहेका थिए । अघिपछि टिप्पर देख्दा डराउनेहरु पनि सो दिन टिप्परको लावालस्करलाई चासोसहित हेरिरहेका थिए । राष्ट्रिय झण्डा र व्यानरसहित नेपालकै लामो तथा व्यस्त सडकमा पूर्वतर्फ बढिरहेका टिप्परहरुलाई प्रहरीले पनि चासोका साथ सहयोग गरिरहेको थियो । त्यस्तै स्वागतका लागि बसेकाहरुले टिप्पर रोकेपछि ड्राइभरलाई अबिर लगाई शुभयात्रा भन्दै पानी, बिस्कुट लगाएतका खानेकुरा दिइरहेका थिए । प्रायः छोटो दूरीमा ढुवानी गरेका टिप्पर चालकहरुलाई यो दूरी लामो थियो । बुटवलदेखि नारायणगढ ११३ किलोमिटर र बुटवल अगाडि तिनाउतर्फ करिब १० किलोमिटर त्यस्तै नारायणगढबाट करिब १२ किलोमिटर रङ्गशालातर्फ गरी करिब १३५ किलोमिटरको लामो दूरीको यात्रामा लोड टिप्पर लिएर गएका ड्राइभरहरु भोकैपनि थिए ।

विहान नास्ता गरेका र बाटोमा पानी, बिस्कुट बाहेक खाना नखाएका उनीहरु रङ्गशाला पुग्दासम्म निकै थकित पनि थिए । भोकै र थकित चालकहरुका लागि रङ्गशालाले खानाको व्यवस्थ गरेको थियो । अझै बाटो पहिल्याउन गार्हो नहोस् भनेर फाउण्डेशनले २ जनालाई गैडाकोटसम्म नै पठाएको थियो । उनीहकै पथप्रदर्शनमा टिप्परसहित सबै रङ्गशाला पुगेका थिए । रङ्गशाला पुग्नु १ किलोमिटर अगाडि पनि स्थानीयहरु टिप्परको पर्खाइ र स्वागतमा थिए । त्यहाँ पुग्ने बित्तिकै अबिर, खादा र सर्वत पानीले स्वागत गर्दै धन्यवाद ज्ञापन गरेका थिए । यता रङ्गशालामा सिताराम कट्टेल, कुञ्जना घिमिरे, अर्जुन घिमिरे, अर्नुन भुसाल सहित फाउण्डेशन र रङ्गशालाको समूह, मजदूर, स्थानीय, खेलाडी लगाएत दर्जनौं व्यक्तिहरु हातमा फुल लिएर टिप्परको स्वागतका लागि बसेका थिए । टिप्पर गेटबाट प्रवेश गर्न सुरु गरेपछि उत्साहका साथ चर्को हुटिङ भयो । स्वागत गरियो ।

निर्माधाधिन रङ्गशालाभित्र छुट्टै रौनक छायो । फाउण्डेशन परिवारको अनुहारमा खुशी छायो । लामो यात्रा गरेर गर्हौ भारी बोकेर त्यहाँ पुगेका चालकहरुको अनुहारमा पनि रौनक छायो । एकपछि अर्को गर्दै निरन्तर ५३ टिप्पर रङ्गशाला क्षेत्र प्रवेश गरे । यति धेरै एकैपटक भित्र प्रवेश गरेको यो दोस्रो पटक रहेछ । यस अघिपनि धादिङका ५० टिप्परले निर्माण सामग्री ल्याएका रहेछन् । टिप्पर आउने क्रम सुस्तायो केही टिप्परहरु टायर पञ्चर भएर ढिला भएका थिए । ती पनि पछि आए । सबै टिप्पर आइसकेपछि त्यहाँ औपचारिक तथा स्वागत कार्यक्रम आयोजना भयो । कार्यक्रममा सिताराम कट्टेल र कुञ्जना घिमिरे लगाएतले तिनाउ टिप्पर समूहका अध्यक्ष अरविन्द पाण्डे, सामग्री संकलन र हस्तान्तरण कार्यक्रमका संयोजक तोया लम्साल, तिनाउ गाउपालिकाका प्रवक्ता राजेश श्रेष्ठ, वडाध्यक्ष प्रेम पाण्डे, टिप्पर व्यवसायी, टिप्पर चालक लगाएत तिनाउबाट गएका र आर्थिक सहयोग गरेकाहरुलाई पनि विशेष सम्मान गरे । सो अवसरमा संयोजक लम्साल, अध्यक्ष पाण्डे, प्रवक्ता श्रेष्ठ, वडाध्यक्ष पाण्डे लगाएतले बोल्दै रङ्गशाला निर्माणमा तिनाउका यूवा व्यवसायीहरुको चाहाना अनुसार सहयोग जुटाई सक्रियताका साथ रङ्गशालासम्म पुर्याएको बताए ।

त्यस्तै फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले जनस्तरबाट निर्माण गर्न लागिएको रङ्गशाला राष्ट्रको गौरव रहेको बताए । उनले सबै मिलेर निर्माण सम्पन्न गर्न आवश्यक रहेको बताए । निर्माणाधिन रङ्गशाला खेल मैदान मात्रै नभई ७ प्रदेश, ७७ जिल्लाको प्रतिनिधित्व, संस्कृति झल्काउने राष्ट्रिय पहिचान र पर्यटन केन्द्र बन्ने बताउँदै टिप्पर व्यवसायीको सहयोगले उत्साहित भएको बताउँदै हार्दिक आभार समेत प्रकट गरे ।यसरी टिप्पर र टिप्पर चालक, व्यवसायी सम्माननित र प्रशंसित भएको देखिरहेको यो पक्तिकारको ध्यान टिप्पर चालकतर्फ गयो । विहानैदेखिको थकित शरिर र भोको पेटमा पनि उनीहरुको अनुहारमा दुःख थिएन । उनीहरुको स्वागत भएको थियो, प्रंशसा र सम्मान भएको थियो । उनीहरुको काम र सेवाको मूल्यांकन भएको थियो । हो तिनै उपेक्षित टिप्पर र उच्च सम्मानका साथ नलिइएको चालक कर्म गरेका चालकहरुलाई भव्य स्वागत, प्रशंसा र सम्मान गरिएको थियो । यसै क्रममा केही चालहरुसँग सोध्दा उनीहरु खुशी भएको बताए । भर्खरका देखिने चौधरी समुदायका चालक सुरेश चौधरी पनि खुशी थिए ।

टिभीमा देखेका चर्चित कलाकार, देशभर चर्चा चलेको निर्माधाधिन रङ्गशाला, त्यो स्वागत र सम्मान उनका लागि निकै महत्वपूर्ण क्षण थियो । त्यस्तै अर्का चालक ज्ञानु मगर जसले एआरएम सप्लार्यसको टिप्परमा सामग्री लिएर गएका थिए, उनीपनि निकै हर्षित थिए । तमन्ना मल्टीप्रपोज कम्पनीको टिप्पर लिएर गएका चालक भुवनदेव थारुपनि खुशीको मुद्रामा थिए । ‘हामीलाई खुशी लागेको छ । यस्तो राम्रो ठाउँमा सहयोग गर्न पायौं, हामीलाई यसरी आजसम्म कसैले माया र सम्मान गरेको थिएन ।’ एउटै स्वरमा उनीहरुले भने । सम्मान पछि रङ्गशालामै खाना खाएर फर्केका उनीहरुलाई फर्कदापनि गेटमा बसेर फाउण्डेशन तथा रङ्गशाला परिवारले भव्य विदाई गरेका थिए । टिप्पर, टिप्पर व्यवसायी, टिप्पर चालकहरुलाई उनीहरुको कर्म र योग्दानको कदर गर्दै सम्मान गर्दा टिप्पर व्यवसायी र चालकहरु सन्तुष्ट देखिन्थे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।