ताजा अपडेट »

स्थानीय भाषा जान्ने गणक खटाउनुपर्ने

शुक्रबार, २७ चैत्र २०७७, ११ : ३०
6 Shares

मोरङ । राष्ट्रिय जनगणना–२०७८ मा स्थानीय भाषा बोल्ने बाहुल्य भएका क्षेत्रमा सोही भाषीका गणक खटाउनु सहभागीहरुले सुझाव दिएका छन् । जिल्ला जनगणना कार्यालय क र ख द्वारा बिहीबार यहाँ आयोजित जिल्लास्तरीय सचेतना गोष्ठीमा सहभागीले गणकलाई खटाउँदा अनुगमन गर्नुपर्ने, सार्वजनिक सूचना सम्प्रेषण गर्नुपर्ने, विराट राजवंंशीको भाषा, जातिको समूह जनाउने कोलम राख्नुपर्ने र स्वास्थ्य सम्बन्धमा दीर्घरोगीका विषयमा आवश्यक कोलम राख्नुपर्नेजस्ता सुझाव दिएका थिए ।

केन्द्रीय तथ्याङ्क विभागका निर्देशक रामहरि गैरेले राष्ट्रिय जनगणना–२०७८ संक्षिप्त जानकारी एवं तयारी कार्यसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै आउँदो जनगणनामा ७० लाख घरपरिवार र तीन करोड जनसङ्ख्या हुने अनुमान व्यक्त गरे । मोरङका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला जनगणना संयोजक कोषहरि निरौलाले जनगणनाले जनसङ्ख्या, धर्म, संस्कृति, भाषालगायतका क्षेत्रका समानुपातिक, समावेशी सिद्धान्तका रूपमा राज्यलाई सही तथ्याङ्कक उपलब्ध हुने विचार व्यक्त गरे । प्रदेश जनगणना कार्यालयका निर्देशक तीर्थराज बरालले जनगणना विधि, अवधारणा र परिभाषा विषयमा कार्यपत्र प्रस्तुत गर्दै वैज्ञानिक विधिमार्फत गणकको छनोट गरिएको र स्थानीयवासीलाई प्राथमिकता दिइएको बताए । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख सन्तोष खड्काले मूलघरबाट अन्यत्र बहाल वा कार्यको कारणवश बसेकाका परिवारका सदस्यका सम्बन्धमा गणना दोहोरिने सम्बन्धमा सचेत हुन जरुरी रहेको धारणा राख्नुभयो । गोष्ठीमा निजामती कर्मचारी, विभिन्न सङ्घसङ्गठनका प्रतिनिधि र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

रासस
लेखकको बारेमा
रासस