ताजा अपडेट »

उत्पादनमा आधारित अनुदान प्रभावकारी

शुक्रबार, २७ चैत्र २०७७, ११ : ००
8 Shares

गलकोट। बागलुङ नगरपालिका–८ सिगानाका श्यामबहादुर जिसीले राँगो पाल्न थालेको १० वर्ष पुग्यो । दश वर्षअघि सात हजार रुपैयाँमा राँगो किनेर पाल्न थालेका जिसीले हालै ८० हजार मूल्यको राँगो पालेका छन् । उनले सो राँगोको ५० प्रतिशत अनुदानस्वरुप बागलुङ नगरपालिकाबाट हालै रु ४० हजार पनि बुझे ।राँगोको मूल्य बढेर केही समस्या परेको जिसीलाई नगरपालिकामार्फत वितरण गरेको अनुदानले राहत मिलेको छ भने राँगो पाल्न उत्साह पनि थपिएको छ । आफू शारीरिक रुपमा अपाङ्गता भएका कारण खेतीपाती गर्न कठिनाइ भएपनि राँगो पालेर घरखर्च चलाउन सहज भएको उनको भनाइ छ ।

नगरपालिकाले उत्पादनका आधारमा भैँसीको नश्ल सुधार अभियानअन्तर्गत राँगोमा अनुदान दिएको हो । “राँगोको भाउ बढ्दै गएको छ, मैले राँगो पाल्न थालेको १० वर्ष पुग्यो” जिसीले भने “अहिले बागलुङ नगरपालिकबाट ४० हजार अनुदान पाएँ, अनुदान पाउँदा निकै खुसी भएको छु ।” जिसी जस्तै राँगो तथा बोयर बाख्रापालनका लागि नौ जनालाई नगरपालिकाले तीन लाख अनुदान दिएको छ ।उत्पादनका आधारमा किसानलाई अनुदान दिँदा बढी प्रभावकारी र अनुदानको कार्यान्वयन भएको पाइएको कारण यस वर्ष नगरपालिकाकाले नगरभित्रका किसानलाई रु ८४ लाख अनुदान वितरण गरेको नगर प्रमुख जनकराज पौडेलले बताए । विगतमा हचुवाको भरमा अनुदान वितरण गर्दा खास नतीजा आउन नसकेको बताउँदै उनले भने, ‘‘उत्पादनमा आधारित अनुदान प्रणाली बढी प्रभावकारी देखिएकाले यसलाई आगामी वर्ष पनि निरन्तरता दिन सकिनेछ ।’’

आर्थिक वर्ष २०७७-७८ मा स्वीकृत विभिन्न कार्यक्रमअनुसार किसानले दिएका निवेदनका आधारमा अनुदान र उपकरण वितरण गरिएको हो । विभिन्न सात कार्यक्रम बनाएर कृषकबाट परेका निवेदनको मूल्याङ्कन गरी कृषककै हातहातमा अनुदान रकम तथा उपकरण वितरण गरिएको छ । सङ्घीय सरकारको सशर्त अनुदानमा लागत साझेदारीमा भैँसी प्रवद्र्धन कार्यक्रमअन्तर्गत ५८ कृषकलाई रु १७ लाख अनुदान वितरण गरिएको छ ।सङ्घीय सरकारकै सशर्त अनुदानमा साना व्यावसायिक बाख्रा पकेट कार्यक्रमबाट १०० कृषकलाई रु १५ लाख अनुदान रकम वितरण गरिएको छ । नगरको कार्यक्रमअनुसार प्रजननको लागि राँगा तथा बोका वितरण कार्यक्रमअनुसार नौ कृषकलाई रु तीन लाख बराबरको राँगा तथा बोयर जातको बोका वितरण गरिएको नगरपालिकाका सूचना अधिकारी युक्तप्रसाद सुवेदीले जानकारी दिए।

त्यसैगरी व्यावसायिक पशुपक्षी अनुदान कार्यक्रममा २० कृषकलाई रु छ लाख अनुदान दिइएको छ । ऊर्जा अनुदान कार्यक्रममा २० कृषकलाई दुई लाख बराबरको अनुदान वितरण भएको छ । त्यसैगरी प्लास्टिक पोखरी तथा माछाको भूरा वितरण कार्यक्रममा २० कृषकलाई रु दुई लाख र साना व्यावसायिक दुग्ध उत्पादन सहयोग कार्यक्रममा ९६ जनालाई तीन लाख बराबरको अनुदान तथा उपकरण वितरण गरिएको सुवेदीले जानकारी दिए।। बागलुङ नगरपालिकाले जम्मा ३२७ जना कृषकलाई रु ४८ लाख बराबरको अनुदान तथा उपकरण गरेको हो ।उत्पादनमा आधारित अनुदान प्रणालीलाई आत्मसात गर्दै अनुदान तथा उपकरण वितरण गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले वास्तविक कृषकको मूल्याङ्कन गरी अनुदान तथा उपकरण वितरण गरेको नगर प्रमुख पौडेलले बताए । कृषि पेशालाई व्यावसायिक र सम्मानीत पेशा बनाउनका लागि कृषकले यान्त्रीकरण र आधुनिकतामा ध्यान दिनु जरुरी रहेको उनको भनाइ छ ।

रासस
लेखकको बारेमा
रासस