ताजा अपडेट »

चक्रवाती तूफानको नेपालमा प्रभाव

विहीबार, ३० जेठ २०७६, १२ : ०४
6 Shares

जेठ ३०, काठमाण्डौं । भारतमा विकसित भएको चक्रवाती तूफान ‘वायु’ को सामान्य प्रभाव आज नेपालमा पनि पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चक्रवाती तूफान ‘वायु’का कारण मुलुकका विभिन्न स्थानमा वर्षा हुन सक्ने मौसमविद मञ्जु बासीले जानकारी दिइन् । तर चक्रवाती तूफानको बलियो असर नपर्ने उनको भनाई छ ।

पश्चिमी वायुको प्रभाव सक्रिय रहेकै अवस्थामा चक्रवाती तूफान ‘वायु’को सामान्य प्रभाव रहने भएकोले अधिकांश क्षेत्रको मौसम बदली हुनेछ । आज देशका अधिकांश स्थानमा हावाहुरी र मेघ गर्जनसहित वर्षाको सम्भावना छ । पश्चिम तराईमा आज पनि हावाहुरी चल्ने सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

के हो ‘वायु’ ?

उत्तर-पश्चिम भारतमा ‘वायु’ नामक शक्तिशाली चक्रवात प्रवेश गरेको छ । यस क्रममा लाखौं मानिस प्रभावित हुन सक्ने समाचारमाध्यमले जनाएका छन् । यो चक्रवात आगामी २४ घण्टामा निकै प्रभावशाली हुने बताइएको छ ।

सोमबार अरेबियन सागरमा उत्पन्न भएको वायु बुधबार र बिहीबार भारतको उत्तर-पश्चिम क्षेत्रमा पूर्णरुपमा प्रवेश गर्न लागेको हो । यो चक्रवातले दशकौंपछि उत्तर-पश्चिम भारतको जनजीवन निकै प्रभावित हुने अनुमान गरिएको छ । सामान्यतया उत्तर-पूर्वी तटीय क्षेत्रमा फानी नामक शक्तिशाली चक्रवात आएको एक महिनापछि वायु चक्रवात सक्रिय हुने गर्छ । यसको प्रभाव मुम्बईमा समेत देखिन थालेको छ । यसक्रममा वायुको गति प्रतिघण्टा ७५ देखि १३५ किलोमिटर हुने अनुमान गरिएको छ ।

हाल उत्तर-पश्चिम भारतमा रहेका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । उद्वार तथा राहतका लागि पूर्ण तयारी गरेको भारतीय सरकारले बताएको छ । चक्रवातको जोखिममा रहेका क्षेत्रमा राष्ट्रिय विपत् उद्वार बल तैनाथ गरिएको छ । चक्रवातबाट कम्तिमा पनि ६० लाख मानिस प्रभावित हुने सञ्चारमाध्यमले जनाएका छन् । करिब ३ लाख मानिसलाई सुरक्षित स्थानमा सार्न लागिएको भारतीय गृह मन्त्रालयले जनाएको छ । त्यस्तै चक्रवातको उच्च जोखिममा रहेका क्षेत्रका विद्यालय र कलेजहरु शुक्रवारसम्मका लागि बन्द गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।